कञ्चनपुरको हुलाकी सडक अलपत्र, सरकार हेरेको हेर्‍यै

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ बैशाख २०८२ (२ हप्ता अघि)
  • ५२९

बेलौरी, कञ्चनपुर -

पूर्वपश्चिम जोडने कञ्चनपुरको हुलाकी राजमार्ग अझै पुरा भएको छैन् । ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र परेको छ । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा निर्माण भईसक्नुपर्ने हुलाकी राजमार्ग अझै पूरा हुन सकेको छैन् ।

अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । कैलालीको मोहनापुलदेखि कञ्चनपुरको दैजीसम्म ६२ किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएपछि हालसम्म ४२ किलोमिटर मात्रै सडक निर्माण गरेको छ ।

दैजीदेखि बेलडाँडी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जंगल कालिकिचदेखि बेलौरी नगरपालिका ९ रतनपुर, बेलौरी नगरपालिका ४ रिछाहदेखि रतनपुरसम्मको सडकखण्ड बेस मात्रै निर्माण गरिएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द रानाले निकुञ्ज क्षेत्रमा पर्ने आधा मात्रै र बेलडाँडी १ झर्नासागरदेखि २ कालिकिचसम्म अधुरै रहेको बताए । ‘हामीले पटक पटक उक्त सडक कालोपत्रेका लागि सम्बन्धीत निकायमा घचघच्याएपनि अहिलेसम्म उस्तै छ, ‘उनले भने, ‘सडक कालोपत्रे नहुँदा जनतालाई सास्ती खेप्नु परेको छ । 

बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले ०७५ सालमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको बेलौरी नगरपालिका ८ पचुईमा १२ सय मिटर सहित बेलौरीको रिछाहदेखि रतनपुरसम्म निर्माण नगरेको बताए । ‘हामीले बेलौरी नगरपालिका खण्डमा रहेको सडक कालोपत्रे निर्माणका लागि पटक पटक ताकेता गरेका छौँ, ‘उनले भने, ‘तरपनि निर्माण कार्य सम्पन्न गरेको छैन, जनतालाई दैनिक हिडडुलमा सास्ती खेप्नु परेकोछ  ।’ 

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । सडक निर्माणका लागि पाँचौँ पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६६ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । 

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता  अवधि र पाचौँ पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । अन्तिम ०८१/८२ असार मसान्तसम्ममा म्याद थप गरिएको छ । 

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्द प्रशाद लामिछानेले यस अघि  चार पटक म्याद थप गरेको मन्त्री परिषद्को १३औँ संशोधन अनुरुप चालु आर्थिक बर्षसम्म म्याद रहेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिईएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले ०८१ फागुन दोस्राे साता सम्ममा समेत काम गर्न सकेका छैनन् ।

डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । आयोजना प्रमुख लामिछानेले अन्तिम पटक म्याद भएकाले ठेकेदारले काम गरिरहेको बताए । उनका अनुसार पहिलो खण्ड पुरै निर्माण भएको र दोस्रोमा १० र तेस्रोमा ११किलोमिटर मात्रै बाँकी रहेको बताए । 

हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि ७६ भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । पाचौँ पटक ०८०मा थपिएका पाँचै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले निर्माण गरेको छैन ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । पाचौँ पटक ०८० साउनमा थप भएको छ । 

कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ । 

शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ । 

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन् । 

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन् । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९ रतनपुरका प्रमानन्द जोशीले दुरगामी योजना नहुँदा बर्षातका बेला डुवान, धुलाम्य र सुख्यायाममा धुलाम्मे स्थानीयलाई समस्या भईरहेको बताए । ‘समयमै सडक निर्माण नहुँदा सडक छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन, उनले भने, ‘सडक छेउका घरमा घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’ सडक निर्माणसंगै पानी निकासका लागि ढल निर्माण हुनुपर्ने बताए । उनले ढल निर्माणसंगै हुलाकी सडक दर्ताजमिन धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा जोडदिए । 

हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पूनर्वास नगरपालिका २ मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए । 

निर्माण कम्पनीले सम्झौता गरेको ९६ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ  ।

पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ । 
बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् ।

शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताउँदै आएका छन् ।  उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १ बर्ष काममा अवरोध गरिदिएको थियो ।  बेलडाँडी क्षेत्रको ४ सयमिटर सिँचाईको जमिन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए । ‘बर्षा रोकिए लगत्तै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’  हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । 

अन्तिम अध्यावधिक: १९ बैशाख २०८२
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस