लालझाडी, कञ्चनपुर –
नेपाली काँग्रेसका नेता गोपाल गुरुङ्गले लालझाडी क्षेत्रका किसानलाई ठग्ने गिरोह विदेशसम्म फैलिएको जिकिर गरेका छन्।
उनी भन्छन्, यो गिरोह नेपालमा मात्र सीमित नरही विदेशमा समेत सक्रिय छ। केही गिरोहका सदस्यहरू विदेश गएर ठगी गरेर, रकम उठाएर लुकेर बसेका छन्।
गुरुङ्गका अनुसार, ग्रामिण भेगका साेझा किसानहरूलाई अनुदान स्वरूप कृषि सामग्री दिने नाममा अग्रिम रकम असुल्ने गिरोहकाे जालाे विदेशमा समेत फैलिएको छ।
उनलेे हजारौं किसानलाई ठगी गरेर ठूलो धनराशि असुल्न सफल गिराेह सामान्य नरहेको जनाए। यसले गरिब किसानहरूलाई निकै पीडा दिएको छ।
किसानको न्यायका लागि गुरुङ्गले कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेर कञ्चनपुर प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीलाई खाेज अनुसन्धान र कार्वाहीका लागि अनुरोध गरेका छन् ।
उनलेे सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर विकसँग समेत भेटवार्ता गरेका छन् । गुरुङले किसान ठग्ने गिरोहविरुद्ध कडा कानुनी कारबाहीको माग अघि सारेका छन्।
उनी भन्छन्, “यो गिरोहमा दुई–चार जना मात्र छैनन्, स्थानीय एजेन्टदेखि केही विदेशबाट फर्केका सदस्यहरू समेत सक्रिय छन्। उनीहरूलाई छानबिन गरी कारबाही गर्नैपर्छ।”
उनले गृह मन्त्री रमेश लेखकसँग पनि यस विषयमा कुरा गरेको बताए। गृहमन्त्रीले किसान ठग्ने कुनै पनि व्यक्तिमाथि कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।,
किसानका प्रतिनिधि समेत रहेका गुरुङ्गले ठगिएका लालझाडीका सयौँ किसानहरूको न्यायका लागि निरन्तर संघर्ष गर्ने जनाएका छन्। उनले पीडित किसानहरूलाई ढाडस र सहानुभूति समेत दिएका छन्।
यसैबीच, सुरो नेपाल नामक गैरसरकारी संस्थाले दोदा साना किसान सहकारी र अनमोल कृषि सहकारीका तीन सयभन्दा बढी किसानबाट करीब दुई करोड पचास लाख रुपैयाँभन्दा बढी रकम असुल्ने काम गरेको पाइएको छ। यस प्रकरणले समाजमा ठूलो त्रास फैलाएको छ।
किसानहरू अहिले आफ्नो न्याय खोज्न संघर्षरत छन्। उनीहरूको दैनिकीमा प्रत्यक्ष असर परेको छ।
कृषि सामग्रीको नाममा ठगी हुनुले एकातर्फ किसानहरूको आर्थिक अवस्था कमजोर बनाएको छ भने अर्कोतर्फ गरिब परिवारलाई ऋणमा डुबाएको छ।