शिरोमणि कुमार ओझा सुदूरपश्चिम प्रदेशकाे कार्यबाहक प्रमुखमा मनोनित

होमपेज / विविध / समाचार /
विश्व हिन्दु महासंघ नेपालको निर्णय
  • रेडियो सुदूर सञ्चार
  • १८ असार २०८२ (२१ घण्टा अघि)
  • ४१०

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर –

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने उद्देश्यसहित शिरोमणि कुमार ओझालाई सुदूरपश्चिम प्रदेशको कार्यबाहक प्रदेश प्रमुख पदमा मनोनयन गरेको छ।

महासंघको केन्द्रीय कार्यालयद्वारा मिति २०८२ साल असार ८ गते जारी गरिएको पत्रमा उल्लेख गरिएअनुसार ओझा यसअघि केन्द्रीय सहसचिवको जिम्मेवारीमा कार्यरत थिए। 

महासंघले उनलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ वटा जिल्लाहरुमा संगठन विस्तार, पुनर्गठन तथा विविध धार्मिक गतिविधिहरू सञ्चालन गर्ने विशेष जिम्मेवारी दिएको हो।

पत्रमा भनिएको छ, “यथासक्य छिटो संस्थाबाट गएका आजीवन सदस्यका ठेली, मोगा तथा मिति २०७९ साल चैत २१ र २२ गते बुटवलमा सम्पन्न महासंघको आठौं महाधिवेशनको निर्णयअनुसार केन्द्रिय पदाधिकारी र सदस्यहरूले तिर्नुपर्ने वार्षिक सेवा शुल्कसहित विवरण एक महिनाभित्र केन्द्रीय कार्यालयमा पठाउने जिम्मेवारी पनि उहाँलाई दिइएको छ।”

महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले हस्ताक्षरित पत्रमा ओझालाई संगठनको विधानअनुसार कार्य सम्पादन गर्दै धार्मिक गोष्ठी, जिल्ला सम्मेलन, धर्म सभा तथा प्रदेश र जिल्लास्तरीय संरचना विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। 

विशेषतः एक वर्षभित्र सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा महासंघको संगठनात्मक सुदृढीकरण गर्नुपर्ने लक्ष्यसहित यो जिम्मेवारी प्रदान गरिएको छ।

यस निर्णयसँगै विश्व हिन्दु महासंघले देशव्यापी रुपमा आफ्नो संगठनलाई बलियो बनाउँदै लैजाने संकेत दिएको छ। 

जिम्मेवारीपछि प्रतिक्रिया दिँदै ओझाले रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा भने, “यो जिम्मेवारी गौरवको मात्र नभई संगठनप्रतिको समर्पणको प्रमाण पनि हो। म संगठन विस्तारमा सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

विश्व हिन्दु महासंघ नेपालले पछिल्लो समय देशभर धार्मिक चेतना अभिवृद्धि, सनातन धर्मको संरक्षण तथा युवापुस्तालाई धार्मिक शिक्षामा जोड्ने कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ।

अन्तिम अध्यावधिक: १८ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस