चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -
नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)लाई सोमबार बेलौरी नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई नगरपालिकाले अभिनन्दन गरेको हाे ।
कार्यक्रममा नगर प्रमुख पोतीलाल चौधरीले श्रेष्ठलाई दोसल्ला ओढाएर र मायाको चिनो प्रदान गर्दै अभिनन्दन गरेका थिए।उक्त कार्यक्रममा कर्मचारी, स्थानीय जनप्रतिनिधि, दलका नेता तथा कार्यकर्ता एवम् सरोकारवालाहरूको उपस्थिति थियो।
यसै अवसरमा नगरप्रमुख चौधरीले बेलौरीको विकास र समृद्धिका लागि विभिन्न महत्वपूर्ण योजना तथा समस्याहरूको समाधानमा पहल गरिदिन आग्रह गर्दै श्रेष्ठलाई १२ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा हुलाकी सडक निर्माण, बेलौरीको छोटी भन्सारलाई नाकाका रूपमा स्तरोन्नति, सीमा विवाद समाधान, दोदा नदीको कटान नियन्त्रण, शुक्लाफाँटा आरक्ष पीडितहरूको व्यवस्थित बसोबास, किसानहरुलाई उखु अनुदान, पर्यटकीय क्षेत्रहरूको विकास र बेलौरीलाई नमुना शहरका रूपमा विकास गर्ने जस्ता महत्वपूर्ण मागहरू समावेश गरिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय श्रेष्ठले बेलौरीको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशको वर्तमान राजनीतिक अवस्था र भावी विकासका एजेण्डाहरूमाथि पनि प्रकाश पार्नुभएको थियो।
बेलौरी नगर प्रमुख चौधरीले माननीय श्रेष्ठको आगमनले नगरपालिकालाई थप ऊर्जा मिलेको बताउँदै आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा राखेको विश्वास व्यक्त गर्नुभयो।