जब उनीहरूलाई लाग्छ– म हाकिम हुँ, मभन्दा बढी कसलाई थाहा होला र?

होमपेज / बिचार विश्लेषण /
जब उनीहरूलाई लाग्छ– म हाकिम हुँ, मभन्दा बढी कसलाई थाहा होला र?
  • रेडियो सुदूर सञ्चार
  • ४ मंसिर २०८२ (२ महिना अघि)
  • २५८

'मेरो सरकारका तीन प्राथमिकताबारे सोध्नुहोस्, म भन्छु — शिक्षा, शिक्षा र शिक्षा।'

यी पंक्तिहरू सन् १९९६ अक्टोबरमा बेलायतको लेबर पार्टीको सम्मेलनमा टोनी ब्लेयरले भनेका थिए। त्यति बेला उनी लेबर पार्टीको नेतृत्वमा थिए।

यो भाषणको ६ महिनापछि उनको पार्टीले भारी मतसाथ निर्वाचन जित्यो र उनी बेलायतका प्रधानमन्त्री बने।

अर्को निर्वाचनको अभियानमा पनि उनले भनेका थिए — मेरो सरकारको मुख्य तीन प्राथमिकता शिक्षा थियो, छ र फेरि जित्यौं भने फेरि पनि शिक्षा नै हुनेछ।

आम निर्वाचनमा भारी बहुमत ल्याएर टोनी ब्लेयर लगातार तीन पटक प्रधानमन्त्री भए।

हुन त उनी कसैलाई उद्धरण गरेर राजनीतिकर्मीको बोली र कर्मको तीतो तालमेलबारे स्वीकार गर्दै भन्छन्, 'निर्वाचनको अभियानमा बोलिने कुरा कविता जस्तै मिठासपूर्ण हुन्छ, शासन गर्नु चाहिँ गद्य जस्तै निरस हुन्छ।'

यद्यपि उनको शासनकालमा बेलायतमा भएको शिक्षाको सुधार र सुदृढीकरणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

बेलायतको एक्सेटर सहरको पुस्तक पसलमा किताबहरू खोजिरहँदा तिनै टोनी ब्लेयरको सन् २०२४ मा प्रकाशित किताबमा आँखामा पर्‍यो — अन लिडरसिप- लेसन्स फर द ट्वान्टी फर्स्ट सेन्चुरी (On Leadership: Lessons for the 21st Century)।

यो किताबमा ब्लेयरले आफू दस वर्ष बेलायतको प्रधानमन्त्री हुँदा र त्यसपछि विभिन्न देशमा सल्लाहकारको भूमिकामा हुँदा अनुभव गरेका, अवलोकन गरेका र सिकेका कुरा संश्लेषण गरेर प्रस्तुत गरेका छन्।

यो लेखमा मैले उक्त किताबको समीक्षा वा सारांश लेख्न खोजेको होइन।

किताबको परिचय खन्डमा ब्लेयरले नेतृत्व र शासनको विज्ञानबारे आफ्नो सिकाइ प्रस्तुत गर्छन्। यही खन्डको पहिलो पाना पढिरहँदा म धेरैबेर अडिएँ र आफ्नो देश र समाजबारे सोचिरहेँ।

आफ्नो त्यही अनुभूति र प्रत्याभूति यहाँ प्रस्तुत गरेको छु।

नेतृत्वलाई यात्रासँग तुलना भन्दै ब्लेयर लेख्छन्, 'नेतृत्वको यात्रालाई मैले तीन चरणमा देखेको छु।' 

नेतृत्वको पहिलो चरण वर्णन गर्दै उनी लेख्छन्, 'सत्ता र शक्तिमा पुगेको सुरूआती दिनमा नेताहरू चनाखा हुन्छन्। उनीहरूले बुझेका हुन्छन् — मलाई केही थाहा छैन वा थोरै मात्र थाहा छ। त्यसैले उनीहरू मानिसलाई उत्सुकतापूर्वक गहिरोसँग सुन्छन्।' 

दोस्रो चरण वर्णन गर्दै उनी भन्छन्, 'सत्ता र शक्तिमा घुलमिल भइसकेपछि उनीहरूलाई लाग्छ — मलाई सबै थाहा छ। उनीहरूमा अरूलाई सुन्ने धैर्य हुँदैन। उनीहरूलाई लाग्छ — म हाकिम हुँ, मभन्दा बढी कसलाई थाहा होला र?' 

तेस्रो चरणको वर्णन गर्दै उनी थप्छन्, 'तेस्रो अवस्था भनेको त्यो परिपक्वता हो जब नेताहरूलाई महसुस हुन्छ — मलाई थाहा भएको सबै थोक होइन, मलाई धेरै कुरा थाहा छैन। यो अनुभूतिपछि फेरि विनम्रताका साथ उनीहरू सिक्न थाल्छन्।' 

ब्लेयरलाई लाग्छ — दोस्रोबाट तेस्रो चरणमा सिकाइ र जिज्ञासाप्रतिको मिठासपूर्ण पुनरागमन चाहिँ दुर्भाग्यपूर्ण रूपमा प्रायः तीतो अनुभवले हुन्छ।

ब्लेयरका अनुसार यो तीन चरणबीचको दुरी छोटो वा लामो दुवै हुन सक्छ।

उनी भन्छन्, 'धेरै नेताहरूले दोस्रो चरण नै पार गर्न सक्दैनन्। अनि, सबभन्दा बढी गल्ती यही अवस्थामा हुन्छ।'

ब्लेयरले उल्लेख गरेको यो प्रवृत्ति मूलतः राजनीतिक नेतृत्वसँग सम्बन्धित भए पनि प्रायः सबै क्षेत्रको नेतृत्व र सक्रिय नेतृत्वमा नहुने अधिकांश मानिससँग पनि यो मेल खान्छ।

कुनै नयाँ भूमिकाको सुरूआती दिनमा प्रायः हामी जिज्ञासु हुन्छौं भने अनुभव हुँदै गर्दा जिज्ञासा हराउँदै जान्छ। आफैलाई सिक्न नझकझक्याउने हो भने हामीलाई लाग्छ — मसँग लामो अनुभव छ, मलाई सबै थाहा छ! 

यही अभिमानको साँघुरो घेराभित्र आफूलाई कैद गर्दा व्यक्तिगत रूपमा र आफ्नो संस्थाको विकासमा हामी बाधक बन्छौं। झन्, हामी राजनीति वा सरकारमा छौं भने देश र जनताले नै ठूलो मूल्य चुकाउनुपर्छ।

यो तीन चरणबारे पढिरहँदा आफू विभिन्न पेसा र व्यवसायमा हुँदा आफ्नै संलग्नताबारे याद आयो। सुरूआती दिनमा एकदमै धेरै जिज्ञासा भएको म, अनुभव हुँदै गर्दा कतिपय अवस्थामा जिज्ञासा हराएर अनुभवको कैदी भएको याद आयो। आफ्नो यति वर्षको अनुभव भयो भन्दै जानीनजानी अरूको अगाडि धाक देखाएको याद आयो। त्यही भएर कतिपय अवस्थामा आफ्नै र आफ्नो संस्थाको प्रगतिमा बाधा बनेको अनुभूति भयो।

आफ्नो सँगै आफूले देखेका र सुनेका विभिन्न राजनीतिकर्मीहरू याद आयो। एउटा आम मानिसका रूपमा मजस्तो मानिस दोस्रोबाट तेस्रो चरणमा प्रवेश नगरेर वा प्रवेश गर्ने समय ढिलो हुँदा सानो समूहलाई असर गर्ला, तर त्यो अवस्थामा राजनीतिज्ञ हुँदा देशलाई ठूलो घाटा भएको हामीले देखेका छौं।

एकछिन अहिलेको नेतृत्वमा भएका अधिकांश राजनीतिकर्मी हेरौं त।

उनीहरूले सत्तामा आउनु अगाडि अनेक संघर्ष गरे। यथास्थितिसँग विरोध जनाए, न्याय र स्वतन्त्रताका लागि भनेर लडे। भूमिगत भए, जेलनेल भोगे, आन्दोलन गरे। गाउँ र सहर पुगे, मानिसहरूलाई भेटे। लोकतन्त्र र न्यायप्रतिको जागरण फैलाए।

जब उनीहरू सत्तामा पुगे, जनताको ठाउँमा आफू बसेर हेर्न चाहेनन्। उनीहरूले आफ्ना सल्लाहकारको कुरा सुने, आम मानिसको भोगाइ महसुस गरेनन्। समाजप्रति उनीहरूको कुतूहुलता हराउन थाल्यो।

उनीहरूलाई लाग्यो — हामीसँग कैयौं दशकको अनुभव छ, हामीलाई सबै थाहा छ! हामीले लडेर नै लोकतन्त्र ल्याइदिएका हौं, अहिलेको पुस्ता त्यसमा रजाइँ गरिरहेको छ। हामीले समाज र इतिहासलाई ठूलो गुन लाइदिएका छौं। अब हामीले सिक्नु नै के छ र? कोसँग नैतिक अधिकार छ र हामीलाई सिकाउने?

हाम्रा राजनीतिकर्मीहरू दोस्रो चरणमा नअड्किएको भए वा दोस्रोबाट तेस्रो चरणमा छिटो पुगेको भए अवस्था अर्कै हुन्थ्यो होला!

तीन महिना अगाडिको घटनालाई ब्लेयरको दृष्टिकोणबाट एकैछिन हेरौं। 

गत भदौमा तत्कालीन सरकारले सामाजिक सन्जालमा बन्देज लाउनु अगाडि जिज्ञासु भएर विरोध गर्नेहरूको कुरा सुनिदिएको भए अवस्था अर्कै हुन्थ्यो होला! हाम्रा कैयौं नागरिकको ज्यान जाँदैन थियो होला!

नेपालमा दर्ता गर्न नमान्ने सामाजिक सञ्जालमा बन्देज लगाउने 'राष्ट्रियता' सँग जोडिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क 'जायजै' थियो होला।

तर संवाद गरेको भए, जिज्ञासु भएर सुनेको भए उनले थाहा पाउँथे होला — उनले परिभाषित गरेको 'राष्ट्रियता' भन्दा माथि मानिसका लागि अरू केही कुरा पनि महत्त्वपूर्ण हुन्छ कि?

त्यही संवादबाटै उनले के र कसरी निर्णय गर्ने उपायहरू थाहा पाउँथे कि!

तर उनलाई लाग्यो होला — सामाजिक सञ्जालमाथिको बन्देज भारतले नाकाबन्दी लाउँदा र लिपुलेकमा उनले लिएको अडानजस्तै हुनेछ।

उनी त्यही पुरानो अनुभवको कैदी भए।

जेनजीहरूले विरोध गर्दा त खुसी हुनुपर्ने थियो।

किनभने, पुरानो पुस्ताले यदाकदा नयाँ पुस्तालाई आरोप लाउने गरेको थियो — यिनीहरू राजनीतिक रूपमा सचेत छैनन्। यिनीहरूलाई विदेशबारे थाहा छ, देशबारे थाहा छैन!

तर जेनजीहरू सचेत भए, भ्रष्टाचार विरूद्ध आवाज उठाए, सरकारको कदमको विरोध गरे, सडकमा ओर्लिने निर्णय गरे।

नयाँ पुस्तामा त्यो तहको जागरण आएर नै लोकतन्त्र गतिशील हुँदै जाने हो।

नयाँ पुस्तामा सामाजिक राजनीतिक चेत पलाएको देखेर हामी खुसी हुनुपर्ने थियो। जिज्ञासाको नजरले हेरेको भए तत्कालीन प्रधानमन्त्रीले देख्ने थिए, आफ्नो किशोरावस्था, आफूले गरेको विद्रोह, आफ्नो युवावस्थाका सपनाहरू, आफूले राजनीतिक यात्रामा भोगेको पीडा।

ब्लेयरले भनेको तेस्रो चरणमा तत्कालीन प्रधानमन्त्री ओली भएको भए सोच्थे होला — आज बहुदलीय लोकतान्त्रिक व्यवस्था छ। त्यसको नेतृत्वमा म छु। लोकतन्त्रको हिमायती म नेतृत्वमा भएको समयमा सत्ताविरूद्ध विरोध गर्दा मैले जस्तो भोग्नुपर्‍यो, नयाँ पुस्ताले त्यस्तो भोग्नुपर्ने छैन। म उनीहरूको कुरा सुन्छु, माग बुझ्छु र निर्णय लिन्छु। मेरो राष्ट्रियताको अडानबारे बुझाउँछु, उनीहरूको अडानको पनि गहिराईमा गएर बुझ्छु। 

त्यसपछि उनी सन्तुलित निर्णय लिन सक्थे होला। 

तर ब्लेयरले भनेझैं ओली दोस्रो चरणमै रोकिए। उनले आफ्नो वरिपरि हुने मान्छेको मात्र कुरा सुने। आम धारणा बुझ्ने प्रयत्न गरेनन्।

यो पूर्वप्रधानमन्त्री केपी ओलीको मात्र कुरा होइन। उनी एक प्रतिनिधि पात्र मात्र हुन्। यो त आजसम्म शासन र सत्ताको नेतृत्वमा रहेका अधिकांश राजनीतिकर्मीको यथार्थ हो। यसको प्रमाण खोज्न कुनै प्राज्ञिक सोध गरिरहनु पर्दैन। उनीहरूका आठ–दस वटा भाषण सुने स्पष्ट हुन्छ।

अर्को यथार्थ यो पनि हो कि, जनताको कुरा सुनेर मात्रै पनि समस्या समाधान हुँदैन वा समाजलाई आजको अवस्थाबाट अर्को उन्नत अवस्थामा लैजान सकिँदैन। यसका लागि नेतृत्वसँग आवश्यक सीप, क्षमता र सोही अनुसारको मनोवृत्ति हुनु आवश्यक छ।

तर नेतृत्वसँग भएको सीप र ज्ञान समाजका लागि त्यति बेला अर्थपूर्ण हुन्छ जब नेतृत्वमा भएको मानिस जिज्ञासु हुन्छ। सीप र ज्ञान नहुँदा वा कम हुँदा पनि जिज्ञासुले सिक्दै जान सक्छ।

जिज्ञासा आफैप्रति हुन्छ।

जस्तै — म राजनीतिमा किन आएँ? के सोचले आएको थिएँ? के मेरो सपना पूरा भएको छ? म सही बाटोमा छु? मैले केही गल्ती गरेँ कि? गरेको गल्ती कसरी सुधार्ने? मेरो सामर्थ्य र कमजोरी के हो? सामर्थ्यलाई कसरी मलजल गर्ने? कमजोरी कसरी घटाउँदै लाने? मैले मेरो जिम्मेवारी निर्वाह गर्न के के सिक्नुपर्छ? को कोसँग सिक्न सक्छु?

जिज्ञासा समाजप्रति हुन्छ — मैले जे योगदान दिएँ भनेर दाबी गरिरहेको छु, त्यो समाजलाई साँच्चै महसुस भइरहेको छैन। समाज र मबीच के खाडल छ? आजको समाजको प्राथमिकता के हो? 

जब जिज्ञासा हराउँछ, विकास, आविष्कार र नवप्रवर्तन मर्छ। नयाँ सोच र सिर्जना मर्छ। आफूमा जिज्ञासा नभएका नेताले अरूका जिज्ञासा, नयाँ सोच वा सपनालाई पनि हतोत्साहित गर्छ। नयाँ विचारलाई स्वागत गर्ने र हौसला दिन्ने सामर्थ्य उनीहरूमा बाँकी हुँदैन।

यसको उदाहरण हामीले देखेका छौं — कतिपय आम नागरिक वा व्यवसायीले कुनै नयाँ सोच ल्याउँदा त्यसलाई सहयोग र मलजल गर्नुको सट्टा  हतोत्साहित बनाइन्छ। यसरी सरकारी कार्यालय र नेताको घरहरूमा हाम्रा धेरै युवाहरूको सपना हरेक दिन मरेर गइरहेको छ। कैयौं आविष्कार र नवप्रवर्तनहरू जन्मिन नपाउँदै तुहिएर गइरहेका छन्।

नीतिनिर्माण गर्ने ठाउँमा बसेका राजनीतिकर्मीहरूले भनिदिनुपर्ने थियो — नयाँ सोच ल्याऊ, काम गर, गल्तीहरू गर, सुधार्दै जाऊ, हामी कर्चचारीतन्त्रलाई त्यसै अनुसार परिचालित गर्छौं, समाजलाई फाइदा गर्ने नव–प्रवर्तन र आविष्कारमा कुनै नीति बाधा हुँदैन। हामी सबै सहजीकरण गर्छौं।

नयाँ सोच ल्याउनेहरूलाई स्वागत, सहयोग र सहजीकरण गर्नुपर्ने अवस्थामा यहाँ त 'कम्फर्ट जोन' बाहिर गएर सपना देख्नेहरूलाई लाग्छ — नयाँ सोचेर मैले अपराध त गरेको छैन? 

आजसम्म हामीले भोगिरहेको नियति यही हो।  हाम्रा राजनीतिकर्मीहरू टोनी ब्लेयरले भनेको तेस्रो चरणमा भएको भए अवस्था अर्कै हुन्थ्यो।

विगत त परिवर्तन गर्न सकिँदैन। वर्तमान र भविष्य भने गर्न सकिन्छ। 

यसका लागि सामूहिक बलमा समग्र समाजलाई नै जिज्ञासु बनाउन सकिन्छ कि? एकअर्कालाई सुन्ने र सिर्जनात्मक रूपमा संवाद गर्न सक्ने बनाउन सकिन्छ कि?

राजनीतिको शीर्ष नेतृत्व जिज्ञासु होस् भन्ने कामना गरौं। जीवनको उत्तरार्द्धमा कसमेकम उनीहरूलाई अनुभूति होस् — म सबैथोक होइन रहेछु। मेरो सत्य सबैको सत्य होइन रहेछ। मलाई सबै थाहा भएको होइन रहेछ। आफ्नो शक्ति र कमजोरी अनुभूति गरेर आफ्नो आत्मकथामा उनीहरूले खुला भएर जीवनका गल्तीहरू लेखून् भन्ने कामना गरौं। 

उनीहरूले त्यति मात्र गुन लगाइदिए नयाँ पुस्तालाई पाठ हुन्थ्यो— हरेक उमेरमा सिक्दै जानुपर्ने रहेछ। परिवर्तन एउटा नायकको भर परेर होइन, सामूहिक प्रयासमा हुने रहेछ। एकअर्काको विचारको अस्तित्व स्वीकार र सम्मान गरेर लोकतन्त्र सुदृढ हुने रहेछ। लोकतन्त्र राजनीतिक व्यवस्था मात्र होइन व्यवहार र संस्कृति पनि रहेछ।

आफ्नो पुस्तक 'द काइट रनर' (The Kite Runner) मा आफ्नो एक पात्रबाट खालिद हुसेनी भन्छन्, 'फेरि असल हुने बाटा हुन्छन्।'

कामना गरौं, शीर्ष नेतृत्वको बालसुलभ जिज्ञासाका बाटा फेरि खुलून्। नयाँ पुस्ताको विरोध र जागरणलाई षडयन्त्रको नजरले मात्र होइन, कौतुहूल भएर हेर्न सक्ने दृष्टिकोण मिलोस्।

आज कुरा ठूला पार्टीहरूको शीर्ष नेतृत्वको मात्र होइन, हाम्रो सामाजिक मञ्च र सामाजिक सञ्जाल हेर्दा लाग्छ — हामी एकअर्कालाई बुझ्न उत्सुक छैनौं। आफ्नै पूर्वाग्रह, पूर्वज्ञान वा पूर्वअनुभवका आधारमा सामान्य हिसाबले अरूबारे धारणा बनाइरहेका छौं। 

अरूको कुरा नसुनी वा अरूलाई नबुझी अहिलेको जेनजी समूहहरू भविष्यमा पुग्ने भनेको पनि पुरानै नेतृत्वको ठाउँमा हो। यस्तो गर्दा हामीले नयाँ केही बनाउने छैनौं, हामी त आफू असन्तुष्ट भएर विद्रोह गरेको पुरानो दल वा पुरानो नेताकै पुनरूत्पादन हुनेछौं।

जेनजी आन्दोलनले हामीलाई एउटा अवसर दिएको छ, इतिहासबाट सिक्ने र नयाँ सम्भावना खोज्ने।

प्रिय जेनजी साथीहरू,

देशका लागि नयाँ सपना देख्ने यो घडीमा कृपया एकअर्कालाई सुनौं। बुझौं। महसुस गरौं। देशको विकास भनेको त एउटा रिले दौड हो। पुरानो पुस्ताले एउटा ठाउँसम्म देशलाई ल्याएको छ। कैयौं ठाउँमा हामीले प्रगति गरेका छौं। त्यस प्रति कृतज्ञ हुनुपर्छ।

यो दौडमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सहभागी गराउन सकेको थिएन। तपाईंहरूले भदौको आन्दोलनमा पुरानो पुस्ताबाट त्यो अधिकार खोसेर लिनु भएको छ। अहिले पुरानो पुस्ता तर्सेको छ, डराएको छ। 

तपाईँहरूले खोजिरहेको अबको नयाँ देशमा नयाँ संस्कृति बसालौं —  एकअर्कासँग संवाद गर्ने, एकअर्कालाई सुन्ने र बुझ्ने। एक अर्काप्रति कृतज्ञ हुने।

टोनी ब्लेयरले उल्लेख गरेको दोस्रोबाट तेस्रो अवस्थामा पुग्न तपाईंहरूलाई धेरै समय नलागोस्। समाज र फरक सोच राख्नेप्रति तपाईंहरूको जिज्ञासा र समानुभूति कहिल्यै नमरोस्।

पुरानो पुस्ता पूरै गलत छन् र नयाँ पुस्ता सबै ठिक छौं भन्ने भ्रम तपाईंहरूमा नपरोस्।

नयाँको जोस, जाँगर, ऊर्जा र पुरानोको अनुभव र सिकाइको सुन्दर संयोजनबाटै हाम्रो लोकतन्त्र सुदृढ हुनेछ। - विजयमणी पौडेल 

अन्तिम अध्यावधिक: ४ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस