सुदूरपश्चिम प्रदेशसभा सदस्य विष्टद्वारा क्षेत्र १ काे विकासका लागि बजेट प्राथमिकताको माग

होमपेज / समाचार /
बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडी विकासमा बजेट केन्द्रित गर्नुपर्ने कुरामा जाेड
  • रेडियो सुदूर सञ्चार
  • १३ जेठ २०८२ (२ दिन अघि)
  • ४७९

डम्बर सिंह धामी / बेलाैरी, कञ्चनपुर - 

सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय दिवान सिंह विष्टले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कञ्चनपुर क्षेत्र नम्बर १काे समग्र विकास परियोजनालाई उच्च प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह थापासँग भेटवार्ता गर्दै सांसद विष्टले क्षेत्र नम्बर १ मा दशकौंदेखि अलपत्र रहेका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा यातायात जस्ता महत्वपूर्ण क्षेत्रमा बजेट विनियोजन हुन नसक्दा जनताले आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको गुनासो राखे।,

संविधानसभा सदस्यको हैसियतमा पनि विकास र अधिकारका पक्षमा आवाज उठाउँदै आएका विष्टले प्रदेश सरकारप्रति आक्रोश व्यक्त गर्दै विगतका आर्थिक वर्षहरूमा कञ्चनपुर क्षेत्र नम्बर १ लाई बजेटमा उपेक्षा गरिएको, विनियोजित बजेटसमेत अन्तिम समयमा कटौती गरिएको उल्लेख गरे। उनले भने, “हामीलाई विगतमा बजेट दिने भनेर सूचीमा राखिन्छ, तर कार्यान्वयन हुने बेलामा कटौती हुन्छ। यसले जनतामा निराशा र प्रदेशप्रति अविश्वास बढेको छ।”

सांसद विष्टले क्षेत्र नम्बर १ अन्तर्गत रहेका बेलौरी, बेलडाँडी, पुनर्वास, लालझाडी लगायतका स्थानीय तहहरूमा सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने बताए।

उनले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई निष्पक्ष, समावेशी र जनताको आवश्यकतामा आधारित बनाउन सुझाव दिँदै कञ्चनपुर क्षेत्र नम्बर १ लाई ‘विकासको पर्खाइमा रहेको तर निरन्तर उपेक्षा गरिएको’ क्षेत्रको रुपमा उल्लेख गरे।

सांसद विष्टले विशेषगरी दाेदा नदी तटीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि तटबन्ध, कृषि सहजीकरण तथा पर्यटन पूर्वाधार निर्माणमा बजेट सुनिश्चित गरिनुपर्ने माग पनि राखे।

उनको भनाइमा, “प्रदेश सरकारले भौगोलिक सन्तुलन, जनसंख्याको घनत्व, सम्भाव्यता, र ऐतिहासिक उपेक्षाका आधारमा बजेट बाँडफाँट गर्नु जरुरी छ। अब पनि हाम्रो क्षेत्र उपेक्षित भयो भने हामी प्रदेशसभाभित्र र बाहिर दुवै ठाउँमा संघर्ष गर्न पछि हट्दैनौं।”

सांसद विष्टको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै अर्थमन्त्री थापाले समावेशी तथा आवश्यकतामा आधारित बजेट निर्माण प्रक्रियामा सबै जनप्रतिनिधिको सुझावलाई सम्मानपूर्वक ग्रहण गरिने जानकारी दिए।

यसअघि पनि सांसद विष्टले पटकपटक प्रदेश र संघीय सरकारसमक्ष क्षेत्रका आवश्यकता, माग तथा योजनाहरू प्रस्तुत गर्दै आएका छन्। आगामी बजेटले कञ्चनपुर क्षेत्र नम्बर १ का जनताको अपेक्षा पूरा गर्नेमा यसपटक सांसद विष्ट आशावादी देखिएका छन्।

उक्त ध्यानाकर्षण कार्यक्रम बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना सहित कञ्चनपुर क्षेत्र नम्बर १ का काँग्रेस नेता कार्यकर्ता एवम् स्थानीय अगुवाहरुकाे सहभागीता रहेको थियाे।

अन्तिम अध्यावधिक: १३ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस