बेलाैरी /कञ्चनपुर -
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का देपेन्द्रबहादुर शाहीसहित ५४ जना नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रलोपा परित्याग गर्दै उम्मेदवार शाही, प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्ट तथा अन्य नेता–कार्यकर्ताहरू नेकपामा समाहित भएका हुन्। उनीहरूलाई नेकपा क्षेत्र नं. १ की उम्मेदवार बीना मगरसहित नेताहरूले बुधबार आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए।
शाहीले गत १० फागुन बेलौरीमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका थिए। तर, तीन दिनपछि नै उनले पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन्। शाही र विष्ट दुवै प्रलोपा केन्द्रीय सदस्यसमेत रहेका थिए।
प्रलोपा पूर्व केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्टले वर्तमान राजनीतिक परिवेशमा देशको स्थायित्व र विकासका लागि नेकपाको विकल्प नभएको उल्लेख गर्दै सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्न आफूहरू नेकपामा समाहित भएको बताए। “वामपन्थी मत विभाजन गर्नु उपयुक्त नदेखिएकाले नेकपा उम्मेदवार बीना मगरलाई जिताउन हामी समाहित भएका हौँ,” उनले भने।
नेकपा केन्द्रीय सदस्य जीवन थापाले चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारसहित विभिन्न तहका नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गर्नुले पार्टीलाई थप मजबुत बनाएको बताए। उनले नेकपा उम्मेदवार बीना मगरको विजय सुनिश्चित गर्न सबै नेता–कार्यकर्ताहरू एकजुट भएर अभियानमा लाग्ने विश्वास व्यक्त गरे।
प्रवेश कार्यक्रममा नेकपा नेताहरू देबीलाल चौधरी, भक्तबहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जीवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेकबहादुर विक, बिरमान थापालगायतको उपस्थिति रहेको थियो।
नेकपामा प्रवेश गरेका शाहीसहितका नेता–कार्यकर्ताहरूले महिला नेतृ बीना मगरको पक्षमा सक्रिय रूपमा चुनावी अभियानमा खटिने प्रतिबद्धता जनाएका छन्।