नेकपा माओवादी केन्द्र बेलौरीको दोस्रो नगर सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चाैधरी

होमपेज / राजनीति / समाचार /
लालबहादुर चाैधरीकाे अध्यक्षतामा ४१ सदस्यीय समिति सर्वसम्मत चयन
  • चन्द्रिका चौधरी
  • २८ असार २०८२ (२२ घण्टा अघि)
  • ५८०

चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर समितिको दोस्रो नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ। बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित सम्मेलनले पुनः लाल बहादुर चौधरीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा रामप्रकाश बडायक र शारदा चौधरी, सचिवमा सुन्दर चौधरी, सहसचिवमा राजुबहादुर कुँवर र कोषाध्यक्षमा झकबहादुर शिरिसमगर चयन भएका छन्। बाँकी सदस्यहरू विभिन्न वर्ग, समुदाय र भूगोललाई प्रतिनिधित्व हुने गरी समावेश गरिएको निर्वाचन मण्डलका प्रतिनिधि सिपी पाेखरेलले जनाए ।

नगर अध्यक्षमा पुनः चयन भएका लाल बहादुर चौधरीले दोस्रो कार्यकालमा संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। "भ्रष्टाचार, बेथिति र दलाली प्रवृत्तिविरुद्ध सशक्त रूपमा उभिन संगठन तयार हुनेछ," अध्यक्ष चौधरीले भने।

सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्टले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै भट्टले माओवादी आन्दोलनलाई नयाँ पुस्तासँग जोड्दै जनताका पक्षमा अझ क्रियाशील हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा केन्द्रीय सदस्य दिपा चौधरीले पार्टीभित्रको एकता, महिलाको भूमिका र संगठनको राजनीतिक दिशा स्पष्ट हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, "महिलालाई नेतृत्वमा सहभागिता सुनिश्चित नगरी क्रान्तिको लक्ष्य पूरा हुन सक्दैन। पार्टी अब वर्गीय संघर्षसँगै लैंगिक समानताको यात्रामा पनि अगाडि बढ्नुपर्छ।"

सुदूरपश्चिम प्रदेश सदस्य अमरसिंह चौधरीले स्थानीय संगठनलाई जनप्रतिनिधि र जनताको बीचको सेतुका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले स्पष्ट पारे, "संगठनको आधार स्थानीय तह हो। यहीँबाट परिवर्तनको बीउ छरिन्छ। त्यसैले संगठन बलियो र जनउत्तरदायी हुनु जरुरी छ।"

त्यस्तै, प्रदेश सदस्य पोतीलाल चौधरीले जनतासँगको सम्बन्ध अझ सशक्त बनाउँदै पार्टीको कार्यशैलीलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिए। उनले भने, "अनुमति दिनुहुन्छ भने म नाम प्रस्ताव गर्छु, सहमतिमा समिति चयन गर्नुपर्छ र व्यवहारमा परिवर्तन ल्याउने काममा लाग्नुपर्छ। जनताको समस्या सुन्ने र समाधानमा अगाडि बढ्ने पार्टी हाे हाम्रो ।"

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अन्य सदस्य मदनसेन बडायक, जिल्ला अध्यक्ष खेमराज पण्डे, सचिव सहवीर सुनार, हर्कबहादुर भुल, मनोहर राना, कैलाश सिंह विष्ट, राजेश भट्ट, सोमलाल चौधरीलगायतका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

नगर सम्मेलनमा भ्रष्ट्राचारविरुद्धको अभियान, सुशासनको प्रवर्द्धन, संगठन सुदृढीकरण, जनप्रतिनिधिसँगको समन्वय, तथा नीति र कार्यक्रम निर्माणमा जनसहभागिताका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी नेताहरूले स्थानीय सरकारसँग जनता जोड्ने अभियानमा माओवादी केन्द्रले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए। सम्मेलनमा ‘संसारका मजदुर एक होऔं’, ‘मार्क्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद’, ‘भ्रष्टाचार र बेथिति विरुद्ध हाम्रो अभियान’ जस्ता नाराहरू समावेश गरिएका छन्।

नगर सम्मेलनले माओवादी आन्दोलनलाई स्थानीय तहमा पुनः सक्रिय बनाउने, संगठनलाई विस्तार गर्ने, र जनताको भरोसा जित्ने रणनीति अघि सारेको आयोजकले जनाएको छ। 

भने कार्यक्रममा उपस्थित महानुभावहरुले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै युद्धस्तरमा काम गर्न अपिल गरेका छन् । 

शुक्रबार राति अबेरसम्म चलेको सम्मेलनकाे सञ्चालन माओवादी नगर सचिव सुन्दर चाैधरीले गरेका थिए।

अन्तिम अध्यावधिक: २८ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस