ट्रेण्डिङ

लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कञ्चनपुर

होमपेज / मुख्य समाचार /
सात वर्षमा डेढ हजार बढी व्यक्ति पक्राउ
  • रेडियो सुदूर सञ्चार
  • ३ भदौ २०८२ (४ दिन अघि)
  • १४२९

रमेश प्रसाद भट्ट / कञ्चनपुर -

सीमावर्ती भारतसँग जोडिएको कञ्चनपुर पछिल्ला वर्षहरूमा लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । भारत, सुदूरपश्चिम प्रदेशका उत्तरी पहाडी क्षेत्र र अन्य जिल्लाबाट समेत कञ्चनपुर हुँदै लागूऔषध भित्रिने क्रम बढ्दो छ । यस कारण जिल्लालाई लागूऔषध तस्करीको प्रमुख मार्गका रूपमा चिनिँदै गएको छ, जसले सर्वत्र चिन्ता र चासो बढाएको छ ।

जिल्ला प्रहरीले बरामद गरेका परम्परागत तथा आधुनिक लागूऔषधजन्य वस्तुले समेत कञ्चनपुरमा यसको गम्भीर समस्या रहेको देखाउँछ । कारागार तथ्याङ्कअनुसार हाल जिल्लामा कैद भुक्तान गरिरहेका कैदीमध्ये सबैभन्दा धेरै लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाएका छन् । अहिले मात्र १८२ जना कैदी लागूऔषध मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

सात वर्षअघि तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले कञ्चनपुरमा लागूऔषधविरुद्ध कठोर अभियान सुरु गरेका थिए । यसअघि जिल्ला प्रहरी प्रमुखहरूले खासै प्रभावकारी कारबाही नगरे पनि विष्टले सार्वजनिक स्थलमा चुरोट, सुल्पा सेवनदेखि चरेश, गाँजा, भारतबाट ल्याइने ब्राउन सुगर तस्करीमा संलग्नहरूमाथि कारबाही गरेका थिए । उनको नेतृत्वमा सुरु भएको अभियानलाई पछिल्ला प्रहरी प्रमुखहरूले निरन्तरता दिँदै आएका छन् ।

हाल जिल्ला प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समेत लागूऔषधविरुद्ध निर्मम अपरेसन सञ्चालन गरिरहेका छन् । चरेश, गाँजा, खैरो हिरोइन, अफिम, फेनागन, नाइट्रोभेट, रेक्सोज्याजिकसहितका पदार्थसहित सयौँ व्यक्तिलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक सागर बोहराका अनुसार पछिल्ला सात वर्षमा करिब डेढ हजार व्यक्ति पक्राउ परेका छन् । उनका अनुसार—

आर्थिक वर्ष २०७५÷०७६ मा ७२ जना

२०७६÷०७७ मा ८७ जना

२०७७÷०७८ मा २३० जना

२०७८÷०७९ मा २३४ जना

२०७९÷०८० मा २९३ जना

२०८०÷०८१ मा २८७ जना

२०८१÷०८२ मा २६६ जना

चालु आर्थिक वर्ष २०८२÷०८३ को साउन महिनामा मात्रै ३१ जना पक्राउ

यस अवधिमा प्रहरीले विभिन्न लागूऔषध बरामद गरेको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार मात्र १,६७१.७७ ग्राम खैरो हिरोइन, ११५.२१९ किलो चरेश, ७८.६३ किलो गाँजा, १,९५८ एम्पुल र १६८ ट्याब्लेट बरामद गरिएको छ ।

प्रहरी प्रमुख एसपी खत्रीका अनुसार लागूऔषध नियन्त्रणका लागि मुद्दा दायर गर्नुका साथै विद्यार्थीदेखि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । उनले प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने भन्दै समाज नै सचेत र जागरूक हुनुपर्नेमा जोड दिए ।

धूम्रपान निषेध अभियानका अभियन्ता मदन बहादुर चन्दले लागूऔषध नियन्त्रणका लागि अभिभावकदेखि सरकारसम्म गम्भीर भूमिका आवश्यक रहेको बताए । उनले भने — “लागूऔषधमुक्त समाज निर्माणका लागि अभिभावकलाई नै सचेत गराउनुपर्छ । बालबालिकालाई सानै उमेरदेखि चेतनामूलक पाठ्यक्रममार्फत सचेत गराउन जरुरी छ । प्रयोगकर्ता मात्र होइन, तस्कर र व्यापारीसम्मको सञ्जाल भत्काएर कानुनी कारबाही गर्न सकेमा केही हदसम्म नियन्त्रण सम्भव हुन्छ ।

अन्तिम अध्यावधिक: ३ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस