ए प्रिया, मुसुक्क मुस्काऊ न!

होमपेज / लेख/साहित्य /
ए प्रिया, मुसुक्क मुस्काऊ न!
  • रेडियो सुदूर सञ्चार
  • २३ मंसिर २०८२ (१ महिना अघि)
  • १३७

मनमा दर्दले उकुसमुकुस पारेको बेला 
आकाशतिर हेर्दै 
लामो श्वास फेर्दै 
ए प्रिया
मुसुक्क मुस्काऊ न ...

पारिको हिमाल
काला पत्थर बन्दै जाँदा 
मनलाई अन्योलताको मोसोले छोप्दा 
उडी आउने काग सुकेको बाँसमा बस्दा 
उतातिर हेर्दै
प्रतीक्षारत सुखद समयलाई सम्झिँदै 
ए प्रिया 
मुसुक्क मुस्काऊ न

सल्लेरीमा दौडिएको
हाम्रो त्यो साँझको सुन्दर स्मृति 
फरक्क फर्केर लाजले हेरेको चन्द्रमा 
बसको त्यो अंकमाललाई 
अनि नछुटाऊ 
आजको यात्रा कस्तो लाग्यो भन्ने मेरो 
घर पुगेर पठाउँला अनुभूति भन्ने तिम्रो जवाफ
सम्झिदेऊ न
ए प्रिया
मुसुक्क मुस्काउन

बर्खाका खहरेहरू
प्रभातमा डाँडापाखाले पहिरिएको सूर्यको सिउँदो 
कोइलीको सुमधुर स्वर 
हिउँदका दिनहरू
मनमा सुमधुर रातहरूको स्पर्श गर्दै
ए प्रिया 
मुसुक्क मुस्काऊ न। 

तराईमा फुलेका
चमेली र अप्सरा फूलका बास्नाहरू लिँदै 
मानसपटलमा एउटा इतिहास बनाउँदै 
बेतुकका बात मार्दै 
हिँडेका साँझहरू अनुभूति गर्दै 
ए प्रिया 
मुसुक्क मुस्काऊ न।

सयौँ किलोमिटर हिँडेर 
तिमी बस्ने सहरको 
अँध्यारो रातिमा पुगेपछिको 
त्यो अङ्कमाल याद गर्दै 
ए प्रिया
मुसुक्क मुस्काऊ न। 

ती तिम्रा काला आँखाले
सुखको प्रतीक्षा गर्दागर्दै 
दिन ढल्न थालेपछि 
क्षितिजलाई हेर्दै 
सूर्यका रश्मिहरूमा 
प्रेमिल भावनाको पिङ हाल्दै
मच्किदा मच्किँदै
ए प्रिया
मुसुक्क मुस्काऊ न। 

मैले कवितामा समेट्न नसकेका कुराहरू 
सम्झिँदै 
स्मृतिको सागरमा डुबुल्की मार्दै 
मेरा कमजोरीहरूलाई जिस्काउँदै
ए प्रिया 
मुसुक्क मुस्काऊ न। 

कालो कलम सेता पानामा 
मान्छेहरूका नाम कोर्दै 
हृदयमा अँध्यारोको मच्काइ हालेपछि 
खोलाको तिरैमा 
कालो मुस्लो उड्न थालेपछि 
ए प्रिया,
त्यसपछि मुस्काउन मिल्दैन!

अन्तिम अध्यावधिक: २३ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस