कञ्चनपुर -
कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–२ को सीमा क्षेत्रमा पर्ने सडकको अतिक्रमित जमिन खाली गराइएको छ ।
कृष्णपुर–२ को बनहरा देखि मछेलीसम्म झण्डै पाँच किलोमिटर सडक क्षेत्रको दायाँबायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाइएको हो ।
कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन सिंह साउदले संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालयले १५ दिनभित्र सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेपछि वडा कार्यालयले स्थानीय तहबाट पहल अघि बढाएको बताए ।
उनले पूर्व–पश्चिम महेन्द्रराजमार्गको अतिक्रमित क्षेत्र खाली गर्न सडक डिभिजन कार्यालयले सूचना जारी गरेसँगै वडा कार्यालयले समेत समन्वय गरी वडाको सीमा क्षेत्रमा रहेका अवैध संरचना हटाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको जानकारी दिए ।
वडाध्यक्ष साउदका अनुसार सडक क्षेत्रभित्र अस्थायी तथा टहरा बनाएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई स्वस्फूर्त रूपमा संरचना हटाउन आग्रह गरिएको थियो ।
“हामीले अनुरोध गर्यौँ, नागरिकले सहज रूपमा मान्नुभयो,” उनले भने, “वर्षौँदेखि सडक छेउछाउमा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका नागरिकको वैकल्पिक व्यवस्थाका लागि समेत सडक कार्यालयसँग अनुरोध गरेका छौँ ।”
सडक क्षेत्र खाली गराइएपछि वाणी तथा बंक बजार क्षेत्र चिटिक्क र व्यवस्थित देखिन थालेका छन् ।
गत ३० वैशाखमा सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पूर्व–पश्चिम चिसापानी–गड्डाचौकी सडकखण्डको अतिक्रमित क्षेत्र खाली गराउन सूचना जारी गरेको थियो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गड्डाचौकी–अत्तरिया सडक विस्तार गर्ने घोषणा समेत गरेको छ ।
सडक क्षेत्र विस्तार नहुँदा तथा अतिक्रमण बढ्दै जाँदा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको थियो । स्थानीयवासीले सडक विस्तारसँगै दुर्घटना न्यूनीकरण र बजार व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरेका छन् ।