बेलाैरी, कञ्चनपुर। हाल छोटी भन्सारका रूपमा सञ्चालनमा रहेको बेलौरी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन उद्योगी–व्यवसायी, जनप्रतिनिधि र स्थानीयको पहल तीव्र बनेको छ।
यसैक्रममा शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएमई ग्रुपका निर्देशक तथा महासंघका कार्यकारिणी समिति सदस्य सचिन ढकाल र महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर सहितको टोलीले बेलौरी छोटी भन्सारको स्थलगत अवलोकन गरेको छ।
अवलोकनपछि महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कुँवरले बेलौरी नाकालाई मूल भन्सारका रूपमा सञ्चालन गर्ने पर्याप्त सम्भावना रहेको बताउँदै यसको स्तरोन्नति र पुनः सञ्चालनका लागि नेपाल सरकारसँग महासंघका तर्फबाट आवश्यक पहल गरिने बताए।
उनका अनुसार भन्सार सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशको व्यापार, उद्योग, लगानी, पर्यटन तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्तले करिब १६५ वर्ष पुरानो इतिहास बोकेको बेलौरी भन्सार आर्थिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण रहेको बताए।
भारतको राजधानी दिल्लीसँग सबैभन्दा छोटो दूरीको नाकामध्ये बेलौरी रहेको उल्लेख गर्दै उनले नाका सञ्चालनमा आए नेपाल–भारतबीचको व्यापारिक गतिविधि विस्तार हुनुका साथै आवतजावत थप सहज हुने बताए।
पन्तका अनुसार बेलौरी भन्सार पुनः सञ्चालनको विषयमा पछिल्लो समय स्थानीय तहमा जनसमर्थन बढ्दै गएको छ। "फेरि एकपटक बेलौरीका जनता जुरुक्क उठेका छन्," उनले भने, "हाल छोटी भन्सारका रूपमा सीमित रहेको यस नाकालाई मूल भन्सारमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सबै पक्ष एकजुट भएका छन्।"
यसअघि शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रतिनिधिसभा सदस्य जनकसिंह धामी तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले पनि भन्सार क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा नाकाको सम्भाव्यता, आवश्यक पूर्वाधार र सञ्चालन प्रक्रियाबारे छलफल भएको थियो।
प्रतिनिधिसभा सदस्य धामीले बेलौरी भन्सार पुनः सञ्चालनको विषय आफूले प्रतिनिधिसभामा पटक–पटक उठाउँदै आएको बताउँदै यसलाई मूल भन्सारका रूपमा स्तरोन्नति गर्न सम्बन्धित मन्त्रालय र नेपाल सरकारसँग निरन्तर समन्वय तथा पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
बेलौरी नाका सञ्चालनमा आए सुदूरपश्चिमको आर्थिक विकास, सीमा व्यापार विस्तार र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
स्थानीय उद्योगी–व्यवसायीका अनुसार भन्सार पूर्ण रूपमा सञ्चालनमा आए आयात–निर्यात सहज हुनुका साथै व्यापार विस्तार, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुनेछ।
शनिबार भन्सार क्षेत्रको अवलोकनपछि उक्त टोली बेलौरीकाे ऐतिहासिक कालिका मन्दिरमा दर्शन गरेर फर्किएको मन्दिर निर्माण समिति सचिव अमित भट्टराईले बताए।