लालझाडी गाउँसभा अधिवेशनद्वारा नीति तथा कार्यक्रम सर्वसम्मत पारित

होमपेज / समाचार /
विकासका आधार स्तम्भहरूलाई प्राथमिकता
  • रेडियो सुदूर सञ्चार
  • ६ असार २०८२ (४ घण्टा अघि)
  • ५४

लालझाडी, कञ्चनपुर -

लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विस्तृत नीति तथा कार्यक्रमलाई सर्वसम्मत रूपले पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले विपद् न्यूनीकरण, सामाजिक तथा पूर्वाधार विकास, वित्तीय अनुशासन, सार्वजनिक सेवा प्रवाह, सूचना प्रविधि र सुशासनका विविध पक्षलाई गम्भीरताका साथ छलफल गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो ।

अधिवेशनमा गाउँपालिकाले विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छ । बाढी, डुबान, हावाहुरी, आगलागी जस्ता विपत्तिबाट उत्पन्न हुने जोखिमलाई घटाउन विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिने निर्णय भएको छ।

साथै, गाउँभित्र जंगली तथा छाडा पशुपक्षीका कारण खेतीपाती तथा जनजीवनमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न मेसवायर (मेश फेन्सिंग) जडान गरिने भएको छ ।

त्यसैगरी, उच्च जोखिम क्षेत्रहरूको वैज्ञानिक पहिचान गरी सुरक्षित स्थानमा बासिन्दाहरूको पुनर्बास तथा दमकल सेवाको स्थापना र संचालनका लागि योजना अघि बढाइएको छ । 

विपद् स्वयंसेवकहरूको क्षमता अभिवृद्धि, नियमित अभिमुखीकरण र अभ्यासमार्फत सामुदायिक तहसम्म विपद्को तयारी र प्रतिकार्यलाई अझ बलियो बनाउने नीति पनि पारित गरिएको छ ।

संस्थागत विकास र सार्वजनिक सेवाको सुधारका लागि गाउँपालिकाले हेल्प डेस्क, गुनासो पेटिका, सार्वजनिक सुनुवाइ र नागरिक सहभागिता कार्यक्रमलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । 

स्थानीय श्रमिकलाई संगठित गर्ने, श्रमिक परिचालन कार्यक्रमलाई प्रभावकारी बनाउने तथा बेरोजगार युवाहरूलाई व्यावसायिक तथा सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने योजना अघि सारेको छ।

विदेशमा श्रमिक पठाउँदा सुरक्षित आप्रवासनलाई सुनिश्चित गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याउने नीति पनि अवलम्बन गरिनेछ ।

पूर्वाधार विकासलाई पनि विशेष प्राथमिकता दिइएको छ । बैठकले गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडकको स्तरोन्नति, पुलपुलेसा निर्माण, प्रशासनिक भवन निर्माण, सौर्य ऊर्जा आधारित सिँचाइ प्रविधिको विस्तार, तटबन्ध मर्मत तथा पुनर्निर्माणलगायत योजनाहरू पारित गरेको छ ।

त्यस्तै, पर्यावरणीय सन्तुलन कायम राख्न र भविष्यका सन्तति सुरक्षित बनाउन व्यापक वृक्षारोपण तथा संरक्षण कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

स्वास्थ्य क्षेत्रलाई सुधार र सुदृढ गर्न आधारभूत स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सुत्केरी सेवा तथा खोप कार्यक्रमलाई अझ व्यवस्थित बनाउने निर्णय भएको छ । 

वृद्धवृद्धा, सुत्केरी तथा अन्य विपन्न वर्गका नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ भने स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गरिने नीति पारित भएको छ ।

वित्तीय अनुशासन र सुशासनलाई सुदृढ गर्न सार्वजनिक खर्चलाई पारदर्शी र मितव्ययी राख्ने तथा कर संकलन प्रणालीलाई चुस्तदुरुस्त बनाइने भएको छ ।

स्मार्ट प्रविधिको प्रयोग बढाएर सेवाहरूलाई सहज र छरितो बनाउने, स्मार्ट गाउँपालिका, स्मार्ट जनप्रतिनिधि र स्मार्ट कर्मचारी कार्यक्रम कार्यान्वयन गर्ने नीति पारित भएको छ । 

त्यस्तै, नागरिक सन्तुष्टि सर्वेक्षण, गुनासो व्यवस्थापन र सार्वजनिक सुनुवाइलाई निरन्तर सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ ।

सञ्चार प्रविधि क्षेत्रमा ई-गभर्नेन्सलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै सामाजिक सञ्जाल तथा गाउँपालिकाको वेबसाइटमार्फत गाउँसभा तथा अन्य जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाइने भएको छ ।

गाउँपालिकाका मुख्य सार्वजनिक स्थलहरूमा सिसिटिभी क्यामेरा तथा ई-हाजिरी प्रणाली जडान गरी प्रविधिमैत्री वातावरण सृजना गर्ने नीति पनि पारित गरिएको छ ।

गाउँसभाले सुरक्षा व्यवस्थालाई अझ सुदृढ पार्न वडा नं. ६ स्थित चान्देव बजार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, अन्य संवेदनशील क्षेत्रहरूमा प्रहरी तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरी आपराधिक गतिविधिहरू नियन्त्रण गर्न रणनीति तय गरिएको छ ।

गाउँसभा अधिवेशनको समापनका क्रममा सभाध्यक्ष रानाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज र गाउँबासीहरूको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताउनुभयो । 

पालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गाउँसभा सञ्चालन ऐन अनुसार नयाँ अभ्यास र मापदण्ड अपनाएर सभाको सञ्चालन गरिएको जानकारी दिँदै, अर्को बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको बताउनुभयो ।

अन्तिम अध्यावधिक: ६ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस