किन उठ्छ बिनासित्तिमा रिस ?

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २० जेठ २०८२ (२ हप्ता अघि)
  • २७०

रिस किन उठ्छ ? जब चाहेको जस्तो हुँदैन । तब उठ्छ ।

यो एक स्वभाविक प्रक्रिया हो, जसले तनाव, कुण्ठा वा असहज परिस्थितिप्रति प्रतिक्रिया व्यक्त गर्छ ।

तर, बिनाकारण सानातिना कुरामा बारम्बार रिस उठ्छ भने एकपटक कतै केही समस्या त होइन भनेर विचार गर्नुपर्ने हुन्छ । यो सामान्य व्यवहारभन्दा बाहिरको कुरा हुनसक्छ।

आखिर के कारण हुनसक्छ त ?

तनाव र चिन्ता

दीर्घकालीन तनाव जस्तै कामको दबाब, आर्थिक समस्या वा पारिवारिक तनावले रिसको सीमालाई कम गर्छ । ‘एन्जाइटी डिसअर्डर’ भएका व्यक्तिहरूमा सानातिना कुरामा रिस उठ्ने सम्भावना बढी हुन्छ ।

डिप्रेसन

डिप्रेसनले चिडचिडापन र रिसलाई ट्रिगर गर्न सक्छ । विशेषगरी पुरुषहरूमा यसको लक्षण रिसको रूपमा देखिन सक्छ । नेपालमा मानसिक स्वास्थ्यप्रति कम जागरूकताले यस्ता समस्याहरूलाई पहिचान गर्न गाह्रो हुन्छ । त्यस्तै, नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भएकाहरुमा पनि आत्मसम्मानमा कमी वा आलोचनाले रिस उत्पन्न गर्छ ।

दुर्घटना तथा चोटपटक

विगतको दुखदायी घटना (जस्तै हिंसा, दुर्घटना) वा पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरले सानातिना कुरामा रिस उठाउन सक्छ । कुनै कारणवस मस्तिष्कको अगाडिको भागमा चोट लागेमा भावनात्मक नियन्त्रण कमजोर हुन्छ, जसले रिसको आवेग बढाउँछ ।

निद्राको कमी

पर्याप्त निद्रा नपुग्दा मस्तिष्कको भावनात्मक नियन्त्रण कमजोर हुन्छ । रात्रीकालीन ड्युटी वा अनियमित निद्राले रिसको भावना बढाउँछ । निद्राको कमीले निद्रालाई नियन्त्रण गर्ने मेलाटोनिन हार्मोन र कोर्टिसोल (तनाव हार्मोन)को असन्तुलन हुन्छ, जसले चिडचिडापन गराई आवेग बढाउँछ ।

अस्वस्थ खानपान

बजारिया खानेकुरा, चिनी र क्याफिनको अत्याधिक सेवनले पनि मूडमा उतारचढाव ल्याउँछ ।

मदिरा र धूम्रपान

यिनले मस्तिष्कको रसायनलाई प्रभावित गर्छ, जसले रिसको आवेग बढाउँछ ।

सामाजिक र कार्यस्थलको दबाब

विशेषगरी शहरी क्षेत्रमा, कामको बोझ, ट्राफिक र आर्थिक दबाबले दिमागले अनावश्यक भार ठान्दा मूड खराब बनाउन सक्छ ।कुनै समस्या पर्दा पुरुषहरू रोएर भन्दा रिसलाई भावनात्मक अभिव्यक्तिको रूपमा प्रयोग गर्छन् ।

नेपाली समाजमा रिसलाई प्रायः कमजोरी वा नियन्त्रणको कमीको रूपमा हेरिन्छ, तर यो स्वाभाविक भावना हो । त्यस्तै, संयुक्त परिवारमा अन्तरपुस्ता द्वन्द्व वा जिम्मेवारीको दबाबले रिस निम्त्याउँछ।

आर्थिक दबाब

नेपालमा बेरोजगारी, गरिबी र महंगीले मानसिक तनाव बढाउँछ, जसले विनासित्ती रिस उठ्न सक्छ । कतिपयलाई सामाजिक सञ्जालमा अरूको जीवनशैलीसँग तुलना गर्दा हीनताबोध र रिस उत्पन्न हुन्छ ।

हर्मोनल असन्तुलन

थाइराइड समस्या भएमा पनि अनावश्यक रिस उठ्न सक्छ । थाइराइडको स्तर बढेमा हाइपरथाइरोइडिज्म हुनसक्छ । जसले तनाव हर्मोन कोटिसोलको मात्रा बढाएर चिडचिडापन र रिसको भावना बिना‍कारण बढाउन सक्छ ।

महिनावारी वा हर्मोनल परिवर्तन

महिलाहरूमा प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम वा मेनोपजको समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोनको उतारचढावले रिस उठ्न सक्छ ।

मस्तिष्क र न्यूरोलोजिकल समस्या

कुनै कारणवश मस्तिष्कमा सेरोटोनिन र डोपामिन जस्ता हर्मोन उत्पालनको कमीले मूडमा अस्थिरता ल्याउँछ ।

स्नायु समस्या

पार्किन्सन र अल्जाइमर जस्ता रोगले रिसको व्यवहारलाई प्रभावित गर्छ । यसबाहेक रक्तचाप र मधुमेहले रगतमा चिनीको स्तर सन्तुलन भएन भने पनि चिडचिडापन र रिस उत्पन्न गराउन सक्छ ।

लामो समयसम्मको शारीरिक दुखाइ (जस्तै माइग्रेन, ढाड दुखाइ) ले मानसिक तनाव बढाउँछ, जसले रिसको भावना उत्पन्न गर्छ । भिटामिन बी १२, म्याग्नेसियम वा ओमेगा–३ फ्याटी एसिडको कमीले मस्तिष्कको कार्यमा असर पार्छ । यसले पनि रिस बढाउन भूमिका खेल्छ ।

रिसले पार्ने प्रभाव

यसको प्रभाव मानसिक, सामाजिक, शारीरिक र कार्यक्षमतामा देखिन सक्छ । शारीरिकमा उच्च रक्तचाप, हृदयरोग, टाउको दुखाइ पाचन समस्या, मानसिकमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा कमी हुनसक्छ ।

त्यस्तै, सामाजिक रुपमा परिवार र साथीहरूसँग सम्बन्ध बिग्रने, कसैप्रति वितृष्णा बढ्ने हुनसक्छ । यस्तो अनावश्यक रिस उठ्ने बानीले कार्यक्षमतामा कमी आई कार्यस्थलमा कमजोर प्रदर्शन हुने र झगडा हुनसक्ने हुन्छ ।

मनोवैज्ञानिक उपचार

यदि रिस मात्र उठ्छ, शारीरिक अन्य लक्षण छैन भने मनोवैज्ञानिकसँग परामर्श लिँदा रिसको कारण पत्ता लगाउन र व्यवस्थापन गर्न सजिलो हुन्छ । डिप्रेसन वा एज्जाइटी रोगका लागि डाक्टरले एन्टिडिप्रेसन्ट वा एन्टि–एन्जाइटी औषधि सिफारिस गर्न सक्छन् ।

कग्निटिभ बिहेभियरल थेरापीले पनि नकारात्मक सोचलाई परिवर्तन गरी रिस नियन्त्रण गर्न सघाउ पुग्छ।

चिकित्सकीय उपचार

यदि मानसिक बाहेक अन्य शारीरिक लक्षण भएमा हर्मोन परीक्षण गरिन्छ । यदि हर्मोनल असन्तुलन छ भने, चिकित्सकीय सल्लाहमा औषधि वा थेरापी लिन सकिन्छ । यदि मस्तिष्क सम्बन्धी समस्या छ भने, न्यूरोलोजिस्टसँग परामर्श लिनुपर्ने हुनसक्छ । डा. बासुदेव कार्की 

अन्तिम अध्यावधिक: २० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस