सरकारले रासायनिक मलको अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले रासायनिक मल खरिद गर्न रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।
रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने भएको छ । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने सरकारले जनाएको छ ।
त्यस्तै प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । साथै चैतै धान खेती विस्तारका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि सरकारले कुल ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिमा आधुनिकीकरण र प्रविधिको कमी हुँदा उत्पादन लक्ष्य अनुसार हुन नसकेको अर्थमन्त्री पौडेलले बताउनुभएको छ ।