लागूऔषध विरुद्ध कञ्चनपुरमा साताव्यापी आक्रामक अभियान सुरु हुँदै

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ असार २०८२ (१५ घण्टा अघि)
  • १७३

बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुरमा लागूऔषध विरुद्ध साताव्यापी आक्रामक अभियान सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगुवाइमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा अभियान सञ्चालन गरिन लागेको हो।

‘स्वस्थ, संयमित र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ अभियान आगामी शुक्रबारदेखि सुरु गरिने जनाइएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार गृहमन्त्रालयको निर्देशनअनुसार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा जिल्लामा पनि साताव्यापी अभियान सञ्चालन गरिन लागेको हो।

प्रजिअ ढकालका अनुसार अभियानअन्तर्गत सीमावर्ती क्षेत्रदेखि विद्यालयसम्म विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। अभियानको पहिलो दिन महेन्द्रनगर बसपार्कमा यात्रु, यातायात मजदुर तथा सवारीसाधन सञ्चालकहरूलाई लागूऔषध दुव्र्यसन, अवैध ओसारपसार र सेवन नगर्न/नगराउन आग्रह गर्दै सचेत गराइनेछ।

दोस्रो दिन गड्डाचौकी सीमा क्षेत्र तथा महाकाली चारलेन पुल क्षेत्रमा सर्वसाधारणसँग छलफल कार्यक्रम गरिनेछ। तेस्रो दिन सीमावर्ती दोधाराचाँदनी तथा कैलालीको सीमावर्ती कृष्णपुर नगर क्षेत्रका विद्यालयहरूमा विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

चौथो दिन बेलौरी र बेदकोट नगरपालिकाका विद्यार्थीहरूसँग छलफल गरिनेछ भने पाँचौँ दिन भीमदत्त तथा शुक्लाफाँटा नगरपालिकामा रहेका लागूऔषध नियन्त्रणका लागि सञ्चालनमा रहेका पुनःस्थापना केन्द्रहरूको स्थलगत अनुगमन र अन्तरक्रिया गरिने कार्यक्रम तय गरिएको छ।

छैटौँ दिन सुदूरपश्चिम विश्वविद्यालयसहित भीमदत्त नगर क्षेत्रका विभिन्न विद्यालयहरूमा सञ्चालित क्यान्टिन, खाजाघर क्षेत्रको स्थलगत अनुगमन गरिनेछ। सातौँ तथा अन्तिम दिन लागूऔषध नियन्त्रणका लागि क्रियाशील विभिन्न संघसंस्था, सरकारी निकाय र सरोकारवालाबीच सामूहिक छलफल गरिनेछ।

प्रजिअ ढकालले लागूऔषध दुरुपयोगविरुद्धको दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षासंंगठनहरू र सामाजिक संघसंस्थासँग समन्वय गरेर अभियान अघि बढाइने बताए।

उनका अनुसार लागूऔषधको लतले बालबालिका, किशोरकिशोरीदेखि युवासम्मको भविष्य अन्धकारमा जान थालेको अवस्थामा प्रशासनले प्रतिरोधात्मक र नियन्त्रणात्मक प्रयासलाई प्राथमिकता दिइरहेको छ।

प्रजिअ ढकालले लागूऔषध नियन्त्रणमा सरकार तथा गैरसरकारी निकायसँगै सबै अभिभावकहरू पनि सन्तानप्रति २४ सै घण्टा निगरानी राखी उनीहरूलाई सही मार्गमा राख्न सचेत हुनुपर्नेमा जोड दिए।

अन्तिम अध्यावधिक: ५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस