कञ्चनपुर : एसपी खडक खत्रीको १३ महिने कार्यकाल, हिंसात्मक गतिविधिमा संलग्नमाथि कार्वाही

होमपेज / समाचार / समाज /
सुशासन कायम
कञ्चनपुर : एसपी खडक खत्रीको १३ महिने कार्यकाल, हिंसात्मक गतिविधिमा संलग्नमाथि कार्वाही
  • रेडियो सुदूर सञ्चार
  • ६ जेठ २०८३ (२ महिना अघि)
  • ३४८

बेलाैरी, कञ्चनपुर - 

गत वर्ष प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए । ०८२ वैशाखदेखि उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व गर्दै आएका छन् ।

एसपी खत्रीले १३ महिनाको अवधिमा अपराध नियन्त्रणदेखि सुशासन कायम गर्ने क्षेत्रमा थुप्रै काम गरेको प्रहरीले जनाएको छ ।

उनको नेतृत्वमा जिल्लामा लागुऔषध कारोबार, चोरी तथा तस्करीका सञ्जाल तोडिनुका साथै जेनजी आन्दोलनका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि समेत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ९ सय ७ मुद्दा दर्ता भएका मध्ये ५ सय ९ मुद्दा फर्छ्योट गरिएका छन्।

२१ फागुन ०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनदेखि फरार अभियुक्त पक्राउ सम्मका विभिन्न सुशासन सम्बन्धी काम सम्पन्न गरिएको जनाएको छ ।

गत भदौमा जेनजी आन्दोलनका हिंसात्मक गतिविधिमा संलग्न ७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

१३ महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ४ सय ४४ अभियुक्त पक्राउ गरी कानुनको दायरामा ल्याइएको छ ।
जिल्लामा लागुऔषध तस्करको सञ्जाल तोड्ने क्रममा २ सय ११ जनालाई पक्राउ गरिएको छ ।

सीमावर्ती जिल्ला कञ्चनपुरमा बढ्दो लागुऔषध सेवन तथा कारोबार नियन्त्रणका लागि १८ महिला र १ सय ९३ पुरुष पक्राउ गरी उनीहरूमाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यस अवधिमा ५ सय ९० दशमलव ८ सय ७५ ग्राम खैरो हेरोइन, ८ केजी २२ ग्राम चरेस, ५ केजी गाँजा तथा ५ सय ८७ थान एभिल बरामद गरिएको छ ।

झण्डै ३ हजार ठाडो उजुरीमध्ये २ हजार ९ सय ९४ मुद्दा फर्छ्योट गरिएको र १ मुद्दा मात्रै फर्छ्योट हुन बाँकी रहेको जनाएको छ ।

जुवातास नियन्त्रणतर्फ २२ मुद्दामा १ सय ७२ जुवाडे पक्राउ परेका छन् । जुवाखालबाट ९ लाख ४१ हजार ४ सय ७३ रुपैयाँ बरामद गरी राजस्वमा दाखिला गरिएको छ ।

गैरकानुनी रूपमा भन्सार छली गरी ल्याइएका ५ करोड ४० लाख ६७ हजार ७ सय ९७ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार चलान गरिएको छ ।

चोरी तथा तस्करीमा संलग्न १४ जना पक्राउ परेका छन् भने ३१ सवारीसाधन बरामद गरिएको छ । अवैध रूपमा ओसारपसार गरिएका बाख्रा, भैँसी, राँगा, घोडा, कुखुरा, चल्ला तथा माछासमेत बरामद गरी भन्सार चलान गरिएको छ । अवैध घरेलु मदिरातर्फ २५ हजार लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

वन तथा वन्यजन्तु र काठ चोरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुका साथै साढे चार सय क्युफिट काठ बरामद गरी वन कार्यालयमा बुझाइएको छ ।

यस्तै, गैरकानुनी रूपमा नदीजन्य प्राकृतिक स्रोत–साधन चोरी तथा तस्करीमा संलग्न १७ ट्र्याक्टर, १ टिप्पर र १ जेसीबी बरामद गरी १ लाख ५५ हजार ९ सय २० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ दर्ता भएका ३ सय ३३ उजुरीमध्ये सबै फर्छ्योट गरिएको प्रहरीले जनाएको छ । जोखिममा परेका ८० जनालाई सीमाक्षेत्रबाट उद्धार गरिएको छ ।

हराएका १ सय ९२ महिला, ५७ बालक, १ सय १५ बालिका तथा २२ ज्येष्ठ नागरिकलाई फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको छ ।

गैरकानुनी रूपमा सवारीसाधन सञ्चालन गर्ने ६ हजार ५ सय ७१ जनामाथि कारबाही गरी ४६ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

साथै ३ सय ४६ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी २३ हजार नागरिकलाई ट्राफिक सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ । बेदकोट र कृष्णपुर क्षेत्रमा करिब डेढ सय छाउगोठ भत्काइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीले संगठनले दिएको जिम्मेवारी निर्भीकतापूर्वक पूरा गरेको बताए ।

उनले कानुन कार्यान्वयनसँगै सामाजिक सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

अन्तिम अध्यावधिक: ६ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस