बेलौरी, कञ्चनपुर -
नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर पुगेका छन् । पुर्वी नेपालको झापादेखि शुरु भएको माओवादी केन्द्रको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेको हो ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको थियो । मंगलबार कञ्चनपुर पुगेका प्रचण्डलाई पुनर्वास नगरपालिकाले सम्मान गरेको थियो । बुधबार मर्निङ्गवाक गरेर पुनर्वास, बेलौरीका सहिद परिवारसंग भेटघाट एंव सम्मान गरिएको छ । जनयुद्धमा ज्यान गुमाएका स्व. पुष्कर शर्माकोे घरमा प्रचण्ड बसेका हुन् । शर्मासंगै उनका कान्छा छोरा हेमराज शर्माले ज्यान गुमाएका थिए ।
जनयुद्धमा श्रीमान र छोरा गुमाएकी खिमा शर्माले पाटी अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेपछि खुसी व्यक्त गर्दै सहिदले देखाएको सपना अनुरुप देश र जनताको हितमा काम गर्नुपर्नेमा जोडदिएकी छिन् । प्रचण्डले बेलौरी नगरपालिका ५ स्थित रामनगर खानेपानीको उद्घाटन, शोभातालको अवलोकन, किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्यापण गरेका छन् । पाटी अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकाले समेत स्वागत सम्मान गरेको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पाटी अध्यक्ष एंव पूर्व प्रधानमन्त्रीलाई सम्मानका साथै समग्र बेलौरीका समसामयिक समस्या बारे ज्ञापन पत्र बुझाएको बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कञ्चनपुरको दक्षिणी पुर्वी नाका डोकेबजार भएर कञ्चनपुर पुगेको बताए । माओवादी केन्द्रका अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन् । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘अहिले अभियान टोली पुनर्वास, बेलौरी सकेर बेलडाँडी पुगेको छ, ‘उनले भने, ‘केही बेरमा बेदकोट हुँदै भीमदत्त नगर पुगेर सभा गरेर समापन गरिनेछ ।’
अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन् । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ । यसरी पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले जनताकै घरदैलो केन्द्रीत गरेको अभियानले नागरिक समेत उत्साहित भएका छन् । हुलाकी राजमार्ग क्षेत्रका नागरिक सहित नेता कार्यकर्ताहरु प्रचण्डसंगै शिर्ष नेताहरुसंग एकसाथ मर्निङवाक, छलफल अन्तरकृया, भोजन ग्रहणदेखि दिल खोलेरै छलफल गरिरहेका छन् ।