ट्रेण्डिङ

नन्दकुमार राना माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

होमपेज / राजनीति /
  • चन्द्रिका चौधरी
  • १५ जेठ २०८२ (३ महिना अघि)
  • १५६७

बेलाैरी, कञ्चनपुर —

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई टीका र खादा लगाएर स्वागत गरेका हुन्।

राजनीतिक विचलन, अवसरवाद र सत्तामुखी प्रवृत्तिका कारण नागरिक उन्मुक्ति पार्टीले जनताको अधिकार र समावेशी आन्दोलनको मर्म बिर्सिएको आरोप लगाउँदै रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए। राजीनामापछि केही घण्टामै माओवादी केन्द्र प्रवेश गरेका उनले आफ्नो राजनीतिक यात्राले फेरि मूल धारको परिवर्तनशील आन्दोलनसँग जोडिएको बताएका छन्।

"नागरिक उन्मुक्तिले उठाएको मुद्दा महत्वपूर्ण भए पनि व्यवहारमा त्यो दिशाबाट विचलन भएको महसुस गरेँ। अब फेरि जनताको हक, अधिकार र पहिचानका लागि माओवादी आन्दोलनमार्फत अघि बढ्नेछु," रानाले पार्टी प्रवेश कार्यक्रममा भने।

राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका–८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो संघीय निर्वाचनमा उनी कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पनि बनेका थिए। कञ्चनपुर जिल्लामा राजनीतिक रूपमा परिचित तथा प्रभावशाली नेताका रूपमा चिनिएका रानाको आगमनले सुदूरपश्चिममा माओवादी केन्द्र थप बलियो हुने अपेक्षा गरिएको छ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समावेशी आन्दोलनप्रति रानाको दीर्घकालीन योगदानको प्रशंसा गरे। उनले भने, “रानाजस्तो निष्ठावान र जनभावनासँग जोडिएका नेताको प्रवेश माओवादी आन्दोलनको नयाँ उर्जाका रूपमा लिइनेछ।”

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको नेपाल सरकार पूर्व खानेपानी मन्त्री बीना मगरका स्वकीय सचिव दीपक तिमिल्सिनाले जानकारी दिए । नेताहरूले रानाको जनसंपर्क, नेतृत्व क्षमता र संगठनात्मक अनुभवले पार्टीको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्। 

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस