बेलाैरी, कञ्चनपुर -
बेलौरीका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा इन्जिनियर दीपेन्द्र विष्ट को जन्मदिनको अवसर पारेर मंगलबार ‘बेलौरी चिया ग्रुप’द्वारा “बेलौरी हरियाली अभियान २०८३” अन्तर्गत बेलौरी बजारका विभिन्न चोकहरूमा २९ वटा फूलका गमला राखिएको छ।
जन्मदिनमा हुने फजुल खर्चलाई समाज उपयोगी कार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानमा चिया ग्रुपका अध्यक्ष दिनेश कुँवर, महासचिव अशोक पाण्डेय, कोषाध्यक्ष रजनीश भण्डारी, कैलाश सिंह विष्ट, महेन्द्र सिंह बुडाल, राजेश भट्ट, हरिश बुडाल लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै दीपेन्द्र विष्ट ले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाज र वातावरणका लागि सकारात्मक सन्देश दिने कार्यमा जोडिएको बताए।
उनले “सानो प्रयासले पनि बजारलाई सुन्दर, हरियाली र व्यवस्थित बनाउन योगदान पुग्छ,” भन्दै आगामी दिनमा यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
चिया ग्रुपका अध्यक्ष दिनेश कुँवर ले “बेलौरी हरियाली अभियान २०८३” अन्तर्गत जन्मदिन, शुभकार्य तथा विभिन्न अवसरमा गरिने अनावश्यक खर्चलाई समाज उपयोगी तथा वातावरणमैत्री गतिविधिमा जोड्ने उद्देश्य रहेको बताए।
अध्यक्ष कुँवरले बजार क्षेत्रलाई हरियाली र आकर्षक बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।
महासचिव अशोक पाण्डेय ले युवाहरूलाई सामाजिक तथा रचनात्मक अभियानमा जोड्ने उद्देश्यले चिया ग्रुपले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उनले फूलका गमलाले बजार क्षेत्रको सौन्दर्य अभिवृद्धिसँगै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
स्थानीयवासीहरूले पनि बजारका विभिन्न चोकहरूमा राखिएका फूलका गमलाले बेलौरी बजारलाई थप आकर्षक र व्यवस्थित बनाएको प्रतिक्रिया दिएका छन्।