पुनर्वासमा जलवायु उत्थानशील कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

होमपेज / विविध / समाचार / समाज /
पुनर्वासमा जलवायु उत्थानशील कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न
  • रेडियो सुदूर सञ्चार
  • ९ पुष २०८२ (३ हप्ता अघि)
  • १४४

पुनर्वास, कञ्चनपुर -

मंगलबार पुनर्वास नगरपालिकामा पालिका स्तरीय परियोजना सल्लाहकार समिति (LPAC) को समीक्षा तथा आगामी योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भएको छ।

समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत Practical Action र ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्च (PESWAN) को सहकार्यमा उक्त बैठक सम्पन्न भएको हाे। कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियोे।

बैठकमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिँदै आएका बाढी, डुबान, कृषि उत्पादनमा गिरावट, खाद्य असुरक्षा तथा जीविकोपार्जनमा परेको प्रभावका विषयमा विस्तृत छलफल गरिएको हाे।

साथै, जोखिमहरू न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने पूर्वतयारी, अनुकूलन र दीर्घकालीन रणनीतिमाथि सरोकारवालाबीच गहन विचार–विमर्श भएको आयाेजकले जनाएको छ।

कार्यक्रममा हालसम्म सञ्चालनमा रहेका गतिविधिहरूको समग्र समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको पेसवानका फिल्ड अधिकृत विवेक क्षेडालले जानकारी दिनुभयो।

बैठकमा पेसवान कञ्चनपुरका कार्यक्रम संयोजक दिलबहादुर ढाँटले विस्तृत प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनले कृषि प्रणाली, खाद्य सुरक्षा, जीविकोपार्जन तथा विपद् जोखिममा पारेको असरबारे तथ्यगत विवरण प्रस्तुत गर्नु भएको थियोे।

उहाँले जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशीलता अभिवृद्धिका लागि स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीच सुदृढ समन्वय अपरिहार्य रहेकोमा जोड दिनुभयो।

यसैक्रममा पेसवान र Practical Action ले पुनर्वास नगरपालिकाका उच्च विपद् जोखिमयुक्त क्षेत्रहरूमा हालसम्म सञ्चालन गरेका तथा निरन्तर रूपमा कार्यान्वयनमा रहेका कार्यक्रमहरूको अवस्था, उपलब्धि र सिकाइबारे जानकारी गराइएको थियो।

जोखिम पहिचान, समुदायस्तरीय क्षमता विकास, पूर्वसूचना प्रणालीको सुदृढीकरण, जलवायु अनुकूलन र दिगो विकासका अभ्यासलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।

बैठकमा सहभागी पुनर्वास नगरपालिकाका वडाध्यक्षहरूले जलवायु परिवर्तनको असर स्थानीय तहमा प्रत्यक्ष रूपमा महसुस भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू समयसापेक्ष र आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उनीहरूले स्थानीय आवश्यकता र जोखिमको पहिचानका आधारमा योजनाबद्ध ढंगले कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

यस्तै, पुनर्वास नगरपालिका विपद् फोकल पर्सन ओमप्रसाद ढकालले विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी, प्रभावकारी सूचना प्रवाह र संस्थागत समन्वयको महत्व औँल्याउनुभयो।

संघसंस्थासँगको सहकार्यले नगरपालिकाको विपद् व्यवस्थापन क्षमता उल्लेखनीय रूपमा अभिवृद्धि भएको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले जलवायु परिवर्तनलाई दीर्घकालीन चुनौतीका रूपमा लिँदै स्थानीय सरकार, विकास साझेदार र समुदायबीचको सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नगरप्रमुख बोगटीले जलवायु उत्थानशील विकासलाई नगरपालिकाको प्राथमिकतामा राखेर आगामी योजना तथा कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभयो।

बैठकमा पुनर्वास नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तिम अध्यावधिक: ९ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस