कञ्चनपुर : चार सरकारी विद्यालय ‘निल’, ७८ विद्यार्थीको भविष्य चौपट

होमपेज / मुख्य समाचार / समाचार / स्वास्थ्य/शिक्षा /
सरकारी लगानी, बालुवामा पानी
कञ्चनपुर : चार सरकारी विद्यालय ‘निल’, ७८ विद्यार्थीको भविष्य चौपट
  • रेडियो सुदूर सञ्चार
  • ३ जेठ २०८३ (२ महिना अघि)
  • ८९१

बेलाैरी, कञ्चनपुर - 

माध्यमिक शिक्षा परीक्षा (एसईई) ०८२ मा कञ्चनपुरका चार सरकारी विद्यालय ‘निल’ भएका छन् ।

गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

सरकारी लगानीमा सञ्चालित ती विद्यालयले शून्य नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।

इकाईको तथ्यांकअनुसार भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिकाका चार सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालय, भीमदत्त–८ तिलाचौरस्थित महाकाली शारदा पीठ विद्याआश्रम, लालझाडी गाउँपालिका–३ छोटी पर्सियास्थित सरस्वती माध्यमिक विद्यालय तथा लालझाडी–४ पर्सियास्थित सरस्वती माध्यमिक विद्यालय ‘निल’ भएका हुन्।

भीमदत्तको बैजनाथ माविका ५ जना, महाकाली शारदा पीठ विद्याआश्रमका २ जना, लालझाडीको छोटी पर्सिया सरस्वती माविका ४४ जना तथा पर्सियाको सरस्वती माविका २७ जना विद्यार्थी पूर्ण रूपमा अनुत्तीर्ण भएका छन् । यससँगै ७८ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

एसईई ०८१ मा पनि लालझाडीसहित जिल्लाका पाँच विद्यालय ‘निल’ भएका थिए भने ०८२ मा चार विद्यालय पुनः शून्य नतिजामा पुगेका छन् । एसईई ०८० मा पनि लालझाडीका दुई विद्यालय ‘निल’ भएका थिए । ०८१ मा एक विद्यालय र ०८२ मा पुनः दुई विद्यालय ‘निल’ भएका हुन् ।

लालझाडी गाउँपालिकामा विगत तीन वर्षदेखि सरकारी विद्यालय ‘निल’ हुने क्रम निरन्तर देखिएको छ । ०८० मा लालझाडी गाउँपालिका–३ छोटी पर्सियाको सरस्वती मावि र वडा नं. ४ को बैजनाथ मावि जाई ‘निल’ भएका थिए ।

०८१ मा नौरङ्गास्थित शारदा राष्ट्रिय मावि शून्य नतिजामा पुगेको थियो भने ०८२ मा पुनः छोटी पर्सियाको सरस्वती मावि र पर्सियाको सरस्वती मावि ‘निल’ भएका हुन् ।
दुई वर्षअघि छोटी पर्सियाको सरस्वती माविका २० जना, जाई बैजनाथ माविका विद्यार्थी तथा ०८१ मा नौरङ्गाको शारदा राष्ट्रिय माविका ३६ जना विद्यार्थी पूर्ण रूपमा अनुत्तीर्ण भएका थिए ।

लालझाडी गाउँपालिकासहित कञ्चनपुरका सरकारी लगानीमा सञ्चालित विद्यालयमा हरेक वर्ष एसईईमा ‘निल’ हुने क्रम अझै रोकिएको छैन ।

एसईई ०८० र ०८२ मा विद्यालय ‘निल’ भएको लालझाडीको छोटी पर्सिया सरस्वती माविका प्रधानाध्यापक तारामणी शर्माले दुई वर्ष अनपेक्षित परिणाम आएको बताए। “०८० मा अनपेक्षित परिणाम आएपछि हामीले मेहनत गरेर ०८१ मा राम्रो नतिजा ल्याएका थियौँ,” उनले भने, “हामीले शैक्षिक कामकाज सुधार गर्न अतिरिक्त कक्षासमेत सञ्चालन गरेका थियौँ, तर पनि अनपेक्षित परिणाम आयो । यसबारे समीक्षा गर्छु, नैतिकताका आधारमा राजीनामा पनि दिन्छु ।”

उनले शिक्षकहरूको कमजोरीकै कारण यस्तो नतिजा आएको स्वीकार गरे । “विद्यार्थी, अभिभावक, समुदाय वा सरकारलाई दोष दिएर काम छैन,” उनले भने, “हामीहरूको कमजोरीले यस्तो नतिजा आएको हो । सुधार गर्छौँ, स्वीकार गर्छौँ ।”

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले ‘निल’ हुने क्रम रोक्न पालिकाबाट अतिरिक्त कक्षा सञ्चालनदेखि सेवा–सुविधा बढाइए पनि सुधार नआएकाले अब कारबाही गरिने चेतावनी दिएका छन् ।

भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले शून्य तथा कमजोर नतिजा ल्याउने विद्यालयसँग स्पष्टीकरण सोधिने बताए ।

नगर प्रवक्ता पदमराज अवस्थीले नतिजाकै आधारमा यस वर्षदेखि दरबन्दी मिलान, डाउनसाइजलगायत सुधारका कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

“गणित विषय मात्रै नलागेको भए हाम्रो विद्यालयको सतप्रतिशत नतिजा आउने थियो,” एक विद्यालयका प्रधानाध्यापक चन्दले भने, “कक्षा ८ उत्तीर्ण गरेपछि धेरै विद्यार्थी बजारतिर जाने भएकाले पनि विद्यालयको प्रदर्शन कमजोर देखिएको हो ।”

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा सञ्चालित विद्यालयको शून्य नतिजा दुःखद विषय भएको बताए ।

उनले महाकाली शारदा पीठ विद्याआश्रममा प्राविधिक त्रुटिका कारण शून्य नतिजा देखिएको भए पनि सच्याउन पत्राचार गरिएको जानकारी दिए ।

उनका अनुसार सामुदायिक विद्यालयमा दरबन्दी व्यवस्थापन, विषयगत शिक्षकको अभाव तथा शैक्षिक जिम्मेवारीप्रति बेवास्ता गर्दा नतिजा कमजोर बन्दै गएको हो।

“शून्य नतिजा ल्याउने विद्यालयलाई हामीले पत्राचार गरेर स्पष्टीकरण सोध्छौँ,” उनले भने, “कमजोर नतिजा ल्याउने विद्यालयसहित सबै प्रधानाध्यापकसँग बैठक राखेर समीक्षा तथा सुधार योजना अघि सार्ने तयारी गरेका छौँ ।”

सरकारी विद्यालयको नतिजा लगातार कमजोर आउन थालेपछि अभिभावक चिन्तित बनेका छन् । राज्यको लगानी खेर गइरहेको, विद्यार्थीमाथि अन्याय भइरहेको र सरोकारवाला निकाय प्रभावकारी सुधार योजना ल्याउन नसकेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।

अन्तिम अध्यावधिक: ३ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस