ट्रेण्डिङ

मोबाइलको अत्यधिक प्रयोगले ल्याउन सक्छ खतरनाक अवस्था, के हो नोमोफोबिया ?

होमपेज / रोचक प्रसङ्ग / विविध /
  • रेडियो सुदूर सञ्चार
  • १८ साउन २०८२ (३ हप्ता अघि)
  • १५९

के मोबाइलबिनाको जिन्दगी कल्पना गर्न सक्नुहुन्छ ? यदि लामो समयसम्म मोबाइल चलाउन पाउनु भएन भने के हुन्छ ? केही गाह्रो अनुभव त हुँदैन ? यदि हुन्छ भने तपाईंलाई मोबाइल नहुँदा डर लाग्ने समस्या भएको हुन सक्छ । जसलाई नामोफोबिया भनिन्छ ।

के हो त नोमाफोबिया, यसका कारणहरु के के हुन् ? कसरी यसबाट बच्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

आजको आधुनिक संसारमा हाम्रो जीवनका सबै अवस्थाहरु मोबाइल फोनबाट प्रभावित बनेका छन् । चाहे त्यो आफ्नाहरुसँग जोडिने माध्यम होस्, प्रोफेसेनल गतिविधि वा बैंकिङ कारोबार नै किन नहोस् । फलस्वरुप जसले धेरै क्षेत्रहरुमा असर गर्छ । स्मार्टफोन, आइफोन जस्ता इलेक्ट्रोनिक डिभाइसहरुले मानिसको विभिन्न मनोवैज्ञानिक स्वास्थ्य र खुशी हुने प्राकृतिक प्रणालीलाई चुनौती खडा गरेका छन् । पछिल्लो विश्वमा विकसित भएको एउटा अवस्था हो ‘नोमोफोबिया’ अर्थात नो मोबाइल फोन फोबिया । जसको अर्थ हुन्छ मोबाइल नहुँदा लाग्ने डर ।

व्यक्तिले आफूले मोबाइल चलाउन नपाउँदा एक किसिमको गहिरो डर महसुस गर्ने परिस्थितिलाई नोमोफोबिया भनिन्छ ।

यो एउटा अवस्था हो जहाँ मानिसले मोबाइल फोनको दुनियाँ र विशेषगरी इन्टरनेटबाट टाढा रहँदा तीव्र डर महसुस गर्छ । डिजिटल निर्भरता र प्राकृतिसँगको दूरीका कारण मानिसहरु नोमोफोबियाको शिकार बनिरहेको अनुसन्धानमा देखिएको छ । दैनिक जीवनका हरेक कर्ममा मोबाइल अनिवार्य जस्तै बनेकाले पनि यस्तो अवस्थाको सिर्जना भएको विज्ञहरुको तर्क छ ।

जस्तै, आज बैंकिङ कारोबारदेखि डकुमेन्टेसन, अलनाइल एजुकेशन जस्ता महत्वपूर्ण पक्षहरु पनि मोबाइलमै सहज भएपछि मानिसहरु स्मार्टफोनमा अभ्यस्त बने जसले गर्दा प्राकृतिक परम्परागत शैलीहरु कम हुन गयो । जसले गर्दा नोमोफोबिया हुने चान्स बढाउँछ । त्यस्तै, मानिसहरुले आफ्नो पीडालाई भुलाउन पनि घण्टौंसम्म मोबाइलमा झुम्मिेन प्रवृत्तिले पनि नकारात्मक परिणाम निम्त्याउने गरेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । अझ चिन्ताजनक पक्ष त के भने यसले बालबालिकाहरु झनै धेरै शिकार भएका छन् ।

कसरी सुरु भयो नोमोफोबिया ?

सर्वप्रथम यो ‘नोमोफोबिया’ भन्ने शब्द सन् २००८ मा युकेको पोस्ट अफिसले मोबाइल धेरै चलाउँदा हुन सक्ने एन्जाइटी डिसअर्डरको मूल्यांकनका लागि गरेको अध्ययनमा प्रयोग गरिएको थियो ।

अब जानौं नोमाफोबियाका लक्षणहरु

नामोफोबिया व्यवहारगत अवस्था हो जहाँ मानिसहरुले अत्यधिक डर, चिन्ता, त्रास महसुस गर्छन्, त्यस्तै, निद्रामा गडबडी हुने, धेरै रिसाउने, मानसिक चिन्ता हुने, असहज लाग्ने तथा आफ्नो व्यक्तिगत र पेशागत जीवनमा नकारात्मक असर पर्छ । यी लक्षणहरु एन्जाइटीसँग मिल्ने खालका छन् । जसले गर्दा नोमोफोबिया यसरी नै मानिसहरुमा देखिँदै गएमा यसलाई एन्जाइटीकै नयाँ प्रकारको रुपमा विभाजन गरिने अवस्था आउन सक्छ भने यदि यसलाई व्यवस्थापन गरिएन भने अन्य खालका एन्जाइटी डिसअर्डरहरु जोडिन सक्छन् ।

नोमोफोबिया अहिलेको डिजिटल युगमा एउटा तीव्ररुपमा उजागार भइरहेको चासोका विषय हो । यसमा मानिसलाई एन्जाइटीमै हुने लक्षणहरु देखा पर्छन् । त्यसैले कतिपय विज्ञलाई यसलाई मानसिक समस्याको नयाँ प्रकार हो भनेर दाबी गरेका छन् । यद्यपि हालसम्म विश्व स्वास्थ्य संगठन र अमेरिकी साइकोलिजकल असोसिएसन एपीएले यसलाई मानसिक समस्या हो भनेर किटान भने गरेका छैनन् ।

अनुसन्धानले के भन्छन् ?

२०१५ मा भएको एउटा अनुसन्धान अनुसार यो भनेको आधुनिक फोयिबा हो जुन स्मार्ट फोन, व्यक्ति, सामाजिक सञ्जाल र सञ्चार प्रविधिहरुबाट उत्पन्न हुने अवस्था हो ।

२००५ र २०१३ मा भएका अध्ययनहरुले नोमोफोबिक लक्षणहरुबारे उल्लेख गरेका छन् । जसमा मानिसहरुले मोबाइल चलाउन नपाउँदा आफ्नो लो सेल्फ स्टीम हुने, कन्सन्ट्रेसन गर्ने क्षमतामा ह्रास आउने, समाजसँग घुलमिल हुन डर महसुस हुने, चिन्ता निम्त्याउने, चिढचिढापन, रिसाउने तथा अत्यन्तै चिन्ता गर्ने हुन्छ । कसैकसैलाई प्यानिक अट्याकसमेत हुन्छ ।

यद्यपि २०१४ मा भएको अर्को अध्ययनले ति लक्षणहरु केवल मोबाइल चलाउन नपाएर हुने नोमोफोबियाले गर्दा भएको हो वा पहिल्यै भइरहेको एन्जाइटीले भएको भन्नेबारे यकिन गर्न नसकिने दाबी गरेको छ । तर एन्जाइटी भएकै जस्तो लक्षण देखिने भएकाले नोमोबिक अवस्था पनि एन्जाइटीसँगै जोडिएरै पनि आउन सक्छ ।

यसको जोखि कसलाई जोखिम छ त ?

अब कुरा गरौं यसको जोखिम कहाँ ककसलाई छ त ? सन् २००८ मा युकेको पोस्ट अफिसले गरेको अध्ययनका अनुसार ५३ प्रतिशत बेलायतीहरु आफ्नो मोबाइल हराउँदा, मोबाइलको चार्ज सकिँदा र इन्टरनेट एक्सेस नहुँदा आतंकित वा निकै नै चिन्तित हुने गरेको पाइयो । त्यस्तै, ५८ प्रतिशत पुरुष र ४७ प्रतिशत महिलाहरु मोबाइल फोन एन्जाइटीबाट पीडित भएको पाइयो भने ९ प्रतिशतलाई मोबाइलबाट टाढा रहँदा अत्यन्तै तनाव भएको देखियो । २०१५ को अर्को अनुसन्धानका अनुसार ५५ प्रतिशत मानिसहरुले मोबाइलको कनेक्सन नहुँदा आफ्ना प्रीयहरुसँग सम्पर्क गर्न नपाएको र त्यसैले चिन्ता निम्त्याएको देखाएको छ ।

२०१३ को अध्ययनले ५४७ जना सहभागीमध्ये २३ प्रतिशत विद्यार्थीहरुमा नोमोफोबिक लक्षणहरु पाइएको थियो भने ६४ प्रतिशत चाहिँ नोमाफोबिया हुने जोखिममा थिए । अध्ययनका अनुसार ७७ प्रतिशत सहभागीहरुले दिनमा कम्तिमा पनि ३५ पटक मोबाइल चेक गर्ने गरेको पाइएको थियो । अब भन्नुस् तपाईं दिनमा कतिपटक मोबाइल चेक गर्नुहुन्छ ?

किशोरकिशोरीहरु नोमोफोबियाको बढी जोखिममा रहेको देखिएको छ । अर्को अध्ययनका अनुसार ७७ प्रतिशत योङ एडल्टहरुले मोबाइल नहुँदा चिन्ता भएको उल्लेख गरेका थिए । त्यस्तै, सन् २०१० मै भएको अध्ययनले ६१ प्रतिशत मानिसहरु बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने गरेको पाइएको थियो । अहिले यो प्रतिशत बढेको हुनसक्छ । तपाईं उठ्ने बित्तिकै मोबाइल चलाउनु हुन्छ कि हुन्न ?

अर्को तथ्य के छ भने जो एन्जाइटी र प्यानिक अट्याकको शिकार भएका छन् उनीहरुलाई नोमोफोबिया हुने चान्स बढी छ । ब्राजिलमा भएको एउटा अनुसन्धानले प्यानिक अट्याक भएका ४४ प्रतिशत सहभागीहरुले आफूसँग मोबाइल हुँदा सुरक्षित महसुस हुने बताएका थिए । जबकी ४६ प्रतिशत सामान्य मानिसहरुले भने त्यस्तो नहुने उल्लेख गरेका थिए । उक्त स्टडीले सबै सहभागीमध्ये ६८ प्रतिशतले मोबाइल डिपेन्डेन्सी भएको तथ्य उजागार गरेका थिए ।

२०२० र २०२३ मा भएका अध्ययनले विश्वव्यापीरुपमा ३ अर्बभन्दा बढी मानिसहरुले स्मार्टफोन प्रयोग गर्दा प्रब्लमेटिक साइनहरु देखाउने गरेको जनाएका छन् । युनिभर्सिटीका करिब ६० प्रतिशत विद्यार्थीहरुमा मोबाइल एडिक्सनको लक्षण देखिन्छ । लगभग ३ जनामध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा डिजीटल डिपेन्डेन्सीको बानीहरु देखिन्छ । करिब ४७ देखि ५० प्रतिशत वयस्करुलाई उनीहरुको सेल फोन वा इलेक्ट्रोनिक डिभाइसबाट टाढा रहँदा असहज र गाह्रो महसुस गर्छन् ।

के कारणले हुन्छ त नोमोफोबिया ?

यति थाहा पाएपछि हामीलाई थाहा भइसक्यो होला कि के कारणले नोमोफोबिया हुन्छ । सन् २०१२ मा साम्बारेलगायतले गरेको अध्ययनले सेल फोनलाई २१ औं शताब्दीको सम्भवतः नन ड्रग एडिक्सनको रुपमा रहेको उल्लेख गरेको छ । उक्त अध्ययनअनुसार कलेज स्टुडेन्टहरुले दिनको ९ घण्टासम्म मोबाइल चलाएको पाइयो जसले एडिक्सन निम्त्याउँछ ।
यस अवस्थालाई १९९८ मै मिक र फोर्निअरले ‘अ पाराडक्स अफ टेक्नोलोजी’ भनेका छन् । जसको अर्थ फ्रिङ फ्रम रिअल वर्ल्ड र एन्स्लेभिङ टु भर्चअल वर्ल्ड अर्थात वास्तविक दुनियाँबाट स्वतन्त्र तर भर्चअल दुनियाँको दासी भइरहेको अवस्था हो । यो साँच्चै सोचनीय विषय छैन त ?

नोमोफोबिया हुनुको स्पष्ट कारणको रुपमा मोबाइलको अत्यधिक प्रयोग हो । २०२३ मा देवी र सिंहले गरेको अध्ययनका अनुसार दिनमा ५ घण्टाभन्दा बढी स्क्रीन टाइम हुनु भनेको मानसिक समस्याको संकेत हुन सक्छ । २०१६ को स्टडीले यसो हुनुमा भने मोबाइलबाट प्राप्त हुने इन्स्ट्यान्ट कम्युनिकेशन र इन्स्ट्यान्ट ग्राटिफिकेसनले गर्दा हो । जसले गर्दा एडिक्टिभ र कम्पल्सिभ बिह्याभिएरहरु विकास हुनसक्छन् ।

अर्को कारणमा न्यूरोटिसिज्म पर्सानालिटी क्यारेक्टर हो । अर्थात यस्ता व्यक्तिहरु जीवनका हरेक अवस्थामा नकारत्मक रहन्छन् । जुन कुराले नोमोफोबियातर्फ उन्मुख गराउन सक्छ ।
अर्को कारणमा सामाजिकरुपमा मानिसहरु आफूसँग कोही नहुनु वा वातावरणीय कारणहरुले गर्दा पनि हुन्छन् । जस्तै, मोबाइल चलाउने समूह वा त्यस्तै किसिमको काम ।

नोमोफोबिया भए नभएकोबारे विभिन्न साइकोमेट्रिक स्केलहरुको प्रयोग तथा शरीर र मनमा देखिने लक्षणहरुबाट थाहा हुन्छ ।

अब के गर्ने त ?

आजको डिजिटल दुनियाँ अब हामी कसैको पनि जीवन मोबाइलबिना चलाउन गाह्रो हुने अवस्था आएको छ । यदि त्यसो हो भने अब कसरी नोमोफोबियाको अवस्थाबाट बच्ने त ? डब्लूएचओको गाइडलाइन्सलाई फलो गर्ने । जसअनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई भिडिओ कलबाहेक मोबाइल चलाउन नदिने, त्यसभन्दा माथिकालाई अभिभावकको निगरानीमा सिर्जनशील किसिमका कन्टेन्ट अधिकतम २ घण्टासम्म दिन सकिन्छ भने वयस्कको हकमा दिनको दुई घण्टा मोबाइल चलाउनु सामान्य हो । तर कुनै पेशागत कामबाहेक दिनका ५ घण्टाभन्दा बढी मोबाइल चलाएको खण्डमा कुनै न कुनै मानसिक समस्याको कारण बन्ने सक्ने डीएचओलगायत विभिन्न अध्ययनको निष्कर्ष छ । तसर्थ यो गाइडलाइनलाई फलो गर्न जरुरी छ ।

मोबाइल चलाउने आफ्नाहरुलाई नोमोफोबियाका विषयमा जानकारी दिएर सचेत हुन लगाउने ।

विभिन्न प्राकृतिक पद्धतिहरु जहाँ आफूलाई रमाइलो लाग्छ त्यस्ता गतिविधिमा सामेल हुने । स्वास्थ्यका लागि कुनै साथी वा समूह बनाएर परम्परागत खेलहरु जस्तै, चेस, वा फुटबल, क्रिकेट जस्ता आउटडुअर गेम खेल्ने ।

अर्को हो डिजीटल डिटक्सिफिकेशनः आफ्नै लागि एउटा नियम बनाउने जहाँ निश्चित समय र स्थान तोक्ने जहाँ हामी मोबाइल फोनको प्रयोग नगरी बिताउने ।

तर यसअघि नै यस्तो समस्या महसुस भएको छ भने डिजिटल डिटक्सीफिकेसनको माध्यमबाट सहज हुने । यो भनेको डिजिट दुनियाँबाट क्रमसँगै सिस्टमेटिक तरिकाले आफूलाई टाढा राख्नु । अर्थात डिजिटल वेलबिङको अभ्यास गर्नु ।

अर्को विधि हो कग्निटिभ बिह्यावियरल टेक्निकस् । साइकोलोजीमा मानिसहरुको विचार, भावना र बानीको कम्बिनेसनले सकारात्मक मोडिफिकेसन ल्याउने यो विधि निकै प्रभावकारी विधि हो । नोमोफोबियाको लक्षण भोगेकाहरुलाई यसरी सीबीटीको प्रयोगले सहज बनाउन सकिन्छ ।

मोबाइल फोन आधुनिक जीवनमा विज्ञानको आशीर्वाद सावित गराउने तपाईं हाम्रो हात छ ।

अन्तिम अध्यावधिक: १८ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस