बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा सिमसार क्षेत्र संरक्षण हुन थालेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको बेलौरी र पुर्नवास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन् । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ । संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर बेलौरी नगरपालिका–१, २, ३, ५ र ७ मा अधिक देखापरेका छन् भने पुर्नवास नगरपालिका–१, ४, ६ र ११ मा बढी देखिएका यादवले बताए ।
उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म रहने वन कार्यालयले जनएको छ । तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ । सर्पको प्रजाति भए पनि अजिङ्गगर विषालु भने हुँदैनन् । विशेषगरी अजिङ्गर घना वनजङ्गल, रुखको ठूलाठूला मुडामा र सुकेको पातमा लुकेर बस्ने गर्दछन् । कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपासका घाँसे मैदानमा बस्दछन् । अजिङ्गरलाई घर, खेतबारीलगायत क्षेत्रमा भेटाएमा स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन कार्यालयको जिम्मा लगाउने गरिएको छ ।