मानव शरीरमा करिब ७८ वटा अंग हुन्छन्, तीमध्ये आँखा, कान, हात, खुट्टा आदि दुईदुई वटा हुने अंगहरू हुन् । यस्ता दुई अंगमध्ये कुनै एकले कार्य गर्न छाडेमा वा प्रयोजनमा नआएमा त्यो अंग क्रमशः निष्क्रिय बन्दै जान्छ । ठीक यही प्रक्रिया आँखाको विकासक्रममा पनि लागू हुन्छ । प्रारम्भिक बाल्यकालमा आँखाको विकास भइरहेका बेला दुईमध्ये कुनै एउटामा जलविन्दु, मोतियाविन्दु, दृष्टिदोष, नानीमा चोट वा घाउ जस्ता समस्या देखापरेमा र समयमै उपचार नगरेमा सो आँखाको दृष्टि क्षमता कमजोर बन्दै जान्छ ।
समयमै दृष्टि सुधार नभएमा उक्त आँखाले मस्तिष्कसँग सम्पूर्ण रूपमा सम्पर्क गर्न सक्दैन, जसका कारण तीव्र रूपमा हेर्ने क्षमता गुम्न जान्छ । यस अवस्थालाई नै ‘आलस्य आँखा’ वा चिकित्सा क्षेत्रमा ‘एम्बलियोपिया-Amblyopia’ भनिन्छ । यस्तो अवस्थामा पछि चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्दा पनि दृष्टि सुधार हुँदैन । किनभने आँखाले प्रारम्भिक चरणमै दृष्टि सिक्न नपाएको हुन्छ । परिणामस्वरूप उक्त आँखा जीवनभरको लागि निष्क्रिय वा दृष्टि क्षमता कम रहन्छ ।
यस अल्छी आँखाबारे धेरैले नाम सुने तापनि यो रोगले भविष्यमा दृष्टिमा ठूलो असर पार्ने हुँदा बालबच्चाको जीवनस्तरमा नै फरक पार्ने हुनसक्छ । धेरै अभिभावकको बुझाइमा जाबो आँखा अल्छी त हो, अलि मेहनत अथवा दबाब दियो भने अल्छी आँखा देख्ने बनाउन सकिहालिन्छ नि भन्ने मानसिकता छ, तर निकै कष्ट र मेहनतका साथ यो दृष्टि फिर्ता ल्याउन सकिन्छ र दृष्टि फिर्ता ल्याएरमात्र हुँदैन । राम्रो एवं सामान्य आँखा सँगसँगै समन्वय गरी गहिरो धारणा र दिमागसँग समन्वय गरी काम गर्ने बनाउनुपर्छ ।
योस्तरको उपचार न सरकारी न त नाम चलेका निजी अस्पतालहरूमा विकास भएको पाइन्छ । एकदुई ठाउँमा भने दृष्टि विशेषज्ञहरूकै पहलमा यस्तो उपचार विधि सुरु गरिए तापनि जनचेतनाको अभावमा यसको विकास र विस्तार हुन सकेको छैन । त्यस्तै उपचार विधिमा समय लाग्ने भएकाले झन्झटिलो मानेर उपचार नै गर्न नचाहने चलन पनि रहिआएको छ । प्रारम्भिक चरणमा बच्चाले केही पनि समस्या नभने तापनि रोग पहिचान बेलामै गर्न सकियो भने छिटो उपचारको सम्भावना बढाउँछ र बच्चा ६ महिनाको उमेर भएलगत्तै प्रारम्भिक आँखा जाँच गर्नुपर्छ ।
यो रोगले बच्चाको शैक्षिक, बौद्धिक, मानसिक विकासमा नै असर पुर्याउने हुनाले बेलामै पहिचान गरी उपचार गराउन आवश्यक छ । आजभोलि मोबाइल र टीभीको अधिक प्रयोगले बालबालिकालाई भुलाउन सहज भए तापनि यसले बालबालिकाको दृष्टि प्रणालीमा दीर्घकालीन असर पर्ने हुनसक्छ । आँखाको सबै अन्तरक्रिया (accommodation, convergence, eye coordination, binocular vision skill)मा असर हुने भएकाले पछि एकोहोरिरहने, दोहोरो अन्तरक्रिया नगर्ने, राम्रोसँग सुत्न नसक्ने र बेलाबेला बिउझिने हुन्छन् ।
मस्तिष्क विकास हुँदै बच्चाको सर्वाङ्गीण विकासमा असर पुर्याउँछ । विश्वमा कुल १० लाखभन्दा बढी बच्चामा यो समस्या भएको अध्ययनले देखाउँछ ।
आँखा अल्छी हुँदा दिमागलाई नै अल्छी बनाइदिने हुँदा यसको उपचार विधि कठिन तथा समय धेरै लाग्ने हुन्छ । पहिला पहिला यो रोगको उपचार भनेको बेलैमा अल्छी आँखाको पहिचान गरी अर्काे सक्रिय आँखालाई छोपेर अल्छी आँखालाई सक्रिय गराउने र अल्छीपनाअनुसारको दिनमा कति घण्टा छोपेर काम गराउने भन्ने हुन्थ्यो । अहिले विश्वमा नँया अध्ययनहरूमा सक्रिय आँखालाई नछोपिकनै दुइटै आँखालाई सँगसँगै काम गराउने गरी विभिन्न प्रकारको भिजन थेरापी गराउँदा उचित परिणाम हुने देखिन्छ । यसको लागि कम्प्युटरमा भिजन थेरापी सफ्टवेयरअनुरूप आँखाको समन्वय र देखाइएको लयअनुसार दिमागको अल्छी भएको तन्तु (न्युरोन)लाई उत्तेजक गराई काम गर्ने बनाउन सकिन्छ । यो बालबालिकामा रमाइलो हुने गरी खेल खेलाउँदै दिमागलाई तालिम गराई उपचार गर्न सकिन्छ ।
यो जटिलअनुरूपको अभ्यास हो, यसमा Cerebral palsy/down syndrome भएका बच्चाहरूमा गर्दा पनि मस्तिष्कको राम्रो विकास हुने अनुसन्धानले देखाउँछ । यो अपचार पद्धति हरेक सरकारी अस्पतालमा हुन जरूरी देखिन्छ । वर्तमान डिजिटल दुनियाँमा अबका बालबालिकामा यो समस्या ह्वात्तै बढिरहेकाे छ । यसले भविष्यका कर्णधारहरूको आँखा जोखिममा पर्नेछ, तर नेपालमा आँखा स्वास्थ्यलाई सरकारले न्यूनतम स्वास्थ्य मापदण्डमा समेत राखेको छैन । भविष्यमा SHAPU जस्तै आँखालाई ७२ घण्टामै अन्धो बनाइदिने रोगको महामारी देखिएमा नेपालमा आँखासम्बन्धी अस्पताल सरकारले सञ्चालन नगरेको हुँदा आँखा स्वास्थ्य सबै गैरसरकारी संस्था र निजी आँखा अस्पतालमा निर्भर हुन बाध्य हुनेछ ।
(महतो मध्यविन्दु प्रादेशिक अस्पतालमा कार्यरत छन् ।)