चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
गएराति देखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेलौरी लगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
खोलानालामा पानीको बहाव बढेपछि बेलाैरी, बेलडाँडी लालझाडी र पुनर्वासका केही हाेचा भू–भागमा पानी जमेर स्थानीयहरूको जनजीवन प्रभावित बनेकाे हाे।
सडकमा हिलो र पानी जम्दा आवागमन कष्टकर भएको छ भने बस्तीमा पानी पसेपछि सर्वसाधारण सतर्क हुन थालेका छन्।
बेलौरी विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेका अनुसार गएको २४ घण्टामा बेलौरी क्षेत्रमा मात्रै २६७ मिलिमिटर वर्षा मापन गरिएको छ भने धनगढी एयरपोर्ट क्षेत्र वरिपरि २०२.२ मिलिमिटर वर्षा भएको छ। “यो मात्रा अति भारी वर्षाको सूचक हो,” पाण्डेले बताए। उनका अनुसार हालसम्म ठूलो क्षति नभए पनि निरन्तरको वर्षाले होचा भू–भागहरूमा पानी थुप्रिँदै गएकाले जनजीवनमा असहजता देखिन थालेको छ।
पाण्डेले वरपरका बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। “भविष्यमा बहाव अझ बढ्न सक्ने सम्भावना भएकाले सतर्कता आवश्यक छ। नगर विपद् व्यवस्थापन समिति तयारी अवस्थामा छ,” उनले थपे।
बेलौरी नगरपालिकाका विभिन्न वडाहरूमा स्थानीय निकाय, सुरक्षाकर्मी र स्वयंसेवक समूहहरूमार्फत अनुगमन तथा आवश्यक तयारीहरू भइरहेका छन्। कार्यालय, विद्यालय र पसलहरू सामान्य खुलेका भए पनि वर्षाका कारण सर्वसाधारणको गतिविधि निकै कम देखिएको थियो।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम क्षेत्रमा आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, डुबान तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनका सबै संयन्त्रहरू तयारी अवस्थामा राखेको जनाएको छ भने नगरवासीलाई अनावश्यक रूपमा खोलानालाको छेउमा नजान र सुरक्षित रहन समेत अपिल गरेको छ।