चन्द्रिका चौधरी / बेलौरी, कञ्चनपुर –
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढी कैलालीको आयोजनामा पर्यावरणीय स्वास्थ्य र जलवायु परिवर्तनसम्बन्धी सरोकारवाला निकायहरूसंग पैरवी तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार बेलौरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्य रहेको थियो।
वातावरणीय स्वास्थ्य, जलवायु परिवर्तनको चुनौती र त्यसप्रतिको स्थानीय तहको भूमिका तथा उत्तरदायित्वबारे सरोकारवाला निकायहरूसंग बहस, समन्वय र साझा दृष्टिकोण निर्माण गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लक्षित महिला, युवा सञ्जाल, पत्रकार, वातावरणविद् तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले जलवायु परिवर्तनका असरहरू – विशेषगरी पानी, हावाको गुणस्तर, गर्मीको वृद्धि, रोगव्याप्ति, र वातावरणीय क्षतिहरू – मा गम्भीर चिन्ता व्यक्त गर्दै त्यसका समाधानका लागि दीर्घकालीन योजना र अन्तरसंस्थागत सहकार्य आवश्यक रहेको सुझाव दिएका थिए।
प्रमुख अतिथि बेलौरी नगरप्रमुख चौधरीले वातावरणीय स्वास्थ्य संरक्षण तथा जलवायु न्यायको सवालमा स्थानीय सरकार संवेदनशील रहेको बताउँदै भने, “वातावरण र स्वास्थ्य एक अर्कासंग प्रत्यक्ष सम्बन्धित छन्। हामी यस्ता संवाद कार्यक्रमहरूलाई नीतिगत निर्णयका लागि मार्गदर्शनको स्रोत बनाउनेछौं।” उहाँले बेलौरी नगरपालिकाले वातावरणीय संरक्षणका क्षेत्रमा आवश्यक नीति, जनचेतना र पूर्वाधार निर्माणमा प्राथमिकता दिइरहेको उल्लेख गरे।
कार्यक्रमको समापनमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रतिनिधिले वातावरणीय स्वास्थ्यलाई नीति निर्माणको केन्द्रमा ल्याउन प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहभागीहरूबीच भएको छलफलले वातावरणीय संकटप्रति चेतना जगाउनुका साथै समाधानमुखी रणनीति निर्माणतर्फ टेवा पुर्याउने विश्वास गरिएको छ।
यस कार्यक्रमले वातावरणीय विषयमा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायहरूबीच सम्वाद र सहकार्यको नयाँ बाटो खोलेको आयोजकले जनाएको छ।