ट्रेण्डिङ

जब शिशु चिच्याएर रोयो, मेरो खुसीको आँसु थामिएन

होमपेज / अन्तर्वार्ता /
  • रेडियो सुदूर सञ्चार
  • २२ साउन २०८२ (२ हप्ता अघि)
  • १७४

अनमी जानकी पुजारा हिजोआज निकै चर्चामा छिन् । बैतडीको सिगास गाउँपालिका—४ स्थित आधारभूत स्वास्थ्यसेवा केन्द्रमा कार्यरत पुजारा सामाजिक सञ्जालमा पनि छाएकी छन् ।

उनले ६ घण्टा लामो अवधिसम्म शिशुलाई मुखबाट श्वास दिएर बचाएको घटना सार्वजनिक भएपछि देशव्यापी प्रशंसा बटुलिरहेकी छन् । सर्वसाधारणदेखि मन्त्रीसम्मले फोन गरेर उनलाई स्याबासी दिएका छन् । नवजात शिशुलाई ६ घण्टा कृत्रिम श्वास दिएर जीवन दिएकी अनमी पुजारासँग गरिएको कुराकानी ।

बाल्यकाल कसरी बित्यो ? ती दिनहरू सम्झँदा कस्तो लाग्छ ?  

मेरो जन्म डोटीको सायल गाउँपालिका–१, पुजारा गाउँमा २०५४ साल कात्तिक २७ मा बुवा जयबहादुर पुजारा र आमा जमुनादेवी पुजाराको कोखबाट भएको हो। म सात बहिनीमध्ये साइँली छोरी हुँ। एउटा भाइ छ। बाल्यकाल पुजारा गाउँमै बित्यो।

आमाबुवालाई घरको कामधन्दामा खुबै सघाउँथे। धेरै महत्वकांक्षा राख्ने बनी थिएन। त्यसैले त्यस्तो विशेष रुचि त थिएन। आमाबुवा पनि खेतीकिसानी नै गर्नुहुन्थ्यो। स्कुल पढ्ने र आमाबुवालाई नै बढी सघाउने काम गर्थे। पिङ खेल्न खुब रुचाउँथे। घरमा नभनी बाबियोको डोरीले पिङ हालिन्थ्यो। खुब रमाइलो हुन्थ्यो।

आधारभूत तहको शिक्षा कहाँ पढ्नुभयो ?

घरपरिवारलाई सघाउँदै गाउँकै विद्यालयबाट आधारभूत र माध्यमिक तहको पढाइ सकेँ। २०७० सालमा एसएलसी पास गरेँ। अर्को वर्ष अनमी पढ्न डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयमा छात्रवृत्तितर्फ नाम निकालेर अध्ययन सुरु गरेँ। २०७३ माघ १६ मा अनमी कोर्स पास आउट भएकी हुँ। पढाइमा राम्रै विद्यार्थीमा गनिन्थे। होस्टेलमा निकै मिहिनेत गरेर पढेँ। कलेजको पहिलो वर्ष प्रथम स्थान हासिल गरेँ। दोस्रोमा त डिस्टिङ्सन नै ल्याएर पास भएँ।

पढाइमा परिवारबाट राम्रै सहयोग र हौसला पाउनुभएको रहेछ नि ?  

हो। एकदमै सहयोग पाएकी छु। त्यतिबेला उच्च शिक्षा अध्ययन गर्न छोरी मान्छे घरबाहिर जाँदा गाउँमा कुरा काट्ने गर्थे। छोरीको बुवा भएर किन यति धेरै पढाइमा खर्च गरेका होलान् भन्ने गर्थे। तर, बुवाले जेनतेन संघर्ष गरेर हामी सबै दिदीबहिनीलाई पढाउनुभयो। उच्च शिक्षाका लागि दिदीहरूले पनि जागरि गरेर हामी बहिनीलाई पढाउन सहयोग गरेका हुन्। छोरीहरूलाई पढाएको देखेर सामाजमा कुरा काट्ने गरे तापनि बुवाले पढाउन छोड्नु भएन। जेठी दिदी त्यो वडाकै पहिलो एसएलसी दिने र गाउँमा पढाउने पहिलो शिक्षिका हुनुहुन्थ्यो। अहिले उहाँले जागिर छाड्नुभयो। 

भविष्यको लक्ष्य के राख्नुभएको थियो नि ?  

हाम्रो गाउँमा ७ छोरी भएको परिवारकी सदस्य भएकाले पनि ठूलो लक्ष्य राख्न मैले हिम्मत गरिन। निम्नवर्गीय परिवारको सदस्य भएकाले परिस्थितिअनुसारका लक्ष्य निक्र्योल गर्नुपर्दाे रहेछ। परिवारको आर्थिक अवस्था बलियो नभएकाले मैले अनमी नै आफ्ना लागि उत्तम कोर्स ठानेर अघि बढेँ। यो नै बन्छु भनेर हिँडेकी थिइन। एसएलसी पास गरेपछि अनमी गर्ने इच्छा जागेर आयो र छात्रवृत्तिमा नाम निकालेर पढाइ सुरु गरेँ। स्वास्थ्य क्षेत्रमा अघि बढ्न बुवा र दिदीले हौसला दिनुभयो। फुपूपट्टीको दाइले पनि धेरै हौसला दिएर पढ्न अग्रसर भएकी हुँ। 

त्यसपछि ... ?            

अनमी कोर्सको परीक्षा दिएपछि लगत्तै म धनगढी गएँ। कामकै खोजीमा धनगढी गएकी थिएँ। त्यहाँ एक निजी अस्पतालमा काम सुरु गरेँ। सुरुमा त्यहाँ मैले स्वयंसेवक भएर काम गरँे। अनमीको नतिजा आएपछि पनि मैले साढे तीन वर्ष त्यही अस्पतालमा काम गरेकी थिएँ। त्यहाँ कामको बढी लोड हुन्थ्यो तर काम भने धेरै सिकियो।

अनि विवाह कहिले गर्नुभयो ?   

२०७९ सालमा मेरो विवाह बैतडीको सिगास गाउँपालिका–४, बुढाकोटमा महेन्द्रविक्रम साउदसँग भयो। मेरो  श्रीमान् पनि स्वास्थ्य क्षेत्रमै हुनुहुन्छ। उहाँ एचए पदमा डोटीको स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ। हाम्रो २ वर्षको छोरा छ। 

तपाईंंले सिगास गाउँपालिकाको कान्धार स्वास्थ्यचौकीमा कहिलेदेखि काम थाल्नुभयो ?

विवाहपश्चात् घरमै थिएँ। हाम्रै वडाको आधारभूत स्वास्थ्य केन्द्र कान्धारमा अनमी कोटाका लागि सूचना जारी भएको थियो। त्यसमा आवेदन दिएर छनोट भई २०८१ साल जेठ १४ मा नियुक्ति लिएर काम थालेकी हुँ। यहाँ काम थालेको अहिले एक वर्ष पुग्यो। 

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन कति सहज र असहज हुन्छ ?  

मैले निजी अस्पतालमा पनि काम गरेर केही थप अनुभव बटुलेका कारणले यहाँको दुर्गम ठाउँमा राम्रोभन्दा राम्रो सेवा दिने कोसिस गरिरहन्छु। भौगोलिक रूपमा विकट नै भएकाले हिँडेरै गाउँगाउँ तथा घरघरसम्मै पुग्नुपर्छ। म यस्तो दुर्गम क्षेत्रमा सेवा दिन पाउँदा खुसी छु। यो पेसाप्रति माया पनि बढेकाले काम गर्दा कुनै झन्झट मान्ने गरेकी छैन। 

साउन ८ मा सुत्केरी हुन स्वास्थ्य संस्थामा आएकी महिलाको अवस्था कस्तो थियो ?  

त्यस दिन हाम्रै वडाकी २० वर्षीया महिलालाई सुत्केरी गराउन स्वास्थ्य सेवा केन्द्रमा पुर्‍याइएको थियो। सुत्केरी हुनुपूर्व उनको सबै अवस्था सामान्य थियो। स्वास्थ्य केन्द्रमा सहजै सुत्केरी गराउन सकिने भएकाले हामीले अन्त रेफर गरेनौं। 

अनि खासमा के भएको थियो र ?  

सासू आमा र गाउँकै स्थानीयसँग हिँडेर उनी स्वास्थ्य संस्थासम्म आइपुगेकी थिइन्। निकै थकाइ लागेकाले होला बच्चा जन्माउने बेलामा उनले बल पुर्‍याउन सकिनन्। त्यसपछि बच्चा निसासिएको अवस्थामा जन्मियो। उनको पहिलो सन्तान थियो।

बच्चाको अवस्था गम्भीर भएको कसरी थाहा भयो ?  

बच्चा निस्कँदा छाती हल्लिने, गुन्जिने, रुने जस्ता कुनै लक्षण देखाएन। मैले सालनाल काँटे। बच्चालाई पुछेँ। कोल्टे फेराएँ। चलाउने प्रयास गरेँ। बच्चाले कुनै प्रतिक्रिया दिएन अनि म निकै आत्तिएँ। स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज सर पनि सँगै हुनुहुन्थ्यो। हामीले अर्काे कोठामा बच्चालाई लग्यौं। 

बच्चालाई श्वासमा समस्या पर्दा उपचार गर्ने कुनै साधन थिएन र ?  

बच्चाको नाक तथा घाँटीमा र्‍याल अडकएको हुनाले पनि श्वास लिन असहज भइरहने थियो। त्यो सफा गर्ने सामग्रीहरू पनि हामीसँग थिएनन्। के भइरहेको छ भन्ने अड्कल नै गर्न सकिएन। स्वास्थ्य इन्चार्ज सरले अत्यावश्यक सामग्रीहरू तयार पार्नुभएको थियो। हाम्रो स्वास्थ्य केन्द्रमा श्वास दिन मद्दत पुर्‍याउने एम्बु ब्याग मात्रै थियो। त्यसले श्वास दिन प्रयास गर्दा मुखको साइज नमिलेर श्वास फोक्सोसम्म पुग्नै सकेन। बच्चालाई जसरी चलाउँदा पनि कुनै असर देखिएन। जता धकेल्यो उतै पल्टिदिने गर्‍यो। इन्चार्ज सरले ‘बच्चा गइसक्यो कि सिस्टर’ भन्नुभयो। हामी त झन् आत्तियौं। 

अनि त्यसपछि मात्र कृतिम श्वास दिने सोचमा पुग्नुभएको हो र ?  

एम्बु ब्यागले श्वास दिन समस्या भएपछि मैले बच्चाको मुखमा मुख जोडेर श्वास दिएँ। सुत्केरी कक्षमा प्रसवपीडालाई बिसाइरहेकी आमापट्टी हेर्दा साल झिक्न बाँकी नै थियो। सुत्केरी भएको १५ देखि ३० मिनेटभित्रमा साल झिकिसक्नुपर्छ। साल निकालँु भने बच्चा गइहाल्ने, बच्चालाई मात्रै हेरुँ भने साल निकाल्नै नपाइने, निकै आपत् आइलाग्यो। मैले इन्चार्ज सरलाई जसोतसो भए पनि एम्बु ब्यागबाटै श्वास दिँदै गर्नु म साल झिकेर आउँछु भनेँ। हतारहतार त्यो सकेर मुखले श्वास दिन बच्चा राखेको ठाउँमा आइहालेँ। 

त्यसपछि के भयो त ?  

मुखबाटै श्वास दिने प्रक्रिया सुरु गरेको ३० मिनेट भइसकेको थियो। मैले बच्चाको मुखबाट श्वास दिँदै गर्दा उसको छातीमा नजर राखिरहेकै थिएँ। श्वास दिइरहेकै समयमा बच्चाको छाती फुलेको देखेँ। त्यसपछि छोड्नेबित्तिकै घाँटीबाट पनि घ्यार्र आवाज आयो। तर, ठोस प्रगति देखिएन। 

त्यसै क्रममा पालिकाको स्वास्थ्य शाखामा यसबारे जानकारी गरायौं। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्था आएको छ भन्ने सूचना दियौं। रातिको समय भएकाले हेलिकप्टर आउन नसक्ने जानकारी पायौं। हाम्रो क्षेत्रबाट सबैभन्दा नजिकको अस्पताल डडेल्धुरा अस्पताल पुर्‍याउन पनि सडकसम्मै हिँडेर ४ घण्टा लाग्छ। त्यहाँबाट पनि गाडीमा ४ घण्टा थप लाग्ने गर्छ। बच्चा र सुत्केरी आमालाई त्यसरी राति बोकेर अस्पताल लैजान सम्भव थिएन।

६ घण्टा मुखैले श्वास दिएर बच्चाको ज्यान जोगाउनुभयो, त्यो क्षणलाई कसरी सम्झनुहुन्छ ?  

अन्तिम विकल्प मुखबाटै श्वास दिनुपर्ने भएकाले लगातार श्वास दिन छोडिन। श्वास दिँदादिँदा निकै थकाइ लागेको थियो, मेरो छाती फुल्न थाल्यो, तर लगातार दिइरहँे। अर्काे कक्षमा प्रसवपीडामा रहेकी आमा र उनकी सासू आमाको अनुहार निकै मलिन थियो। पर्दा छेउबाट हेर्दा निकै निराश देखिन्थे। उनीहरूलाई हेर्दा मेरा आँखाबाट आएको आँसु रोक्नै सकिनँ। 

  •    हाम्रो गाउँमा ७ छोरी भएको परिवारकी सदस्य हुँ म, त्यसैले ठूलो लक्ष्य राख्ने पनि हिम्मत गरिनँ। 
  •     हाम्रो क्षेत्रबाट अस्पताल पुर्‍याउन हिँडेर ४ घण्टा अनि गाडीमा ४ घण्टा लाग्छ। बच्चा र सुत्केरी आमालाई त्यसरी राति बोकेर अस्पताल लैजान सम्भव थिएन।
  •     बच्चाको रुवाइको पर्खाइ थियो। म बच्चा कतिखेर चिच्याएर रोला भन्ने आसमै श्वास दिइरहेकी थिएँ।  त्यसबाहेक अरू केही सोच्नै सकिनँ।
  •     बच्चाले दिसापिसाब गरेपछि सबै अवस्था सामान्य हुँदै गयो। बच्चाको ज्यान जोगाउन सफल भएँ, त्यसैले निकै खुसी छु।
  •     स्वास्थ्यमन्त्री प्रदीप पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूले पनि फोन गरेर स्याबासी दिनुभयो। मलाई मेरो पेसाप्रति थप जिम्मेवारीबोध भएको छ।

समय कसरी बितिरहेको छ, कति बज्यो भन्ने केही ख्याल राखिन। लगातार बच्चालाई हेर्दै उसले देखाइरहेका लक्षणहरूमा मात्रै ध्यान केन्द्रित थियो। छाती फुल्ने क्रम बढ्दै गयो। बिहानको करिब ३/साढे ३ बजेको हुँदो हो। बच्चाले खुट्टा फुत्त चलायो। मैले बच्चाको मुखबाट आफ्नो मुख छोडिदिएँ। त्यसपछि बच्चा चिच्याएर रोयो। हातखुट्टा चलायो। छाती तलमाथि हुन थाल्यो। अनि, मेरा आखाँबाट झरेका खुसीका आँसु थामिएनन्। फेरि मुस्कुराएँ। पर्दा छेउबाट आमालाई हेरेँ, उनका पनि आँखामा खुसीका आँसु देखिए, ओठमा मुस्कान थियो। बच्चा जति धेरै आवाज निकालेर रुन थाल्थ्यो, हामी त्यति नै धेरै खुसी हुँदै गयौं। अनि, बल्ल आमाको काखमा बच्चा सुम्पिएँ। त्यसबखत ती आमालाई मैले मातृत्वको अधिकार सुम्पिए जस्तो लाग्यो। 

त्यसपछि एकछिन हाँसोको माहोल भयो। हामी खुसी भायौं। बच्चाले दिसापिसाब गरेपछि सबै अवस्था सामान्य हुँदै गयो। म सरसफाइ गर्नतिर लागेँ। अझै पनि मेरो अनुहारमा इन्फेक्सन भएको छ। तर, पनि बच्चाको ज्यान जोगाउन सफल भएँ भन्ने लागेर निकै खुसी छु।

ओहो ! त्यसपछि बच्चाका सबै सूचकहरू सामान्य भए कि अस्पताल लाग्नुपर्ने अवस्था थिएन ?  

हो। बच्चा सामान्य अवस्थामा फर्किए तापनि जोखिम भने हुन सक्छ भनेर अस्पताल लैजान सल्लाह दियौं तर सुत्केरी आमा र उनकी सासू आमाले हिजो त्यस्तो अवस्थामा बचाउनुभयो, जस्तो ठूलो अस्पताल, ठूलो डाक्टर र भगवान् नै तपाईंं हो। अब कतै नलग्ने भनेर भन्न थाले। हुन पनि आमालाई करिब ४ घण्टासम्म हिँडेर जानुपर्ने अवस्था थियो। त्यसपछि तेस्रो दिन फेरि त्यहाँ फलोअप भिजिटमा गएँ। बच्चा सामान्य अवस्थामा थियो। दूध खाइरहेको थियो। दिसापिसाब राम्रै थियो। आमा र बच्चाको अवस्था सबै सामान्य थियो। 

यति लामो अवधिसम्म मुखबाटै श्वास दिइरहँदा तपाईंको मानसपटलमा के खेलिरहेको थियो ?  

बच्चाको रुवाइको पर्खाइ थियो। म बच्चा कतिखेर चिच्याएर रोला भन्ने आसमै श्वास दिइरहेकी थिएँ। त्यसबाहेक अरू केही सोच्नै सकिन। सुत्केरी भएकी आमा र उनकी सासू आमा बाहिर निन्याउरो मुख लगाएर बसिरहँदा आफूलाई पनि डर त लागिरहेको थियो। तर, श्वास दिन छोडिन।

मैले आफूले स्वास्थ्य क्षेत्रमा गरेको ४ वर्षको अनुभवमा पहिलो घटना थियो त्यो। त्यसअघि मैले धनगढीमा छँदा वयस्क मानिसलाई मात्रै श्वास दिएको अनुभव छ। श्वास दिइरहेको समयमा मुखबाट श्वास दिँदा छातीमा प्रभाव परिरहेको देखेपछि यसै प्रक्रियाबाटै बच्चा होसमा आउन सक्छ भन्ने लागेर मुखबाट निरन्तर श्वास दिइरहेँ।

नतिजा अहिलेको जस्तो नआएको भए के हुन्थ्यो भन्ने सोच आएन ?  

हैन। त्यतिबेला मैले मुखबाटै श्वास दिएपछि मात्रै सुधार आउछ भन्ने लागेपछि केही नसोचेर त्यो काम गरँे। तर, दोस्रो दिन म घरमा आउँदा निकै सोचमग्न भएँ। बच्चाको ज्यानमाथि केही भएको भए सबै दोष ममाथि लाग्ने थियो। अहिले जसरी चारैतिरबाट प्रशंसा गरिरहेकी छु्, त्यसरी नै गाली खाइन्थ्यो र जागिरे जीवनको ठूलो गल्ती महसुस हुन्थ्यो होला भन्ने पनि डल लाग्छ।

दुधे बालक बोकेर सुत्केरी गराउन घरसम्म नै जान्थी, के गर्दी हो फलानाकी छोरी, फलानाकी  श्रीमती। यी यावत लाञ्छना सहनुपनथ्र्याे जस्तो लाग्छ। अनि, आफ्नो पेसाप्रति नै प्रश्न गर्थे। म त सोच्नै सकिरहेकी छैन, के के हुन्थ्यो के के ?  कहाँकहाँ कसकसको कठ्घरामा उभिनुपथ्र्याे सोच्नै सक्दिन। त्यो सोच्दा शरीर जिरिङ्ग हुन्छ। 

अहिले देशैभरिबाट प्रशंसा बटुलिरहनुभएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूले पनि तपाईंलाई फोन गरेर स्याबासी दिनुभएको छ। कस्तो महसुस भइरहेको छ ?  

अहिले त धेरै ठाउँबाट फोन आइरहेका छन्। सञ्चारकर्मीले नै लगातार फोन गरिरहनुहुन्छ। सम्माननीय स्वास्थ्यमन्त्री प्रदीप पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूले पनि फोन गरेर स्याबासी दिनुभएको छ। एकदमै खुसी छु। मलाई मेरो पेसाप्रति थप जिम्मेवार भएर लाग्ने हौसला मिलेको छ। थप जिम्मेवारीबोध भएको छ। मैले यो मेरो पेसामा लागेपछिको सबैभन्दा खुसीको रूपमा लिएकी छु। मैले रोजेको पेसा भएको हुनाले पनि यस्तो समयलाई गौरवको क्षणको रूपमा लिएकी छु। 

तपाईंलाई सिगास जस्तो दुर्गम क्षेत्रमा सेवा दिँदा कस्तो महसुस भइरहेको छ ?  

साँच्चीकै भौगोलिक रूपमा दुर्गम क्षेत्र नै हो। हाम्रो स्वास्थ्य केन्द्रदेखि सेवा क्षेत्रका गाउँसम्म हिँडेर करिब ४ घण्टा पैदल जानुपर्छ। भीरको बाटो भएकाले रात, साँझ गरेर हिँड्दा निकै डर हुन्छ। त्यसमाथि महिला भएकाले पनि राति एक्लै हिँड्न निकै डर हुन्छ। सुत्केरी हुन लागेका महिला यदि घरमै हुने अवस्था आयो भने उनीहरूको घरमै जानुपर्छ।

दिउँसोको समयमा बेथा लागेको भए त स्वास्थ्य केन्द्र बोकेरै भएन ल्याउनु भन्न हुन्थ्यो, राति त बोकेर यहाँ पुर्‍याउन सकिन्न, त्यसैले घरमै जानुपर्छ। गत वर्षमा १९ वटा सुत्केरी महिलामध्ये १३ जनासम्म घरमै गराएकी छु। राति बेथा लाग्यो भनेर फोन आउँछ, स्वास्थ्य केन्द्रबाट कासको सहयोग मागेर सामग्री बोकेर घरमै जाने गरेकी छु। 

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधारका लागि राज्यस्तरबाट कस्ता काम हुनुपर्छ ?  

सहज स्वास्थ्य सेवाका लागि सामाजिक सचेतनाको आवश्यकता छ। वडा तहका स्वास्थ्य संस्थाबाट आधारभूत सेवाहरू दिइन्छ। त्यसका लागि आवश्यक पर्ने  स्रोतसाधनको उपलब्धता हुनुपर्छ भन्ने लाग्छ।

अन्तिम अध्यावधिक: २२ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस