आजदेखि मौसममा थप सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लागेको छ । पहाडी भागमा मौसम बदलीको अवस्था रहे पनि बाँकी भागमा भने आज मौसम सफा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसममा क्रमिक सुधार हुँदै गएकोमा आज बिहानदेखि थप सुधार भएको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आजराति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । यसपालि कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ । त्यस्तै हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा पनि प्रभावित बनेको छ ।