कञ्चनपुर -
थारु समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परा सखिया नाच पछिल्ला वर्षहरूमा छोटिँदै गएको छ।
पहिले कृष्ण जन्माष्टमीदेखि दसैँको टीकासम्म निरन्तर चल्ने यो नृत्य अहिले पाँचदेखि १० दिनमै सीमित हुन थालेको छ। थारु संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार विगतमा खेतीपातीमा मात्रै निर्भर जीवनशैली भएकाले महिनौँसम्म फुर्सद पाइन्थ्यो र युवतीहरूले सामूहिक रूपमा नाच्ने गर्थे। तर अहिले अधिकांश युवा रोजगारी, व्यापार र परदेश गइसकेकाले गाउँमा नाच्नेको संख्या घटेको छ।
गीत र मादल सिक्ने परम्परा पुस्तान्तरण हुन नसक्दा मौलिकता हराउँदै गएको उनले बताए। सखिया नृत्यमा चार जना मादल बजाउने मदारी, अगुवाइ गर्ने मोह्रिन्या, जेठ गोहीया र पछगोहीया रहने परम्परा छ। युवतीहरूले ‘पैंया’ भनिने विभिन्न मुद्रामा ताल मिलाउँदै नाच्ने यो नृत्य कृष्ण जन्मदेखि कंश वधसम्मका प्रसङ्गमा आधारित हुन्छ।
अष्टमीको रात ‘भेडुवा जगैना’ भनिने विशेष कार्यक्रमअन्तर्गत रातभर नृत्य गर्ने र कुभिण्डोको भेडा बनाई बलि दिने चलन अझै कायम छ। सहभागीहरूले रङ्गीन ऐना जडित लुगा, सेतो धोती–कमिज र हातमा मैजरी प्रयोग गर्ने भएकाले यसलाई अझ आकर्षक बनाउँछ।
थारु बुद्धिजीवी धनबहादुर चौधरीका अनुसार नयाँ पुस्ताले परिवर्तन खोजेकाले पनि चासो घटेको छ। तर संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके भविष्यमा सखिया नृत्यले महत्व पाउने विश्वास उनले व्यक्त गरे। दसैँपछि सामूहिक भोज गर्ने परम्परा यस नृत्यसँग जोडिएको छ।
संयुक्त परिवारको संरचना भङ्ग हुनु, बाहिर रोजगारीको बाध्यता र खर्चिलो परम्परा सखिया नृत्य छोटिने प्रमुख कारण भएको बताइन्छ। तर संरक्षणका प्रयास बढे सखिया नृत्य केवल थारु समाजको पहिचान मात्रै नभई सांस्कृतिक पर्यटनको आकर्षण बन्न सक्ने सम्भावना रहेको सरोकारवालाको भनाइ छ।