बजेट अभावले पुल निर्माण नहुदा सर्वसाधारण सास्तीमा

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ जेठ २०८२ (१ हप्ता अघि)
  • २११

कञ्चनपुर -

कञ्चनपुर जिल्लामा निर्माणाधीन दुईवटा महत्वपूर्ण पुल बजेट अभावका कारण अधुरो रहन पुगेका छन्।

कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल तथा बेदकोट नगरपालिका–७ मा रहेको मुसेपानी खोलाको पुल समयमै निर्माण सम्पन्न नहुँदा सर्वसाधारण सास्तीमा परेका छन्। दोदा नदीको पुल निर्माणका लागि २०७२ सालको पुस महिनामा लुम्बिनी–राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

सम्झौताअनुसार २०७५ पुससम्म काम सकिनुपर्ने भए पनि नौ वर्ष बितिसक्दा पनि पुल अझै निर्माणाधीन छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीका अनुसार हालसम्म ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ। “बजेटको अभावले काम रोकिएको छ,” जोशीले भने, “हामीले बाँकी कामका लागि १० करोड रुपैयाँ बजेट माग गरेका छौँ।”

त्यस्तै, मुसेपानी खोला पुलको ९२ प्रतिशत निर्माण कार्य सकिए पनि पहुँचमार्ग निर्माण नहुँदा पुल प्रयोगमै आउन सकेको छैन। यो पुल २०७४ जेठ १० गते १५ करोड ४३ लाख रुपैयाँमा राजेन्द्र लुम्बिनी जेभीलाई ठेक्का दिइएको थियो। २०७७ जेठभित्र निर्माण सक्ने योजना भए पनि म्याद पाँचपटक थपेर अहिले २०८१ पुससम्म पु¥याइएको छ।

सूचना अधिकारी जोशीका अनुसार, बाँकी काम सम्पन्न गर्न थप ४ करोड रुपैयाँ आवश्यक छ। स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउने प्रयास भइरहे पनि बजेट नआउँदा निर्माण अलपत्र परेको हो। पुलहरू समयमा निर्माण नहुँदा स्थानीयवासीलाई बर्खायाममा आवतजावतमा ठूलो समस्या हुँदै आएको छ।

अन्तिम अध्यावधिक: २५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस