चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर —
राजधानीमा जारी कञ्चनपुरका आरक्ष पीडितहरूको भोक हड्ताल आन्दोलनले १०औं दिन पारगर्दा समेत सरकारले ठोस चासो नदेखाएको भन्दै आरक्ष पीडितहरूले असन्तुष्टि जनाएका छन्।
यसैबीच, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा सामाजिक न्यायका पक्षधर शिरोमणी कुमार ओझाको पहलमा आन्दोलनरत टोलिले सरकारका दुई मन्त्रीहरूसंग भेट गरेको छ। भेटमा उक्त टाेलिले तत्काल समस्या समाधानको माग गरेको छ।
ओझाको नेतृत्वमा रहेको पीडित टाेलिले शुक्रबार कञ्चनपुर क्षेत्रनम्बर २ बाट निर्वाचित परराष्ट्रमन्त्री एनपी साउद र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसंग छुट्टाछुट्टै भेट गरी विस्थापित परिवारको तत्काल पुनर्स्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने माग राखेको हो।
परराष्ट्रमन्त्री साउदको प्रतिक्रिया: "विषय गम्भीर छ, सरकारबाट पहल हुनेछ"
शिरोमणी ओझाले परराष्ट्रमन्त्री साउदलाई भेट्दै भने, “कञ्चनपुरकाे ढक्का, पिपलाडी, तारापुर, भत्पुरी, लगायतका स्थानबाट ०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे नाममा विस्थापित गरिएका २४ यस ७३ परिवार यतिबेला भोक हड्तालमा छन् । यो केवल भूमिको कुरा होइन, अस्तित्व र मानव अधिकारको सवाल हो ।”
जवाफमा मन्त्री साउदले आफूले उक्त विषयबारे जानकारी राखेको बताउँदै मन्त्रिपरिषद् र सरोकारवाला निकायहरूसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विषय पुरानै हो, म पहलमा छु तर पेचिलो छ । सरकारले यसमा चासो लिएको छ र समाधानको खाका तयार पार्ने प्रयास भइरहेको छ ।”
साउदले भने, “सरकार जनताको पक्षमा हो । मैले व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा उठाउनेछु । तपाईहरूले उठाएको कुरा न्यायोचित छ, यसमा राज्यको संवेदनशीलता आवश्यक छ ।”
वनमन्त्री शाही: "समस्या समाधान गर्न गम्भीर छलफलको खाँचो छ"
यस्तै, वनमन्त्री तथा वातावरण ऐनबहादुर शाही ठकुरीसंगको भेटमा पनि प्रतिनिधिमण्डलले विगतमा राज्यद्वारा प्रयोग भएको बल र विस्थापनको घटनालाई स्मरण गराउँदै अब ढिलाइ गरिनु हुदैन भन्ने कुरामा जोड दिएका छन्।
मन्त्री शाहीले भने, “आरक्ष ऐन, निकुञ्ज संरचना र कानुनी प्रक्रियाबीच मानव अधिकार र सामाजिक न्यायलाई समेटेर समाधान खोज्नुपर्छ । मन्त्रालय स्तरमा यसबारे चाँडै बैठक बस्नेछ । तपाईंहरूको आवाजलाई म मन्त्रालय र मन्त्रिपरिषद्मा उठाउने छु ।”
दबाब बढाउँदै आन्दोलन, सरकारलाई अन्तिम चेतावनी
भेटपछि युवा नेता ओझाले पत्रकारहरूसंग कुरा गर्दै भने, “सरकारले अझै पनि मौनता साध्ने हो भने हामी चुप लाग्नेवाला छैनौं । यो न्यायको आन्दोलन हो । अबको सन्देश स्पष्ट छ — पुनर्स्थापना नहुँदासम्म संघर्ष जारी रहनेछ ।”
दश दिनदेखि राजधानीमै बसोबास र मानव अधिकारको माग गर्दै भोक हड्तालमा रहेका आरक्ष पीडितहरू अझै पनि खुला आकाशमुनि छन्।
अब भने आन्दोलन चर्किंदै गएको छ। कञ्चनपुर आरक्ष पीडित संघर्ष समितिका अध्यक्षले भने, “हामीलाई राजनीतिक आश्वासन होइन, व्यवहारिक पुनर्स्थापनाको नतिजा चाहिएको हो, सरकारले चाँडै निर्णय गरोस् ।”