बेलौरी : अपाङ्गता भएका व्यक्तिहरुका लागि अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

होमपेज / विविध / समाचार /
अधिकार सुनिश्चित गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य : संयोजक राेकाया
  • रेडियो सुदूर सञ्चार
  • २ साउन २०८२ (१ दिन अघि)
  • २४९

निरु चाैधरी / बेलौरी, कञ्चनपुर —

बेलाैरीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि अधिकार सम्बन्धी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार एल.डब्ल्यू.एफ. (LWF) को आर्थिक सहयोगमा निड्स नेपालले सञ्चालनगर्दै आएको समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।

अपाङ्गता भएकाहरुकाे अधिकार सुनिश्चित गर्न तथा जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले बेलौरीमा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको एल.डब्ल्यू.एफ बेलाैरी कार्यक्रम संयोजक कविता राेकायाले बताइन् ।

संयोजक राेकायाले भनिन् -  “बेलौरी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निड्स नेपालकी अध्यक्ष दुर्गा देवी खरेलको अध्यक्षता तथा बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बिमला बजगाईंको प्रमुख आतिथ्यता रहेको थियो। ”

कार्यक्रममा अपाङ्गता अधिकार विशेषज्ञ तथा प्रशिक्षक नन्दराज भट्टले नेपालको संविधान, कानून र सरकारी नीतिहरूमा उल्लेख गरिएका अपांगता भएका व्यक्तिहरूका अधिकार र सेवा–सुविधाबारे विस्तृत जानकारी दिएका थिए।

उनले अपांगता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्न स्थानीय सरकार, समुदाय र नागरिक समाजबीचको समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा बेलौरी नगरपालिका दशवटै वडाबाट प्रतिनिधित्व गर्दै अपांगता समन्वय समिति तथा अपांगता अधिकार मञ्चका गरी तीस जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो।

सहभागीहरूले कार्यक्रमका क्रममा आफ्ना जिज्ञासा, अनुभव र स्थानीय समस्याहरू प्रस्तुत गर्दै छलफलमा समावेश भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिमला बजगाईंले अपांगता भएका व्यक्तिहरूको समावेशी अधिकार सुनिश्चित गर्न नगरपालिका सदैव संवेदनशील रहेको बताइन्। “यस्ता अभिमुखीकरण कार्यक्रमले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अपांगता सम्बन्धी मुद्दालाई संस्थागत बनाउन सहयोग पुर्‍याउँछ,” उनले भनिन्।

निड्स नेपालकी अध्यक्ष खरेलले समुदायमै अधिकारप्रति चेतना फैलाउन यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।

सहभागीहरूले कार्यक्रम उपयोगी र ज्ञानवर्धक भएको भन्दै आगामी दिनमा पनि यस्ता अभ्यासात्मक तालिमहरू आयोजना गर्न सुझाव दिएका थिए।

 

अन्तिम अध्यावधिक: २ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस