चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० अन्तर्गत अमृत डिष्टिलरीदेखि महाकाली सुगर मिलसम्मको करिब ७.५ किलोमिटर औद्योगिक मार्ग निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
संघीय सरकारको बजेटमा सञ्चालित यस परियोजनालाई स्थानीय, प्राविधिक, प्रशासनिक तथा निर्माण पक्षले प्राथमिकताका साथ अघि बढाइरहेका छन्। नगरको समग्र औद्योगिक र पूर्वाधार विकासको मेरुदण्डका रूपमा यस सडकलाई हेरिएको छ।
सोमबार उक्त सडक खण्डको स्थलगत अनुगमन नगरप्रमुख पोतीलाल चौधरीको नेतृत्वमा भएको थियोे ।
स्थलगत अवलोकनमा वडा नं. १० का वडाध्यक्ष सोमलाल चौधरी, बेलाैरी नगरका इन्जिनियर जगदीश जोशी, निर्माण कम्पनी महाकाली कन्ट्रक्सनका प्रतिनिधि, स्थानीय सरोकारवाला, युवा समाजसेवीहरूको उल्लेखनीय सहभागीता रहेको थियो।
नगरप्रमुख चौधरीले अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने,
“बेलौरी नगरपालिका अब विकासको नयाँ चरणमा प्रवेश गरिरहेको छ। हाम्रो प्राथमिकता केवल पिच सडक बनाउने मात्र होइन, दीर्घकालीन विकासकाे यात्रा सुनिश्चित गर्नु पनि हो। यस्तो औद्योगिक मार्गले नगरको समग्र कृषि, उत्पादन, व्यापार र लगानी प्रवाहलाई सघाउनेछ।”
उनले थपे,
“यो सडक योजनामा संघीय सरकारको बजेट आए पनि यसको सफलतामा स्थानीयकाे सहभागिता, इमानदार निर्माण र प्राविधिक निगरानीमा निर्भर हुन्छ। हामीले पारदर्शिता, गुणस्तर र समयसीमालाई निरन्तर अनुगमन गरिरहेका छौं।
सडक निर्माण सम्पन्न भएपछि नगरकाे कृषि, उद्योग, यातायात र बजार प्रणालीमा समेत परिवर्तन आउने विश्वास छ।”
वडाध्यक्ष सोमलाल चौधरीले भने,
“यो मार्ग केवल उद्योगसम्मको पहुँच मात्रै होइन, यो हाम्रो वडाको सपना हो। यहाँका कृषक, मजदुर, बालबालिका, वृद्धवृद्धा सबैको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्नेछ। सडकले बस्तीलाई बजारसँग, उत्पादनलाई ग्राहकसँग, र नगरलाई सम्भावनासँग जोड्नेछ।”
इन्जिनियर जगदीश जोशीका अनुसार,
“परियोजना मापदण्डअनुसार अगाडि बढिरहेको छ। ग्राभेल, नाली, साइड स्ट्रक्चर, कभर स्ल्याबजस्ता सबै पूर्वतयारी चरणहरू निर्माणकाे क्रममा छन्।
हाल पानीपिचको प्रक्रिया आरम्भ भइसकेको छ। दैनिक प्राविधिक सुपरिवेक्षण भइरहेको छ र मापदण्डअनुसार गुणस्तरीय सामग्री समेत प्रयोग भइरहेको देखिन्छ।”
उता, निर्माण व्यवसायी मदन खत्रीले भने,
“यो काम सामान्य ठेक्काको विषय होइन। जनताको विश्वास, सरकारको लगानी र भावी पुस्ताको पूर्वाधार पनि हो। हामीले दक्ष जनशक्ति, उच्चस्तरीय उपकरण, भरपर्दो आपूर्ति प्रणाली र समयअनुकूल कार्य तालिका तय गरेका छौं। यदि मौसमले साथ दियो भने समयमै कालोपत्रे गरी हस्तान्तरण गर्न सक्नेछौं।”
स्थानीय झलक शाहले भने,
“वर्षाै देखि अलपत्र यो सडक बन्नु हाम्रा लागि ठूलो कुरा हाे। यहाँका स्थानीयले वर्षौंदेखि हिलो, धुलो, असहज यात्रा भोग्दै आएका थियौं। अब थाेरैभए पनि उद्योग सम्म जान र कृषि ढुवानीका लागि स्थानीयलाई सहज भयो।”
महिला अगुवा मञ्जु शाहीले भनिन्,
“बिरामी बोक्न एम्बुलेन्स आउन नसक्ने अवस्था थियो। वर्षामा स्कुल जान नपाउने बच्चाहरू थिए। हामी महिलाहरूले असहज यात्रा र जोखिम माेलेर ओहोरदोहोर गर्नुपर्थ्यो। कम्तीमा अब ढुक्क भयौं।”
नगरले आगामी दिनहरूमा निर्माणको नियमित अनुगमन मात्र होइन, स्थानीय सरोकारवालाहरुसँग समन्वय गर्ने योजना पनि बनाएको छ। जनताको विश्वास र विकासको मर्म समेटिएको यस सडक आयोजनालाई सफल बनाउने सन्दर्भमा सबै तहको सहयोग छ।
सडक निर्माणले नगरको पूर्वाधारमा मात्र नभई सामाजिक चेतनामा पनि नयाँ गति दिने अपेक्षा गरिएको छ। यसले शिक्षा, स्वास्थ्य, कृषिजन्य व्यापार, औद्योगिक पहुँच र सामाजिक गतिशीलता सबैमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।
संघीय सरकारको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रहेको यो योजना, यदि तोकिएको समयसीमामा गुणस्तरपूर्वक सम्पन्न भयो भने, सबैलाई सहज हुनेछ ।,