सरकारले आउँदो आर्थिक वर्षदेखि वृद्धभत्ता पाउने उमेर ६८ बाट बढाएर ७० वर्ष पुर्याएकाे छ । आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयाेगकाे प्रतिवेदन अनुसार आउँदाे आर्थिक वर्षदेखि ७० वर्ष पुगेकालाई वृद्धभत्ता दिने बताउनुभएकाे हाे ।
यस्तै अहिले प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेकाे अर्थमन्त्रीले जानकारी दिनुभयाे । सरकारले सामाजिक सुरक्षाका लागि एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने बताउनुभयो । जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उहाँको भनाइ छ ।