चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर —
सुदूरपश्चिम प्रदेशको सीमावर्ती नगर बेलौरीले स्थानीय शासनको गतिशीलता र जनताको अपेक्षालाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सहितको बजेट सर्वसम्मत पारित गरेको छ।
समावेशी सहभागिता, स्थानीय आवश्यकता र दिगो विकासको सोचसहित तयार पारिएको नीति तथा कार्यक्रमलाई आइतबार सम्पन्न नगरसभाको १५औं अधिवेशनले सर्वसम्मत रूपमै पारित गरेको नगर प्रवक्ता हर्कबहादुर भुलले बताए।
बेलाैरी नगरप्रमुख पोतीलाल चौधरीको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण, महिला सशक्तिकरण, विपद् व्यवस्थापन, सुशासन, डिजिटल प्रशासन र सामाजिक समावेशीतालाई विशेष प्राथमिकतामा राखिएको छ।
नगरप्रमुख चौधरीले भने, “बेलौरी नगरपालिकाको समृद्धि भनेको यहाँका नागरिकको समृद्ध जीवन हो। यसका लागि पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकास हाम्रो मूल मन्त्र हुनेछ। हामी निरन्तर विकासको गति बढाउँदै लगिरहेका छौं, त्यो गति जनतासँग जोडिएको,जनउत्तरदायी र दिगो हुनेछ।”
बेलौरी नगरपालिका उपप्रमुख जाेगराम चाैधरीले प्रस्तुत गरेको बजेट अनुसार आगामी वर्षको कूल बजेट ७६ करोड ६२ लाख ८० हजार रुपैयाँ रहेको छ। भने चालू खर्च तर्फ ४७ कराेड ७९ लाख ८० हजार र पूँजीगत तर्फ २८ कराेड ८३ लाख रहेको जनाइएको छ।
यस्तै, नगर उपप्रमख चौधरीले बजेट प्रस्तुतीका क्रममा स्थानीय तहका वडास्तरीय योजनाहरूलाई आत्मसात् गर्दै १० वटै वडामा योजनाविहीनता नहोस् भन्ने उद्देश्यले ३ करोड १४ लाख रुपैयाँको छुट्टै विनियोजन गरिएको जनाए।
वडास्तरीय योजनाहरूमा बाढी नियन्त्रण, साना पूर्वाधार, खानेपानी, कृषिमा नवप्रविधि, तालिम तथा स्वरोजगार, विद्यालय स्तरोन्नति, अपांगता तथा विकास लक्षित कार्यक्रमहरू समावेश गरिनेछन्।
वडागत बजेट विवरण (आर्थिक वर्ष २०८२/८३)
बेलाैरी नगरपालिका वडा नं. १ मा - २४ लाख, वडा नं. २ - ३४ लाख, वडा नं. ३ - २५ लाख, वडा नं. ४ - ३५ लाख, वडा नं. ५ - ३३ लाख, वडा नं. ६ - ३२ लाख, वडा नं. ७ - २८ लाख, वडा नं. ८ - ३६ लाख, वडा नं. ९ - ३३ लाख र वडा नं. १० मा - ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगर उपप्रमुख जाेगराम चौधरीले थपे, “वडामा छुट्ट्याइएको बजेटअनुसार योजनाहरू लागू गर्दा जनप्रतिनिधिको भूमिका अझ बढी सक्रिय हुनेछ। स्थानीयको सहभागिता सुनिश्चित गर्दै जनगुनासोलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिनेछ।”
यस वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत 'समृद्ध बेलौरी, स्वावलम्बी नागरिक' भन्ने मूल नारासहित स्थानीय जनताको आत्मसम्मान, आर्थिक उन्नति र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने दूरदृष्टिको आधार तय गरेको देखिन्छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले बालमैत्री नगर, अपांगता समावेशी सेवा, वातावरणीय न्याय, डिजिटल सूचना प्रणालीको विस्तार, कृषि आधुनिकीकरण, सहरी सुशासन, महिला र युवामुखी रोजगार कार्यक्रम, विपद् पूर्वतयारी तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष जोड दिएको छ।
सर्वसम्मत पारित यो नीति तथा कार्यक्रमप्रति नगरसभा सदस्य, वडाध्यक्ष, कर्मचारी, पत्रकार, नागरिक समाज, अपांगता महासंघ, युवा समिति लगायतका सरोकारवाला निकायहरूले समर्थन गरेका छन्। उनीहरूको साझा भनाइ थियो — "यो नीति तथा कार्यक्रम कागजमा मात्र सीमित नरहोस्, कार्यान्वयनमै असरदार बनोस्।"
नीति तथा कार्यक्रम बारे बेलाैरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकालले भने, बजेट नीति तथा कार्यक्रम नगरकाे दिगो विकास र समृद्धि संग जाेडिएकाे छ "यसपटक वडागत बजेटले पनि वडाका प्राथमिक योजना कार्यान्वयन हुनेमा विश्वस्तछौं।"
यसैबीच, प्रमुख प्रशासकीय अधिकृतले बजेट कार्यान्वयनका लागि स्पष्ट मार्गदर्शन तथा योजना कार्यान्वयनको अनुगमन प्रणाली बनाइएको जानकारी गराउँदै योजना र बजेटमा उल्लेखित कार्यक्रमहरू समयमै कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
नगरप्रमुख चौधरीले अन्त्यमा सबैलाई धन्यवाद दिँदै भने, “बजेट पारित गर्नु मात्र पर्याप्त होइन, अबको चुनौती भनेको त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। जनताको विश्वास, कर्मचारीको प्रतिबद्धता र जनप्रतिनिधिको लगावका कारण हामीले नीति तथा कार्यक्रम जीवन्त रूपमा कार्यान्वयन गर्न सक्नेछौं।”
यसरी नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएपछि बेलौरी नगरपालिकाले योजनाबद्ध विकासमा पाइला चालेको छ। अब त्यसलाई सफल बनाउने जिम्मेवारी भने नगर कार्यपालिकादेखि वडा स्तरसम्मका जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको साझा हो भन्ने बुझ्न जरुरी छ।