आज साउनको पहिलो सोमबार, भगवान शिवको आराधना गरिदै

होमपेज / विविध / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ साउन २०८२ (२ दिन अघि)
  • १०२

श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ ।प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरी जसले श्रावणको सोमबारका दिन भगवान् शिवको आराधना गर्दछन् तिनीहरूका निमित्त इहलोक र परलोकमा दुर्लभ भन्ने वस्तु हुँदैन ।

 

 

सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन शिवको आराधना गर्दछन् ।

आफूले चिताएको फाल प्राप्त गर्दछन् । यस महिनामा व्रत, पूजा र उपासना गरी पुण्य प्राप्ति, मनोकामना पूर्ति र शारीरिक मानसिक शुद्धिको कामना गरिन्छ । सन्तानहीन व्यक्तिले सन्तान प्राप्त गर्दछन्, निर्धन समृद्धिशाली बन्दछ र विद्या नभएको मानिसले विद्या प्राप्त गर्दछ भन्ने कुरा धर्मका ज्ञाताहरूले बताए ।शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।

साउन महिनामा सूर्य कर्कट राशिमा हुँदा चन्द्रमा सशक्त हुन्छ । सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिन शिवजीको विशेष पूजा आराधना गरिन्छ ।शिवजीले चन्द्रमालाई शिरमा धारण गर्ने हुनाले चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्रमालाई मानसिक शान्ति, चित्त स्थिरता र सन्तुलित भावनासँग सम्बन्धित मानिने हुनाले यो महिना विशेष मानिन्छ ।

सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको र मनोकामना भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले यो साउन महिना वा साउनको सोमबार व्रत, दान पूजापाठ आदी गर्नाले आफूले सोचको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । शिवको आराधनाले शनि दोष, कालसर्प योग जस्ता कैयन दोष शान्त हुन्छन् भन्ने मान्यता रहेको छ ।

हिन्दु मान्यता अनुसार ब्रह्माजीलाई यो सन्सारको सृष्टिकर्ता मानिन्छ । भगवान् विष्णु पालन कर्ता र भगवान् शिव संहारकर्ता हुन् । शिवलाई ब्रह्माण्ड जीव वा प्राणको कारक मानिन्छ ।भगवान् शिवको पूजा तथा आराधना गर्नाले पाप नाश भई सुख, सन्तान प्राप्त हुन्छ र भक्तहरूको कल्याण हुन्छ । धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागी रुद्रीभिषेश गरी वैदिक मन्त्रोच्चारण सहित जलाधारले शिवको अभिषेक गरी शिव भगवान्लाई प्रसन्न पार्न सकिन्छ । अभिषेक र रुद्रीपाठ गर्नाले कामना पुरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

सोमबारको व्रत गर्नको लागी आइतबारको राती सुत्नु भन्दा पहिला पूजा कोठा राम्ररी सफा गर्नुपर्दछ । सोमबारको बिहान पूजाको सामाग्री तयार पार्नुपर्दछ । सोमबार बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गरी सेतो वा पहेँलो पहिरन लगाउनु पर्दछ ।पूजा गर्नको लागी सकारात्मक सोच र मन हुनु जरुरी हुन्छ । पूजा सामग्रीमा फूल, बेलपत्र, दूध, दही, सख्खर, फलफूल, अगरबत्ती, दियो र भगवान्को शिवको मूर्ति वा फोटो तयार पार्नुपर्दछ ।

पूजा सुरु गर्नुभन्दा पहिला भगवान् शिवको प्रतिमालाई शुद्ध गर्नको लागी शुद्ध जल वा गङ्गा जल चढाउनु पर्दछ । पूजा कोठा वा मन्दिर अगाडी बसेर भगवान् शिवजीलाई पञ्चामृत अभिषेक गर्नुपर्दछ र शान्त मनले सङ्कल्प गर्नुपर्दछ ।पञ्चामृत चढाइसकेपछि क्रमशः दूध, दही, मह, घिउ र सख्खर चढाई पूजा गर्नुपर्दछ । र अन्तमा सुद्ध जल वा गङ्गाजलले अभिषेक गर्नुपर्दछ । त्यसपछि ॐ नमः शिवाय या महामृत्युञ्जय मन्त्रको जप गर्नुपर्दछ ।

अभिषेक गरिसकेपछि बेलपत्र, सेतो फूल, फलफूल चढाई अगरबत्ती अर्पित गर्नुपर्दछ । उपलब्ध हुन्छ भने धतुरो, भाङ र चन्दन चढाउनु पर्दछ । दीपक वा अगरबत्ती चलाएर केही समय भगवान् शिवको प्रार्थना गर्नुपर्दछ ।सोमबारको व्रत कथा वाचन गरी सुन्नु वा सुनाउनु पर्दछ । शिव चालिसा, रुद्राष्टक वा लिंगाष्टकको पनि पाठ गर्न सकिन्छ । साँझपख व्रत समापन गर्नु पहिला दियो बाली शिव भगवान्लाई बेलपत्र चढाई निम्न मन्त्रद्वारा आरती गरी पूजा गर्नु पर्दछ ।

अन्तिम अध्यावधिक: ५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस