चन्द्रिका चाैधरी / बेलौरी, कञ्चनपुर ।
नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले आइतबार बेलौरी नगरपालिका–६, प्रेमनगरस्थित ८७ वर्षीय अशक्त वृद्ध बेसर सिंह विष्टलाई ह्वील चियर प्रदान गरेका छन्।
विगत आठ वर्षदेखि प्यारालाइसिसका कारण थलिएका विष्ट दुई वर्षदेखि पूर्ण रूपमा ओछ्यानमा नै सीमित थिए। दैनिक जीवनयापनमा कठिनाइ बेहोर्दै आएका विष्टलाई ह्वील चियर प्राप्त भएपछि न केवल परिवारमा सहजता आएको छ, बरु उनीहरूको अनुहारमा आशा र खुसी पनि झल्किएको छ।
कार्यक्रममा समाजसेवी प्रकाश राज पन्त र गणेश सुनारको समेत सराहनीय सहभागिता रह्यो। उपाध्यायसँगै पुगेका यी समाजसेवीहरूले मानव सेवाको अभियानमा सहृदय साथ दिँदै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाए।
कालिका मन्दिर निर्माण समिति संयोजक समेत रहेका समाजसेवी पन्तले भने, "समाजका दुःखी, असहाय र अपाङ्गता भएका व्यक्तिहरूको सेवामा लाग्नु ठूलो धर्म हो। उपाध्याय जस्तो नेताको नेतृत्वमा यस्ता अभियानहरूले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।"
स्थानीय गणेश सुनारले पनि अभियानकाे प्रशंसा गर्दै भने, “राजनीति जनताको सेवाबाटै सशक्त हुन्छ। जब नेताहरू सिधै जनताको घर–घरमा पुगेर पीडामा मलम लगाउँछन्, तब समाजले राजनीति प्रति विश्वास गर्न थाल्छ।”
ह्वील चियर प्रदान गर्दै नेता उपाध्याय स्वयं वृद्ध बेसर सिंह विष्टको घरमा पुगेका थिए। उनले आत्मीयता पूर्वक संवाद गर्दै वृद्ध बुवाबाट आशीर्वाद लिएका छन् । अशक्त अवस्थामै आँखा रसाउँदै वृद्ध बुवाले भने, “भगवान् ले यहाँहरूलाई सधैं राम्रो गरुन्, याे अशक्त उमेरमा सहारा दिने मान्छे नै मेरा भगवान् हौ।”
अशक्त वृद्धका छोरा रामसिंह विष्टले भने, “हामीलाई लागेको थिएन कि यस्तो सहयोग प्राप्त हुनेछ। बुबालाई दिनरात हिँडाउने काम निकै कठिन थियो। अब केही सहज हुनेछ। उपाध्यायज्यूप्रति हामी कृतज्ञ छौं।”
कार्यक्रमले स्थानीय समुदायमा पनि निकै सकारात्मक सन्देश प्रवाह गरेको छ। स्थानीय शिक्षक सुरेन्द्र बाेहराले भने, “राजनीति केवल भाषण गर्ने माध्यम होइन, जनताका दुःख र पीडामा साथ दिने कार्य हो भन्ने कुराको जीउँदो उदाहरण गाेपी उपाध्यायज्यू हुनुहुन्छ । साथै समाजमा प्रकाशराज पन्त जस्ता सामाजिक व्यक्तिहरूको सहभागिताले यो अभियान अझै सबल बनेको छ।”
अहिलेसम्म २६ जनालाई ह्वील चियर : नेता उपाध्याय
नेता उपाध्यायले पछिल्लो समय “ह्वील चियर सहयोग अभियान” अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रभित्र अशक्त, थलिएका तथा आर्थिक अभावमा परेका नागरिकहरूलाई पहिचान गरी प्रत्यक्षरूपमा घरमै पुगेर सेवा पुर्याइरहेका छन्।
रेडियो सुदूर सञ्चारसँगको कुराकानीमा उनले भने,
“मैले अहिलेसम्म २५/२६ जना अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई ह्वील चियर वितरण गरिसकेको छु। यो कुनै प्रचारको निम्ति होइन, यो मेरो राजनीतिक विश्वास हो — कि राजनीति भनेको सेवा हो, जनताको पीडामा साथ दिने हो। तर दुर्भाग्य, आज राजनीति त्यसबाट धेरै टाढा गइसकेको देखिन्छ।”
उपाध्यायले आफ्ना गतिविधि प्रचारभन्दा पनि संवेदना र सहानुभूतिमा आधारित रहेको स्पष्ट पारेका छन्। उनले थपे, “म जनताबाट निर्वाचित भएको त छैन, तर जनतासँगको नाता केवल मतको लागि होइन, मानवीयताको आधारमा हो। जब जनताको आँखा रसाउँछ, म त्यो आँशुलाई सम्बोधन गर्न चाहन्छु।”
स्थानीयहरूले उपाध्यायको यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने बताएका छन्। बेलौरीका वृद्ध, अपाङ्गता भएका, र विपन्न वर्गका नागरिकहरूले यस्ता सहयोगले समाजमा सम्मानपूर्वक बाँच्न पाइने विश्वास समेत व्यक्त गरिरहेका छन्।