बेलौरी, कञ्चनपुर -
शनिबार बेलौरीकाे शहीद दशरथ पुस्तकालयको १०औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि शिक्षक चन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
वि.सं. २०३६ साल माघ १६ गते शहीद दिवसको अवसरमा स्थापना भएको उक्त पुस्तकालय सुदूरपश्चिमकै अग्रणी साहित्यिक, शैक्षिक एवं बौद्धिक धरोहरका रूपमा परिचित छ ।
अधिवेशनमा बोल्दै पुस्तकालयका सल्लाहकार तथा महाकाली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम सिंह बोहराले पुस्तकालयको स्थापना र इतिहास स्मरण गर्दै यस संस्थाले समाजमा ज्ञान, चेतना र अध्ययन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले पछिल्लो पुस्तालाई पुस्तक अध्ययन गर्ने बानीकाे विकास गर्न सुझाएका छन् ।
त्यसैगरी पुस्तकालयका पूर्व अध्यक्ष हर्क सिंह कुँवरले शहीदहरूको नामसँग जोडिएको यस संस्थाको गरिमा जोगाउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले विगतका अनुभवबाट सिक्दै नयाँ कार्यसमितिले पुस्तकालयलाई समयानुकूल रूपान्तरण गर्ने विश्वास व्यक्त गरे ।
निर्वाचन प्रक्रियाका लागि तारामणि न्यौपानेको संयोजकत्वमा गंगा प्रसाद रिजाल र चन्द्रदेव रिजाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
समितिले अध्यक्षमा चन्द्रप्रसाद (सीपी) पोखरेल, उपाध्यक्षमा डिल्ली प्रसाद खरेल, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा अशोक पाण्डेय, कोषाध्यक्षमा नरेश पन्त तथा सदस्यहरूमा मिना कुँवर, चित्रकला गैरे, चन्द्र सिंह विष्ट, डम्बर चन्द र पत्रकार माधव पौडेललाई सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पोखरेलले पुस्तकालयलाई आधुनिक, व्यवस्थित तथा डिजिटल प्रविधिमैत्री लाइब्रेरीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुस्तकालयको भौतिक संरचना, शैक्षिक गतिविधि र व्यवस्थापन सुधारका लागि विभिन्न पालिका तथा सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक योजना अघि बढाइने बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षक, साहित्यकार, पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम समापनका क्रममा निवर्तमान अध्यक्ष मधुविलास ढुङ्गानाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।