केयर टेकर हस्पिटलद्वारा खिरियामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीय लाभान्वित

होमपेज / समाचार / समाज /
सामाजिक उत्तरदायित्वमा हस्पिटल अग्रसर
केयर टेकर हस्पिटलद्वारा खिरियामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीय लाभान्वित
  • चन्द्रिका चौधरी
  • १७ जेठ २०८३ (२ महिना अघि)
  • ३८१

बेलाैरी, कञ्चनपुर -

केयर टेकर हस्पिटल प्रालि, धनगढीको प्राविधिक सहयोगमा बेलौरी नगरपालिका–३ खिरियामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा स्थानीयले विशेषज्ञ चिकित्सकबाट नि:शुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि उपचार सेवा प्राप्त गरेका छन्।

हस्पिटलका मार्केटिङ अफिसर अशोक पाण्डेय ‘अम्बा’ का अनुसार शिविरमा कन्सल्टेन्ट फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ लगायतका सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा करिब दुई सय जना बिरामीलाई आवश्यक परामर्शसँगै निःशुल्क औषधि उपचार गरिएको उनले बताए।

रेडियो सुदूर सञ्चारसँग कुरा गर्दै पाण्डेयले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिए। “दूरदराजका नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरून् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं,” उनले भने।

शिविरमा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गर्न पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन्।

समुदायको स्वास्थ्य प्रवर्द्धन, रोगको समयमै पहिचान तथा गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीयवासी, जनप्रतिनिधि तथा सहयोगीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।

यसैबीच, हस्पिटलका जनसम्पर्क प्रमुख वीरबहादुर महता लाई स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै स्थानीय तहले सम्मान गरेको जनाइएको छ।

केयर टेकर हस्पिटलका अध्यक्ष गोपाल बहादुर शाही को नेतृत्वमा पछिल्लो समय हस्पिटलले उपचार सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायसम्म पुगेर सेवा प्रदान गर्ने हस्पिटलको अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

अन्तिम अध्यावधिक: १७ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस