कञ्चनपुर –
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लामा रहेकाे भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन बन्द भएको हो । सडकमाथिबाट आएको पहिरोका कारण आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिनुभयो ।
भीमदत्त नगरपालिकाकाे दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट त्यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरे खोला तर्नुपर्दछ । वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुने गरेकाे जोशीले बताउनुभयाे ।
सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत् सेवा अवरुद्ध भएको भीमदत्त वडा नम्बर ९ का अध्यक्ष गगनसिंह कार्कीले जानकारी दिनुभयो । पहिरोले विद्युत् खम्बामा समेत क्षति पुगेकाे र अहिलेसम्म सडक खुलाउन नसकिएको उहाँकाे भनाइ छ ।
भीमदत्त नगरपालिकाका कार्यवाहक मेयर केशवसिंह विष्टले वर्षाका कारण खल्ला मसेट्टीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । विद्युत् र सडक सञ्चालनका लागि प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण पहिरो हटाउने काम गर्न नसकिएको मेयर विष्टले बताउनुभयाे ।
कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । त्यस बस्तीमा ४ सय ७० परिवारको बसोवास छ । वर्षायाममा बाढी पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।