नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १४ जेठ २०८२ (१ दिन अघि)
  • १५७

नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गएको असोजमा १०, ११ र १२ को अविरल वर्षापछि २६ किलोमा सडक भासिएको थियो । त्यस क्षेत्रको ८५ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ ।

अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

त्यसैअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेश गरिएको छ । गएको माघमा नै डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताको लागि पेश गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसक्ने भएको हो ।

भासिएको भाग मर्मत गर्न ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ । अहिले सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामको काम गरिएको छ ।

यो सडक हुँदै राजधानी काठमाण्डौसहित पोखरातर्फ दैनिक १० हजारभन्दा धेरैको सङ्ख्यामा गाडी चल्ने गरेका छन् ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस