हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ। ३५ वर्ष पहिलेसम्म यस्ता नारा निकै रोमाञ्चक र प्रिय हुन्थे। उल्लेख्य राम रमितासाथ देशका नरेशको जन्मजयन्ती मनाइन्थ्यो। बडामहाराजधिराज, मौसुफ, हजुर, जुनाफलगायत उच्च आदरार्थी सम्बोधनले तत्कालिन शासकको गरिमा र आत्मसन्तुष्टिलाई सायदै अपराजित एवं अभिनाषी उचाइ महसुस गराउँथ्यो होला। सिंगो देशलाई एक परिवार तथा पुर्खाको पेवा सम्झिइन्थ्यो। मेरो सरकार, हाम्रा अनुकम्पा जस्ता शब्दहरू अभ्यासमा रहन्थे। नागरिक व्यक्ति नभएर रैती (सब्जेक्ट बट नट–सिटिजन)को अवस्थामा हुनुपथ्र्यो। केही मुठीभर मानिसले यस परिस्थितिमाथि अपार हालिमुहाली गरेका थिए। आलिसान जीवन, अप्रत्यासित वैभव, मापन गर्न नसकिने रवाफ र हाइफाइको सामराज्य खडा थियो। यस्ता, खातिरदारी र जिउ हजुरीबाट रमाएको एउटा पुस्ता आफ्नो जीवनको उत्तरार्धमा र उक्त पुस्ताका केही थान आसेपासे देशको राजनीतिमा अभैm विद्यमान छन्। यसै दस्ताको प्रायोजनमा राजावादी समूहको गतिविधि अलिअलि चलमलाउन खोज्दै छ।
समय बलवान् छ। हिजो राजतन्त्रको समयमा नागरिक स्वायत्तता, अभिव्यक्तिका स्वतन्त्रतामाथि चरम अंकुश लगाउने ज्ञानेन्द्र शाहासमेत यदाकदा अहिले सरकार निरंकुश भएको भनेर चिन्तित हुँदै अभिव्यक्ति दिइरहेका हुन्छन्। हिजो सक्रिय राजतन्त्रका बेलामा अनाहक दर्जनौं नागरिकको कत्लेआम हुँदा खासै बिचलित नभएका उनी प्रदर्शनमा हिंसा भड्कदा निकै भावविह्वल भएको अभिनय गर्छन्। उमेर पाको बन्दै गएपछिको परिपक्वता भनेको सायद यही होला। हिजोका दिनमा सञ्चारमाध्यममा सेनाका जर्नेलहरू राखेर समचारको बन्देज तथा नेताहरूलाई घरमै नजरबन्द गर्ने तिनै पात्रहरू आज सरकारले जबर्जस्त उनीहरूलाई नियन्त्रण गर्न खोजेको र असुरक्षित भएको भन्न हिचकिचाहट महसुस गर्दैनन्। सायद यही नै प्रजातन्त्रको अनुपम सुन्दरता हो। आफूले जे जस्तो गरे पनि अरूबाट गलत भएको महसुस भएमा आपत्ति जनाउन पाउने अधिकार सुरक्षित छ। प्रजातन्त्र मात्र यति उदार छ कि जहाँ जिन्दगीभरि चोरी गरेर थुपारेको सम्पत्ति अरू कसैबाट चोरी भएमा सुरक्षा एवं फिर्ताको निवेदन लिएर पहिले चोरी गर्ने व्यक्तिले पनि सरकारलाई गुहार्न सक्छ। राजावादी र पूर्वराजा अहिले यही सदासायताको रसापान गरिरहेका छन्।
राजनीति सदैव सीधा रेखामा मात्र बहँदैन। विश्व राजनीतिमा यस्ता गतिविधिलाई स्वाभाविक मानिन्छ। विगत केही समयदेखि सहरहरूमा राजतन्त्र पक्षीय बहस तथा प्रदर्शन चल्दैछ। केही व्यक्तिहरू राजतन्त्र पुनस्र्थापना गरिछाड्ने भन्दै विलासी र व्यर्थ दुहाई दिइरहेका छन्। हाम्रो सवालमा कुनै पनि कारण एवं आधारले राजतन्त्रको पुनस्र्थापना सम्भव र आवस्यक दुवै छैनन्। राजतन्त्र अब इतिहासका पुस्तकको फुटनोटमा सीमित भएको विषय भइसक्यो। जसले केही देशमा राजतन्त्र पुनस्र्थापना भएको दलिल दिन्छन्, उनीहरू झन्डै सय बढी देशमा राजतन्त्र सामुल प्रतिस्थापन भएको तथ्य लुकाउँछन्। राजतन्त्रपछि पनि जुन सौहार्दता देखाएर तत्कालिन राज परिवारलाई देशमै रहन प्रजातन्त्रले स्पेस दियो, त्यो उदारता मनन गर्दैनन्।
गम्भीर कारणमा राजतन्त्रको अवसान भएको धेरै भएको छैन। आम जनताले राजतन्त्रको बिदाइ स्वीकार गरिसेकेको पक्ष हो। बाहिर राजतन्त्रको नारा लगाउने मुख्य दलसमेत पनि राजतन्त्रका लागि उदार र निष्ठ छैनन्। राजनीति गणितको सूत्र जस्तो होइन, जहाँ माइनस र माइनसको गुणा प्लस हुन्छ। एउटा गलत कामको प्रत्युत्तर अर्को गलत कदम कदापि हुन सक्दैन। दुईवटा गलत कुरा बराबर एउटा सही कुरासमेत हुँदैन। अहिलेको व्यवस्थाले अपेक्षित सही नतिजा दिन नसकेको भनेर अर्को खराब व्यवस्थाको वकालत किन्चित सही हुँदैन। राजतन्त्रले स्थापित गर्नुपर्ने भनिएका पात्रहरूको पृष्ठभूमि तथा विगत नागरिकसँग लुकेको छैन। उनीहरूको जन्म राजा हुन थिएन, अनायसै पाएको राजाको भूमिकासमेत नागरिकमैत्री भएन। गुण र गरिमा त चर्चाका फरक विषय नै रहे। नागरिक विश्वास र सत्यता दुवै नकरात्मक छन्। व्यक्तिले गर्ने शासन अबको समयमा ग्राह्य हुँदैन। त्यसमा पनि जीवनभर एउटै व्यक्ति र कुनै कुल खानदानमा जन्मिएकै आधारमा शासक बन्न पाउने प्रथा प्रजातान्त्रिक पनि होइन।
नेपाल एकीकरणको समय आसपास प्रजाभन्दा दरबार गरिब थियो। नागरिक स्तरबाट रकम संकलन गरेर हातहतियार खरिद गरेको इतिहास पढिएकै हो। त्यही भएर पृथ्वीनारायण शाहाले ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भनेका होलान्। त्यस्तो अवस्थाको दरबार ११ पुस्तामा आउँदा अनन्त घनाढ्यमा परिणत भयो। नागरिकलाई बार लगाएर आफू दर खानेमा रमायो। प्रजातन्त्र जति नागरिकलाई अधिकार तथा सार्वभौमसत्ता सुम्पने अन्य कुनै व्यवस्था छैन। शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, पूर्वाधार विकास, नेपालको अन्तर्राष्ट्रिय पहुँच र पहिचानले यही लोकतन्त्रको समयमा उल्लेख्य उपलब्धि प्राप्त गरेको छ। विश्वका दुईतिहाइ देशमा लोकतन्त्र छ। राजतन्त्रीयभन्दा लोकतान्त्रिक समयमा नेपालको सर्वपक्षीय उन्नयनले धेरै फड्को मारेको छ। फुटबल खेल्न मैदानमा उत्रिएका खेलाडीबीच कहिलेकाहीँ तोकिएको समयमा कुनै समूहबाट पनि गोल नहुन सक्छ। खेल त नसकिएला जस्तो छ, कुनै नतिजा आएन भनेर खेल टुंग्याउँदै नतिजा दिनकै लागि आफ्नै पोस्टमा गोल हान्न सुहाउँदैन। प्रजातन्त्रको विकल्पमा राजतन्त्रको वकालत पनि यस्तै आत्मघाती हुनेछ।
प्रजातन्त्रमा कहिलेकाहीँ नेतृत्व कमजोर देखिन अनि अल्मलिन सक्छ। हाम्रो सवालमा पनि त्यस्तो भएको छ। दलहरूमा समेत राजा हुने शैली विकसित हँुदै गएकाले नागरिकमा अविश्वास तथा आक्रोश बढ्दो छ। सत्तास्वार्थको टकराबले देश प्रशस्त ग्रसित भएको सर्वज्ञात छ। नेतृत्वले नागरिक अपेक्षाका काममा जोडवल तथा अतिरिक्त प्रयास गर्नुपर्ने स्पस्ट छ। समाजबाट हजारौंको संख्यामा काबिल, योग्य, दक्ष, विज्ञ, प्रभावी, अनुभवी, युवा, प्राविधिक लगायतको समूह निर्माण गरेर देश विकासको स्पस्ट ब्लु–प्रिन्ट बनाई नागरिकको साथ माग्ने राजनीति मात्र अब नागरिकले स्वीकार्छन्। चलचित्रको शैलीमा एउटा पात्रलाई स्थापित गर्न खोजिन्छ भने त्यो न सम्भव हुन्छ, न त स्वीकार्य। आजकाल मानिसले अरूलाई मानिस त खासै मान्दैनन्, भगवान् कसरी ठानोस् ? एउटा शौचालय बनाउन त चारजना मान्छे चाहिन्छ, देश बनाउन भनेर एउटा मान्छेको प्रक्षेपण हास्यास्पद हुन्छ। राजावादीलाई मात्र होइन, सबै वादी र दलहरूलाई। कम्तीमा १० हजार अब्बल र काविल व्यक्तिको सामूहिक सूची र प्रक्षेपित जिम्मेवारीसहित कोही राजनीतिमा आयो भने त्यसलाई हेर्नु स्वाभाविक होला। अरूका गफसँग नागरिकलाई विश्वास छैन, न त पूर्वराजा न त उनलाई फर्काउन चाहने दस्ता अथवा अरू कोही।
अहिले अधिकांश दलहरूले निर्वाचनमा मत माग्दा हामीले राणातन्त्र ढलायौं, प्रजातन्त्र ल्यायौं, गणतन्त्र स्थापना गर्यौं भन्ने दलिल पेस गर्छन्। २०८४ मा हुने निर्वाचनमा झन्डै २५ लाख मतदाता त २०६२/६३ को आन्दोलन पनि नदेखेका हुनेछन् भने झन्डै ७० प्रतिशत मतादातालाई २०४६ सालको आन्दोलनको पनि केही स्पस्ट भोगाइ हुनेछैन। अनि त्यसभन्दा अगाडिको राजतन्त्र र त्यसको महिमामण्डन गाएर प्रभावित हुने संख्या कहाँ बाँकी छ अब ? अहिलेका अधिकांश युवा पुस्ता प्रेममा छन्, उनीहरूले आफ्ना प्रेमी-प्रेमिकालाई मायाभावले प्यारपूर्वक राजा-रानी भन्छन्।
एउटा व्यावसायिक सिनेमा छक्कापन्जामा समेत राजा नामक एक पात्र प्रख्यात छन्। अहिले फर्कने वा चल्ने भनेका राजा-रानी यस्तै-यस्तै मात्र हुन्। यसबाहेक शासन प्रणालीमा राजा फर्कने कुरा एउटा सानदार भुलभुलैया मात्र हो। देशमा र शासनमा राजा फर्कन सम्भव छैन। सिनेमामा अनि प्रेममा चाहिँ फर्काउने कि हटाउने त्यो सम्बन्धित प्रेमिल जोडी अथवा निर्माताहरूको नीजि तथा व्यावसायिक स्वविवेकीय निर्णय हो। - डा. अतिन्द्र दाहाल