चन्द्रिका चौधरी / दिनेश चाैधरी, बेलौरी —
कञ्चनपुरको बेलौरी बजार क्षेत्रमा बुधबार गरिएको बजार अनुगमनका क्रममा बरामद गरिएका अवैध तथा अखाद्य सामग्री नष्ट गरिएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय बेलौरीमा नगर उपप्रमुख जाेगराम चौधरी, बेलाैरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट तथा स्थानीय सञ्चारकर्मीहरूको रहाेबरमा उक्त सामग्री नष्ट गरिएको हो।
अनुगमनका क्रममा ४८ केजी कालो पोलिथिन (झोला), २.२५ केजी बेसन, ८५ बोतल कार्बोनेटेड ड्रिङ्क्स, ४ प्याकेट फिनायल, ३ डब्बा साबुन, ६ प्याकेट ग्लुकोज, २८ प्याकेट नमकीन, ८४ प्याकेट अखाद्य रंग र केही मदिरा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका वरिष्ठ प्रहरी सहायक निरीक्षक वीर सिंह धामीले जनाए।
वरिष्ठ प्रहरी सहायक निरीक्षक धामीका अनुसार बरामद गरिएका वस्तुहरू स्वास्थ्य मापदण्ड विपरीतका भएकाले उपभोगमा रोक लगाइ सराेकारवालाहरुकाे उपस्थितमा नष्ट पारिएको हाे।
नगर उपप्रमुख चौधरीले बजार क्षेत्रमा कालो पोलिथिनको प्रयोग नगर्न, अखाद्य तथा मापदण्डविपरीतका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न व्यवसायीहरूलाई कडाइका साथ निर्देशन दिएको बताए।
अनुगमन समितिका संयोजक समेत रहेका उपप्रमुख चौधरीको नेतृत्वमा भएको सो अनुगमनमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, इलाका प्रशासन कार्यालयका प्रतिनिधि दीपेन्द्र प्रसाद जैशी, चेतराज भट्ट, कृषि विकास शाखाका प्रतिनिधि सुमन राज जोशी, स्थानीय युवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।