सर्पको टोकाइबाट कसरी बच्ने ? टोकेमा के गर्ने, के नगर्ने ?

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • १३ जेठ २०८२ (६ दिन अघि)
  • १६६

गर्मी मौसम शुरू भएसँगै सर्पदंशका घटना बढ्न थालेका छन् । जाडोमा चिसोबाट बच्न दुलोभित्र लुकेर बस्ने सर्प गर्मीको शुरुवातसँगै खाना खोज्न बाहिर निस्कन्छन् । सर्पहरू गर्मीमा सक्रिय हुन्छन् । उनीहरू खाना र चिसो स्थान खोज्दै बस्ती नजिकसमेत पुग्न सक्छन् ।

यस क्रममा कहिलेकाहीँ मानिस र सर्पको जम्काभेट हुँदा डस्ने घटना हुनसक्छ । हामी सर्प देखेपछि जति असुरक्षित महसूस गर्छौँ, सर्प पनि त्यत्तिकै डराउँछ । ज्यान जोगाउन सर्पले डस्ने गर्छ ।

सर्पदंशको जोखिम बढी हुने क्षेत्रहरूमा तराई, चुरे क्षेत्र, खोला किनार र खेतीयोग्य जमिन पर्छन् । यस्ता ठाउँहरूमा तापक्रम उच्च, घाँसपात र झाडी प्रशस्त हुने भएकाले सर्प बस्न अनुकूल वातावरण हुन्छ । विशेषगरी तराई र चुरेमा मानव बस्ती बाक्लो हुने र कृषिमा निर्भरता बढी हुने भएकाले मानिस र सर्पबीचको प्रत्यक्ष सम्पर्कको सम्भावना पनि उच्च हुन्छ ।

पछिल्लो समय जलवायु परिवर्तन, शहरीकरण र यातायात सुविधाको विस्तारसँगै सर्पदंशका घटना पहाडी र शहरी क्षेत्रमा समेत देखिन थालेका छन् । नेपालमा हरेक वर्ष झन्डै ३० हजार सर्पदंशका घटना हुने गर्छन्, जसमध्ये करिब ३ हजार व्यक्तिको ज्यान जान्छ । यस्ता घटना प्रायः गर्मी मौसममा बढी हुने गर्छन् ।

यस्ता घटनाहरू मुख्यतः साँझ र रातिको समयमा बढी हुने गर्छन्, जब सर्प सक्रिय र मानिस निदाएका हुन्छन् । गोठ, खुला आँगन, खेतबारी, धान रोपाइँ वा कटाइका बेला यस्ता घटना बढी हुने गर्छन् । राति खुला ठाउँमा सुत्ने व्यक्तिहरूलाई सर्पदंशको जोखिम बढी हुन्छ ।

सबै सर्प विषालु हुँदैनन् । नेपालमा पाइने झन्डै ९० प्रजातिका सर्पमध्ये केवल थोरै प्रजातिहरू मात्र विषालु छन् । तीमध्ये विशेष रूपमा कोब्रा, करेत र भाइपर प्रजातिका सर्पले डसेको घटना बढी सुनिन्छ र यिनै सर्पका डसाइका कारण धेरै मानिसको ज्यान जाने गरेको पाइन्छ । तर विषालु र अविषालु सर्पको स्पष्ट पहिचान नहुनुका कारणले गर्दा मानिसहरू सर्प देख्नासाथ डराउँछन् र मानसिक तनावमा पर्छन् ।

प्रारम्भिक लक्षणहरू :

  • दाँतले टोकेको घाउ देखिने
  • घाउबाट रगत बग्ने
  • टोकेको भाग सुन्निने, रातो हुने, दुख्ने

घाउ वरपर लाटोपन वा झमझम अनुभव हुने​

विषालु सर्पको डसाइपछि देखिने विशेष लक्षणहरू :

विषालु सर्पले टोकेको अवस्थामा लक्षणहरू तुरुन्तै वा केही मिनेटदेखि केही घण्टाभित्र देखा पर्न सक्छन् । ती लक्षणहरु हुन् :

  • सास फेर्न गाह्रो हुने
  • अत्यधिक पसिना आउने
  • आँखाले नदेख्ने वा दृष्टि धमिलो हुने
  • पेट दुख्ने वा वान्ता हुने
  • शरीर सुन्निने वा कमजोरी अनुभव हुने
  • रक्तश्राव हुने
  • घाँटी अड्याउन कठिन हुने
  • मुटुको गति असामान्य रूपमा बढ्ने
  • जिब्रो चलाउन वा मुख खोल्न गाह्रो हुने
  • मुखमा अत्यधिक र्‍याल आउने
  • मांसपेशी चल्न छाड्ने सम्भावना​

यी लक्षणहरू देखिनासाथ समयमै उपचार नगरेमा बिरामीको ज्यान समेत जान सक्छ । त्यसैले, सर्पले टोकेको शङ्का लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु अत्यावश्यक छ ।

सर्पदंसपछि के गर्ने ? के नगर्ने ?

सर्पले डसेपछि सबैभन्दा पहिले गर्नु पर्ने काम भनेको आफूलाई सर्पबाट सुरक्षित बनाउनु हो । त्यसका लागि तुरुन्तै सर्पबाट टाढा जानुपर्छ र वरपरको कसैलाई सहयोगको लागि बोलाउनु पर्छ । त्यसपछि, बिरामीको शरीरमा भएका टाइट औँठी, बेल्ट, घडी, लुगा वा गहनाजस्ता रक्तसञ्चारमा असर पार्ने सामग्रीहरू तत्काल खोल्नुपर्छ । सर्पले डसेको अङ्गलाई सकेसम्म स्थिर राख्नुपर्छ, ताकि शरीरमा विष छिटो फैलन नपाओस् ।

बिरामीलाई मानसिक रूपमा पनि शान्त राख्न आवश्यक हुन्छ । यदि बिरामी डराए वा आत्तियो भने, मुटुको गति बढ्न सक्छ र विष शरीरभर छिटो फैलिन सक्छ । यस्तो अवस्थामा हृदयाघात, छिटो सास फेर्ने, हात–खुट्टा नचल्ने वा बाउँडिने, बेहोस हुने जस्ता गम्भीर लक्षण देखा पर्न सक्छन् ।

सर्पले डसेपछि धेरै मानिसले परम्परागत विश्वास वा डरका कारण हतारमा गलत उपाय अपनाउने गर्छन्, जुन घातक हुन सक्छ । सर्पदंशपछि डसेको अङ्गलाई हल्लाउनु हुँदैन । कडा गरी बाँध्नु हुँदैन । घाउ काट्नु, चुस्नु, पोल्नु वा घरेलु औषधि लगाउनु हानिकारक हुन्छ ।

यस्तो गर्दा सर्पको विष अझ छिटो शरीरभर फैलिन सक्छ वा सङ्क्रमण हुनसक्छ । कतिपय ठाउँमा पिसाब लगाउने, गोबर दल्ने, झारफुक गर्ने, सिन्दुर हाल्ने जस्ता क्रियाकलाप गरिन्छ, तर यस्ता उपायहरूले विष कम नगरी उल्टो रोगको जोखिम बढाउँछ ।

सर्पले डसेपछि प्राथमिक उपचार स्वरूप सर्पले टोकेको अङ्गलाई स्थिर राख्नुपर्छ र यदि आवश्यक परेमा सुकिलो कपडाले हल्का मात्र बाँध्नुपर्छ ताकि रगतको प्रवाह पूर्ण रूपमा बन्द नहोस् ।

पीडितलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । सर्प विषालु हो या होइन भन्ने पत्ता लाग्न समय लाग्न सक्छ, त्यसैले प्रतीक्षा गर्नुको सट्टा तुरुन्त अस्पताल जानु सबैभन्दा सुरक्षित उपाय हो । एन्टी–भेनोम उपचार सर्पदंशपछि पहिलो ४–६ घण्टा भित्र शुरू गर्नुपर्छ ।

नेपालमा सर्पदंशपछिको मृत्युदर उच्च छ । लगभग ४० प्रतिशत मानिसको मृत्यु घरमै, ४० प्रतिशत बाटोमै र २० प्रतिशत अस्पताल पुगेपछि हुने तथ्याङ्कले सावधानी र समयमै उपचारको महत्त्व देखाउँछ । सर्पदंशबाट बच्नका लागि सतर्कता नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो ।

वनजङ्गल, घाँसे मैदान, ढुङ्गा भएको ठाउँ वा खोलानाला छेउमा हिँड्दा लठ्ठीले अगाडि ठोक्दै हिँड्नुपर्छ, जसले सर्पलाई समयमै भाग्ने मौका मिल्छ । खेतमा काम गर्दा वा घाँस काट्दा जुत्ता, गमबुट, पन्जा र पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ ।

राति बाहिर निस्कँदा टर्चलाइट अनिवार्य प्रयोग गर्नु राम्रो हुन्छ । सर्पको खतरा हुने ठाउँमा घर सफा राख्ने, काठ वा घाँसको थुप्रो हटाउने, प्वाल टाल्ने र झुलभित्र सुत्ने अभ्यास गर्नुपर्छ । खोला, पोखरी वा ताल किनारमा पौडी खेल्दा वा माछा मार्दा पनि सावधानी आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायस्तरमा चेतना फैलाउनु हो ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्यसँगको कुराकानीमा आधारित ।)

अन्तिम अध्यावधिक: १३ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस