मोबाइलमा झुम्मिने बालबालिकामा हुनसक्छ ‘भर्चुअल अटिजम’, कसरी जोगाउने ?

होमपेज / स्वास्थ्य/शिक्षा /
मोबाइलमा झुम्मिने बालबालिकामा हुनसक्छ ‘भर्चुअल अटिजम’, कसरी जोगाउने ?
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८२ (१ महिना अघि)
  • १६८

एक जना बालक सोफामा बसेको छ । उसको अगाडि केही किताबहरु छन् । तर उसको हातमा भने मोबाइल छ । उ ध्यानमग्न भएर एकोहोरो मोबाइल हेरिरहेको छ । मानौं उसले खजना प्राप्त गरेको होस् । एकैछिनमा किचनबाट उसकी आमाले उसलाई बोलाउँछिन् । तर बालकले सुन्दैन । फेरि बोलाउँछिन् । तर पनि सुन्दैन । पटकपटक बोलाउँदा पनि उसले सुन्दैन … यो कुनै कथा होइन आजको विश्वमा देखिएको यथार्थ हो । तपाईंको वा कोही छिमेकीको घरमा यस्तो त हुँदैन ? हुन्छ भने तपाईंको बच्चालाई भर्चुअल अटिज्म भएको हुनसक्छ । के हो त भर्चअल अटिज्म ? यो कसरी हुन्छ ? र यसका निवारण के–के हुन सक्छन् ?

बालबालिकामा हुनसक्ने भर्चुअल अटिज्म बुझ्नुभन्दा पहिलो पहिल्यैदेखि सुुन्दै आएको अटिज्मबारे सामान्य जानकारी लियौं । मस्तिष्क विकासको चरणमा केही खराबी आएर सामान्य जसरी हुने विकासहरु बालबालिकामा नहुने अवस्थालाई अटिज्म भनिन्छ । जसलाई क्लिनिकल भाषामा न्यूरोडेभलपमेन्टल डिसअर्डर भनिन्छ । जसमा बालबालिकामा हुनुपर्ने सामाजिक, भाषिक र व्यवहारिक विकास सामान्यरुपमा हुँदैन ।

जुन समयमा जति बोल्न सक्नुपर्ने हो त्यसमा कमी हुन्छ, आँखा जुधाएर बोल्न गाह्रो हुन्छ । बोलाउँदा नसुन्ने, एकोहोरो बन्ने, साथीहरु बनाउन गाह्रो हुने, कुराकानी नगर्ने, एउटै कुराहरु दोहोर्याउने, नयाँ कुरा सिक्न चुनौती हुने जस्ता लक्षणहरु देखापर्छन् । बाल मनोविदहरुका अनुसार यो रोग होइन ।

दिमागको विकासमा देखिएको कमीबाट सिर्जना हुने अवस्था हो । यसको पूर्णत निदान छैन । बेलैमा पहिचान हुँदा अटिज्म भएका बालबालिकाहरुलाई सामान्य जीवन बाँच्नका लागि विभिन्न लाइफ स्कीलहरु सिकाउन सकिन्छ । जसले उनीहरुको जीवनयापनलाई सहज बनाउँछ । डेढ वर्षदेखि ३ वर्षभित्रमा यसको पहिचान भइसक्छ र जीवनभरी रहन्छ । यो किन हुन्छ भन्ने स्पष्ट कारण पत्ता लागेको छैन । यद्यपि वंशाणुगत गुण, आमाको उमेर ३५ वर्षपछि बच्चा जन्मिँदा, २६ हप्ताभन्दा अगाडि नै जन्मिँदा, जन्मान्तर कम भएमा, संक्रामक रोग वा बच्चा आमाको गर्भमा रहँदा खानपान वा जीवनशैलीमा देखिएका समस्याले अटिज्म हुनसक्ने जोखिम निम्त्याउने अनुसन्धानमा देखिएका छन् ।

कतै आफ्ना बालबालिकामा यस्ता लक्षण त देखिएको छैन ? यदि छ भने बाल मनोविदसमक्ष लैजानुस् । यहाँ अटिज्मबारे किन चर्चा गरियो भने भर्चुुअल अटिज्ममा पनि माथि उल्लेखित अटिज्मकै जस्तो लक्षण देखिन्छ । यी दुईबीच मुख्य फरक भनेको कसरी हुन्छ भन्ने हो । न्यूरोडेभलपमेन्टल अटिज्म जन्मिँदै विकासको चरणमा आएको समस्याले हुन्छ भने भर्चुअल अटिज्म धेरै समयसम्म स्क्रीनमा समय बिताउनाले हुन गर्छ ।

यसरी हेर्दा बालबालिकाले जति धेरै मोबाइल, ल्यापटप, ट्याबलेट जस्ता डिभाइस चलायो उति नै भर्चुअल अटिज्मको जोखिम रहन्छ । यसको अर्थ भर्चुअल अटिज्मको कारण स्पष्ट छ । सोच्नुस् त तपाईंका बालबालिकाले कति समयसम्म मोबाइल चलाउँछन् ?

भर्चुअल अटिज्मबारे विश्वमा पहिलोपटक सन् २०१८ मा अध्ययन भएको थियो । रोमानियाका साइकोलोजिस्ट जाम्फिर मेरियस थियोडरले ३–४ वर्षका बालबालिकामा अत्यधिक मोबाइल, टीभी, टबलेटजस्ता डिभाइसको प्रयोगले देखिने अटिज्मको लक्षणलाई पहिलोपटक ‘भर्चुअल अटिज्म’ भनेर नाम दिए ।

उनका अनुसार क्लासिकल अटिज्म भएको खण्डमा २/३ वर्षमै डाइग्नोज्ड भए दिनको ६ देखि ८ घण्टाको थेरापी सेसन गर्दा २–४ वर्षसम्ममा आफ्नो जीवनलाई सहज बनाउने सम्म हुन सक्छन् । यसको अर्थ केही सुधार हुन सक्छ ।

तर स्क्रीन टाइममा धेरै बसेर अटिज्मको लक्षण देखिएको अवस्थामा थेरापी गरेमा ६ देखि १८ महिना भित्रमा पूर्णरुपमा निको हुन्छ । यसबाट के बुझियो त ? भर्चुअल अटिज्म बालबालिकाहरु तुलनात्मकरुपमा सजिलै सामान्य अवस्थामा फर्किन सक्छन् ।

वास्तवमा प्राकृतिक अटिज्म भनेको खानापान, जीवनशैली, गर्भवती हुँदा आएका समस्या, चोटपटक जस्ता कारणले मस्तिष्क विकासमा आएको खराबीले विकसित हुने अवस्था हो । जहाँ मस्तिष्कको विकासमा नै डिफेक्ट हुन्छ ।

तर भर्चुअल अटिज्ममा भने मस्तिष्कमा कुनै समस्या हुँदैन तर यसको विकासमा बाधा पुग्छ र अटिज्मको लक्षण देखा पर्छन् । यसर्थ यदि २ देखि ३ वर्षकै अन्तरालमा थाहा पाइएको खण्डमा २–३ वर्षको थेरापी र विभिन्न बिह्याभिअर मोडिफिकेसनको पद्धतिले भर्चुअल अटिज्म सजिलै ठीक बनाउन सकिन्छ । यद्यपि बेवास्ता गरेको खण्डमा वा स्क्रीन टाइम झन बढी भएको अवस्थामा यसले विकराल अवस्था सिर्जना गर्न सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ ।

उसो त मोबाइल धेरै चलाउँदा बालबालिकासहित वयस्कमा हुने नोमोफोबिया र यी सबै निम्त्याउन भूमिका खेल्ने स्मार्टफोन एडिक्सनबारे यी भिडिओमा हेर्नुहोला ।

भर्चुअल अटिज्म निम्त्याउने कारणहरु

हामीले यति बुझिपछि यो त स्पष्टै भयो कि मोबाइलमा अत्यधिक समय बिताउने बालबालिकामा यस किसिमका अवस्था आउन सक्छ । जापानमा सन् २०२२ मा भएको एक अध्ययनका अनुसार १ वर्षदेखि अत्यधिक समय स्क्रीनमा रहने बालबालिकाहरुमा ३ वर्षको पुग्दा अटिज्मका लक्षणहरु देखिएको उल्लेख छ ।

सन् २०२० को अर्को अध्ययनमा सहभागी ३ देखि ५ वर्षका बालबालिकामा अत्यधिक सोसल मिडिया प्रयोगले मस्तिष्कको ह्वाइट म्याटरमा प्रभाव पारेको देखियो भने २०२२ को अनुसन्धानले ग्रे म्याटरमा पनि नकारात्मक असर देखायो ।

न्यूरोनको सेल बडी र डेन्ड्राइटबाट बनेको ह्वाइट म्याटर अर्थात सेतो पदार्थ इन्फर्ममेशन प्रोसेसिङ, सेन्सेसन, पर्सेप्सन, भोलन्टरी मुभमेन्ट, सिकाइ, बोलीलगायतका कग्निटिभ फंक्सनमा भूमिका खेल्ने भाग हो ।

त्यस्तै, मस्तिष्कको ग्रे अर्थात खैरो पदार्थले भने कम्युनिकेशन नेटवर्कको रुपमा काम गर्छ । जसले नर्भस सिस्टमको अन्य भागमा सन्देश प्रवाह गर्छ । उसो त मोइबाल चलाएकै कारणले अटिज्म हुन्छ भन्ने छैन तर त्यस्ता लक्षणहरु देखिन्छन् जसले बालबालिकाको मस्तिष्कले गर्न सक्ने कामहरुमा कमी आएपछि अटिज्मको अवस्था देखा पर्छ ।

कुन देशमा भर्चुअल अटिज्मको अवस्था कस्तो छ ?

विश्वभर विभिन्न देशमा भएका अध्ययनहरुका अनुसार १० देखि ३० प्रतिशत मोबाइल बढी चलाउने ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा क्लासिकल अटिज्मको जस्तै लक्षण देखिने गरेको छ । कतै तपाईंका बालबालिका यो सूचीमा त पर्दैनन् ? कतिपय अध्ययनमा दिनको ४ घण्टाभन्दा बढी स्क्रीन टाइममा रहने ५० प्रतिशत बालबालिकाहरुमा यस्तो अवस्था आउने गरेको छ । सन् २०२३ मा भएको अध्ययनका अनुसार दिनमा ५ घण्टाभन्दा बढी स्क्रीन टाइम हुनु भनेको मानसिक समस्याको संकेत हुन सक्छ । यसकै प्रभावस्वरुप भर्चुअल अटिज्म पर्न सक्छ ।

सम्बन्धित देशमा भएका अनुसन्धानलाई हेर्दा भियतनाममा यस्तो अवस्था ३५ प्रतिशत बालबालिकाले भोग्ने गरेका छन् । इन्डियामा २०२३ मा भएको एक अध्ययनका अनुसार ३० प्रतिशत मोबाइल धेरै युज गर्ने बालबालिकामा भर्चअल अटिज्मको सिम्पटम देखिने गरेको छ ।

त्यस्तै, २०१७ देखि २०२२ सम्म फ्रान्समा भएको अध्ययनमा २५ देखि ३० प्रतिशत बालबालिकामा उक्त समस्या देखिएको छ । त्यसैगरी, रोमानियामा २८ प्रतिशत यसबाट प्रभावित भएका छन् भने चीनमा स्क्रीनमा समय बिताउनेमध्ये १८ प्रतिशत बालबालिकामा भर्चुअल अटिज्मको समस्या देखिएको विभिन्न तथ्यांकहरुले उल्लेख गरेका छन् ।

कसलाई बढी जोखिम छ त ?

उसो त बालबालिकाहरु सबै नै धेरै स्क्रीन टाइममा हुँदा यसको जोखिम हुने गरेकोबारे त कुरा गरियो । यद्यपि सन् २०२२ मा जापानमा ८४ हजार जना बालबालिकामा भएको अध्ययनमा बालिकाभन्दा बालकहरु ३ गुणा बढी भर्चुअल अटिज्मको जोखिममा हुन्छन् ।

त्यस्तै, आमाले अत्यधिक स्क्रीनको प्रयोग गर्दा पनि बालबालिकामा असर पर्ने गरेको अध्ययनले देखाएका छन् । जसले बालबालिकासँगको इन्टरेक्सन कम गराएर अन्ततः भाषाको विकासमा प्रभाव पार्ने देखिएको हो ।

अब के गर्ने त ?

हामीले मोबाइल, सोसल मिडिया प्रयोग नगर्नेबारेको विषय होइन । बरु यसको कसरी स्वस्थ प्रयोग गर्ने भन्ने विषय मुख्य हो । तसर्थ आफ्ना बालबालिकालाई मोबाइल दिँदै नदिने भन्दा पनि व्यवस्थित तवरले प्रयोग गर्न सघाउने मूल पक्ष हो ।

तर यदि आफ्ना बालबालिकाहरु यसअघि नै भर्चुअल अटिज्मको शिकार भएका छन् भने विभिन्न किमिसका थेरापीहरु गराउने । जस्तै, बोली र भाषाको विकासका लागि स्पीच थेरापी, आफ्ना दैनिक कामहरु गर्न सिकाउन अकुपेसनल थेरापी, बानीमा परिवर्तन ल्याउन एप्लाइड बिह्याभिएर थेरापी र कग्निटिभ बिह्याभिअर थेरापी गराउने ।

हुनै नदिन के गर्ने त ?

विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार मोबाइलको प्रयोग गर्ने जसमा दुई वर्षभन्दा कम उमेरकालाई भिडियो कलबाहेक मोबाइलको प्रयोग गर्न नदिइ वैकल्पिक शारीरिक गतिविधिहरुमा सामेल गराउने । अर्को २ वर्षभन्दा माथिका बालबालिकालाई अभिभावकको निगरानीमा बढीमा २ घण्टासम्म शैक्षिक वा सिर्जनशील कन्टेन्टहरु हेर्न दिने ।

अभिभावक वा बुबा आमाले पनि बालबालिकाको अगाडि अत्यधिक स्क्रीनमा नबस्ने । परिवारले फेमिली डिजिटल प्लान बनाउने जसमा कुन बेला कति समय स्क्रीन चलाउने भन्ने तय गर्ने, डिभाइस फ्री जोनको अवधारणा लागू गरी खाँदा, सुत्दा मोबाइल प्रयोग नगर्ने जस्ता विधिहरु पर्छन् ।

बालबालिकालाई शारीरिक व्यायाम, र्सिजनशील गतिविधि जस्तै, गाउने, नाच्ने, हिँड्ने कुद्ने, खेल्ने कार्यमा सक्रिय रुपमा सामेल गराउने वा आफैं संलग्न हुने । यी र यस्ता तरिकाहरु अपनायौं भने पक्कै पनि स्क्रीनका कारण हुने भर्चुअल अटिज्म हुनै पाउँदैन । यसबारे ख्याल राख्नुहोला ।

अन्तिम अध्यावधिक: २२ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस