बेलाैरीमा २२औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइयो, धान राेपेर जनप्रतिनिधिको ऐक्यबद्धता

होमपेज / समाचार /
कृषि आधुनिकीकरण र व्यवसायीकरणमा जाेड : मेयर चाैधरी
  • रेडियो सुदूर सञ्चार
  • १५ असार २०८२ (१८ घण्टा अघि)
  • १४४

दिनेश चाैधरी/ बेलौरी, कञ्चनपुर –

‘धानवालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ देशभर मनाइएको २२औं राष्ट्रिय धान दिवस आइतबार कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि भव्य रूपमा सम्पन्न गरेको छ।

बेलौरी–५ मैनाहामा आयोजित कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष देखि स्थानीय कृषकहरूको उल्लेख्य सहभागीता रहेको थियो।

“औपचारिक कार्यक्रम पश्चात् सहभागीहरुले खेतमा धान राेप्दै २२औं राष्ट्रिय धान दिवसलाई कृषिमा व्यवहारिक सहभागिताको नमूना प्रस्तुत गरेका थिए कृषि प्राविधिक हरिश सेटीले भने,–“कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।”

कार्यक्रमको शुभारम्भमा कृषि प्राविधिक सुशीला बोहराले स्वागत मन्तव्य दिँदै धान दिवसको महत्त्व, उद्देश्य र स्थानीय सरकारको सहकार्यमा आधारित कृषिप्रतिको सक्रियताको आवश्यकता औंल्याइन्।

कृषि विकास शाखा प्रमुख सुमनराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोतीलाल चौधरी प्रमुख आतिथ्यता रहेको थियोे ।

भने, उपप्रमुख जोगराम चौधरी विशिष्ट, प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरी विशेष अतिथि तथा नगरका वडाध्यक्ष, कृषक समूहका प्रतिनिधि एवम् स्थानीय सराेकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भने, “धान हाम्रो अस्तित्व र पहिचान हो। कृषिमा आत्मनिर्भर नहुँदासम्म समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्न। बेलौरी नगरपालिकाले कृषकलाई मल, बीउ, प्रविधि, तालिम, सिँचाइ र बजारको पहुँच उपलब्ध गराउँदै कृषिमा आधुनिकीकरण र व्यवसायीकरणको दिशामा काम गरिरहेको छ।”हामीले हरेक वर्ष कृषिका लागि सुदूरपश्चिममै सबैभन्दा बढी बजेट विनियोजन गर्दै राम्रो उपलब्धि समेत हासिल गरेका छाैं।"

उनलेे थपे - “हामीले कृषिमा राम्रो काम गरेकाले कृषि विकास शाखा प्रमुख सुमन राज जाेशी सुदूरपश्चिम प्रदेश सरकारबाट सम्मानित समेत भएका थिए।

नगर उपप्रमुख जोगराम चौधरीले कृषकको श्रमलाई सम्मान गर्दै भने, “स्थानीय सरकारले कृषकसँग सहकार्य गर्दै समस्या पहिचान र समाधानमा प्रतिबद्धता जनाइसकेको छ। युवालाई कृषि तर्फ आकर्षण गराउने वातावरण बनाउन हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौं।”

प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले भने, “बेलौरी नगरपालिकाले कृषिमा बजेट, नीति, अनुदान तथा तालिममार्फत सेवा प्रवाह गर्दै आएको छ। कृषि उत्पादनमा विविधिकरण र प्रविधिकरण आवश्यक छ र त्यसका लागि स्थानीय सरकार पूर्ण रूपमा तयार छ।”

वडाध्यक्षहरूको तर्फबाट बोल्दै बेलौरी नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले, “हाम्रो गाउँशहर अझै पनि कृषिमा निर्भर छ। स्थानीय सरकार, प्राविधिक र कृषकको सहकार्यले मात्रै हामीले खाद्य आत्मनिर्भरता हासिल गर्न सक्छौं। यो दिवसले हामीलाई कृषकको योगदानप्रति सम्मान प्रकट गर्न र उनीहरूलाई प्रविधिमा जोड्न उत्प्रेरणा दिएको छ।”उनले वडास्तरमै कृषि अनुदान तथा तालिम कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए।

सभापति जोशीले भने, “धान दिवस केवल उत्सव होइन, कृषकको योगदानप्रतिको सम्मान र कृषि विकासमा जनचेतनाको माध्यम हो। वैज्ञानिक विधि, समयमै सेवा र सहजीकरणमार्फत मात्र हामी खाद्य सुरक्षामा आत्मनिर्भर बन्न सक्छौं।”

बेलाैरी नगरप्रमुख चौधरीको नेतृत्वमा सम्पूर्ण अतिथि तथा सहभागी टोलीले मैनाहस्थित खेतमा धान रोपाइ गर्दै कृषकप्रति ऐक्यबद्धता प्रदर्शन गरेका थिए। खेतको हिलोमा हात हाल्दै जनप्रतिनिधि, कर्मचारी र प्राविधिकहरूले कृषिमा सरकारको संलग्नतालाई व्यवहारमा देखाएका हुन्।कार्यक्रममा विभिन्न वडाबाट आएका कृषकहरूबीच अनुभव आदानप्रदान समेत गरिएको आयाेजकले जनाएको छ।

समयमै मल, बीउ र तालिम पाएपछि उत्पादनमा सुधार आएको सहभागी कृषकहरूले बताएका छन् । तर, सिँचाइ, भण्डारण र बजारको समस्या अझै समाधान हुन बाँकी रहेको उनीहरूकाे भनाइ छ।

कार्यक्रमको अन्त्यमा नगरप्रमुख चौधरीले सहभागी सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दै भने, “स्थानीय सरकार, कृषक र प्रविधिबीचको समन्वयबाट मात्रै दिगो कृषि र खाद्य आत्मनिर्भरता सम्भव हुन्छ। धान दिवसले हामीलाई त्यही प्रेरणा दिन्छ।”

बेलौरी नगरपालिकाले यस वर्षको धान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक सहभागिता मार्फत कृषिप्रतिको सम्मान र प्रतिबद्धता दुवै प्रस्तुत गर्दै कृषि विकासको दिशामा नवीन सन्देश दिएको देखिन्छ।

अन्तिम अध्यावधिक: १५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस