चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
राष्ट्रव्यापी रुपमा “Gen Z आन्दोलन” का क्रममा सोमबार राजधानीमा कलिला युवाको ज्यान गुम्नुमा गहिरो दुःख व्यक्त गर्दै बेलौरी उद्योग वाणिज्य संघले आफू मातहतका सम्पूर्ण व्यापार प्रतिष्ठान र पसलहरू (मंगलबार) एकदिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाएको छ कि लोकतान्त्रिक समाजमा शान्तिपूर्ण आन्दोलन गर्नु प्रत्येक नागरिकको अधिकार भए पनि काठमाडौंमा घटेको दुर्भाग्यपूर्ण घटनाले सम्पूर्ण समाजलाई स्तब्ध पारेको छ।
उक्त घटनामा ज्यान गुमाउने युवाहरुकाे दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
बेलाैरी उद्योग वाणिज्य संघका महासचिव गाेविन्द प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता दुःखद घटना पुनः नदोहोरिन सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्नेमा जोड दिइएको छ।
उक्त निर्णय संघका महासचिव सापकोटाले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।