कञ्चनपुरका सबै पालिकाको बजेट सार्वजनिक

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ असार २०८२ (१ दिन अघि)
  • १४५

कञ्चनपुर -

कञ्चनपुर जिल्लाका सबै नौ वटा स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । समग्र बजेट आकार ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन जिल्लाको विकास दिशातर्फको गम्भीर प्रतिबद्धता मानिएको छ ।

बजेट विवरण हेर्दा सबैभन्दा धेरै बजेट भीमदत्त नगरपालिकाको छ, जसले १ अर्ब ९३ करोड रुपैयाँ पारित गरेको छ। त्यसपछि क्रमशः कृष्णपुरले १ अर्ब १ करोड, वेदकोटले ९८ करोड ६५ लाख, शुक्लाफाँटाले ९२ करोड, पुनर्वासले ७५ करोड ७७ लाख, बेलौरीले ७६ करोड ६२ लाख ८० हजार, दोधारा चाँदनीले ७६ करोड, बेलडाँडीले ५४ करोड ५० लाख र लालझाडीले ४३ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट पारित गरेका छन् ।

पारित नीति तथा कार्यक्रमहरूले विगतका वर्षहरूमै जस्तै स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको देखिन्छ । प्राथमिक स्वास्थ्य सेवा, आधारभूत शिक्षा सुधार, सिँचाइ र उत्पादनमा आधारित कृषि प्रणालीलाई सशक्त बनाउन विशेष जोड दिइएको छ ।

केही पालिकाहरूले दीर्घकालीन पूर्वाधार निर्माण, सडक स्तरोन्नति, खानेपानी, सौर्य ऊर्जा विस्तार, विपद् व्यवस्थापन, उद्यमशिलता प्रवद्र्धनजस्ता कार्यक्रमलाई पनि समेटेका छन् । डिजिटल सेवा विस्तार र प्रशासनिक दक्षता अभिवृद्धिमा समेत ध्यान केन्द्रित गरिएको छ ।

बजेटको आकारमा वृद्धि हुनु सकारात्मक संकेत भए पनि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको योजनाको प्रभावकारी कार्यान्वयन हो । पारदर्शिता, सहभागिता र जवाफदेहिता सुनिश्चित गर्दै जनताले प्रत्यक्ष अनुभव गर्ने खालका सेवामूलक काममा स्थानीय सरकारहरूको ध्यान जानु आवश्यक छ ।

७ अर्बभन्दा बढीको कुल बजेट र साझा विकास लक्ष्यले अब कञ्चनपुरमा समावेशी र दिगो विकासको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारहरूको सहकार्य, प्राविधिक दक्षता र जनसम्पर्क अझ सुदृढ भयो भने कञ्चनपुरले प्रदेशमै उत्कृष्ट उदाहरण कायम गर्न सक्ने देखिन्छ ।

अन्तिम अध्यावधिक: ११ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस