राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन्।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् ।
लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । त्यसैगरी रविपत्नी निकिता पौडेल र लामिछानेका स्वकीय सचिव अविनाश आचार्य पनि दिल्ली जाने छन् ।
लामिछानेलाई जेठ १९ गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्नेछन् । सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुने रास्वपाले जनाएको छ ।
सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् । समय भने खुलाइएको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरसहित केही मन्त्रीहरुसँग हुने भेटवार्ताको तालिका भने तय भइसकेको जनाइएको छ ।
नेपालमा नयाँ सरकार बनेपछि नेपालबाट भारतमा हुन लागेको यो सबैभन्दा उच्चस्तरको भ्रमण हो ।
भारतले समय समयमा नेपालका सत्तारुढ दलका नेताहरुलाई भारत भ्रमण गराउँदै आएको छ । भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको समन्वयमा यस्तो भ्रमण हुने गरेको छ।
यसअघि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि भाजपाको निमन्त्रणमा भारत भ्रमण गरिसकेका छन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने छ ।